काठमाडौं महानगरद्धारा पहिलोपटक डिजिटल सिग्नेचरयुक्त भवन नक्साको प्रमाणपत्र जारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं महानगरले डिजिटल सिग्नेचरयुक्त भवन नक्सा स्वीकृति प्रमाणपत्र जारी गरेको छ । सरकारका सचिव तथा काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बुधबार ‘स्मार्ट सहर’ बनाउने योजनालाई मूर्तरूप दिन पहिलोपटक डिजिटल सिग्नेचरयुक्त भवन नक्साको प्रमाणपत्र जारी गरिएको जानकारी दिए ।

बबरमहलस्थित भवन इजाजत विभागले वडा ८ गौशाला बस्ने उमेशराज शिवाकोटीको आवासीय क्षेत्र र व्यापारिक उपक्षेत्रमा व्यवसायिक प्रयोजनको भवन निर्माण गर्न डिजिटल सिग्नेचरयुक्त स्वीकृति प्रमाणपत्र जारी गरेको हो । अब यसप्रकारको स्वीकृति सेवाग्राहीले घरबाटै प्राप्त गर्न सक्ने छन् । पहिलोपटक जारी गरिएकाले शिवाकोटीको प्रमाणपत्र प्रिन्ट गरेर महानगर प्रमुख प्रशासकीय अधिकृत अर्यालले लाभग्राहीलाई प्रदान गरेका छन् ।

महानगर स्मार्ट सहर बनाउने योजना धमाधम कार्यान्वयनमा ल्याइरहेका छौं
एकनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका

महानगरको यो प्रणाली लागूपछि अब भवन नक्सा प्रमाणपत्र कसैले पनि नक्कल गर्न सक्ने छैनन् । प्रमाणपत्रमा उल्लेख विवरणबाहेक ‘कसैले एउटामात्र अंक वा अक्षर थपघट गरे प्रणालीले अस्वीकार’ गर्छ ।

यसैगरी, सेवाग्राही भवन नक्साको कागज बोकेर कुनै पनि कार्यालयमा जानुपर्दैन । अनलाइन माध्यमबाट जो जहाँ छ । त्यहीँबाट हेर्न सकिन्छ । महानगरले नक्सा स्वीकृतिका लागि प्रयोगमा ल्याएको इबीपीएस (इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम)बाट यो प्रमाणपत्र जारी गरेको हो ।

यो प्रक्रियामा सेवाग्राहीले सबै बिवरण अनलाइनमार्फत नै बुझाउन सक्छन् । महानगरले उपलब्ध गराएको कोड प्रयोग गरेर ‘आफ्नो काम कुन चरण पुग्यो ? भनेर सहजै थाहा पनि पाउनसक्ने’ प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।
‘यो स्मार्ट सहरी सेवाको एउटा आयाम हो । यसलाई कार्यान्वयनमा लैजा“दै छौं,’ प्रमाणपत्र प्रदान गरेपछि प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘अब सेवाग्राहीले घरमै बसेर कार्यालयका प्रक्रिया सहजै पूरा गर्न सक्नुहुनेछ ।’

अर्यालले महानगरले सेवा प्रविधिमैत्री सहज र सरल बनाउँदै लैजाने पनि उल्लेख गरे । ‘दिगो, सेवाप्रदायक र सेवाग्राहीको समान भूमिका रहनेछ’ उनले भने, ‘महानगरले अब नागरिकलाई पनि स्मार्ट सहरका स्मार्ट नागरिक बनाउने छ ।’ महानगर सहसचिव राजेश्वर ज्ञवालीले प्रमाणपत्रमा भएका जानकारी भौगोलिक सूचना प्रणालीमा आबद्ध गरेर सहरी विकास र सुविधा वितरण व्यवस्थापनसँग अन्तरसम्बन्धित बनाउन सकिने विश्वास दिलाए ।

भवन इजाजत विभाग प्रमुख सुरज शाक्यका अनुसार महानगरले १६ भदौ २०७० देखि विद्युतीय माध्यमबाट नक्सा स्वीकृति प्रणाली ‘इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम’ प्रयोगमा ल्याइएको हो । अब भने डिजिटल सिग्नेचर प्रणालीार्फत यो कार्य थालिएको छ ।

Facebook Comments Box