काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको जानकारीपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो ।
पत्रकार भेटघाट चलिरहेकै बेला सुरक्षाकर्मीले ट्रम्पलाई जानकारी गराएपछि उनी कार्यक्रम छाडेर बाहिरिएका थिए । केही समयपछि पुनः आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई बाहिर गोली चलेको जानकारी दिए । ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो ।
ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर ती व्यक्ति घाइत्े भएका छन् ।
ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट कडा सुरक्षाका साथ निवास लगिएको थियो । एजेन्सी