१. नेपालको राजनीति आत्महत्याकारी छ। यहाँ कसैले कसैलाई सिध्याउनु पर्दैन। सत्तामा पुग्ने अनेक उपाय गर्छन्। सफल पनि हुन्छन्। तर आफैं आत्महत्या गरी सकिन्छन्। यो असलमा नेपाली इतिहासको देन नै हो। किराँती राजाहरू आफ्नै कर्मले कमजोर भए। उनीहरूपछि लिच्छवीहरू आए। लिच्छवी राजाहरू पनि आपसमा मिल्न सकेनन्। झैझगडा गरिरहे। त्यसपछि मल्लहरू सत्तामा आए। मल्लहरू राज्य सुदृढ गर्न लागेनन्। आफ्ना सन्तानमा राज्य बाँडे। मिल्न सकेनन् कमजोर भए। उनीहरू मिल्दासम्म पृथ्वीनारायण शाहलाई काठमाडौं उपत्यका लिन गाह्रो भयो। तर उनीहरू नमिलेको घडी उनलाई सजिलो भयो।
शाह दरबार पनि षड्यन्त्रबाट मुक्त हुन सकेन। आपसमा लडिरहे। त्यसबाट जंगबहादुरको उदय भयो। राणाशासन सय वर्षसम्म बलियो भयो। कसैले हल्लाउन सकेन। जुन दिन राणाहरू क, ख, ग श्रेणीमा विभाजन भए, त्यसयता उनीहरूको पतन सुरु भयो। तल परेका राणाहरू माथि परेका राणाहरूविरुद्ध नलडेको भए के राणाशासन २००७ सालमा अन्त्य हुन्थ्यो ? सायद अरू कति वर्षसम्म रहिरहन्थ्यो।
२०१७ सालसम्म चलेको प्रजातन्त्र पनि आपसी कलहबाटै समाप्त भएको हो। एक त कोइराला भाइहरूबीचमै फाटो भएर नयाँ प्रजातान्त्रिक व्यवस्था कमजोर भयो। त्यसमा पनि तात्कालीन प्रधानमन्त्री बीपी कोइरालाका बलिया सहयोगीले उनको साथ छाडिदिए। त्यसबाट उनीहरूको अवशान भयो। ३० वर्ष लामो पञ्चायत व्यवस्था पनि आफ्नै कमजोरीले ढलेको हो। होइन भने गिरिजाप्रसाद कोइरालाजस्ता नेता पनि पञ्चायतमा पस्न तयार भएका थिए।
२०४८ सालको निर्वाचनमा नेपाली जनताले नेपाली कांग्रेसलाई बहुमत दिएका थिए। तर दुईतीन वर्ष पनि चलेन। अरू कुनै कारणले ढलेको होइन। आफ्नै छत्तीसै समुदायले प्रधानमन्त्रीलाई असहयोग गर्दा सरकार ढलेको हो। फलस्वरूप मध्यकालीन निर्वाचन भयो। एमालेले २०५ मध्ये ८८ सिट जितेर सबभन्दा ठूलो दल भयो। तर निर्वाचनअगाडि सो दल फुटेर बहुमतमा आउन सकेन। यदि नफुटेको भए संसद्मा बहुमत ल्याउन सक्थे। चोइटिएर गएको मालेले गर्दा एमालेले बहुमत ल्याउन सकेन। नौ महिनापछि त्यसको सरकार ढल्यो।
बाह्य दुनियाँलाई मुखले ठीक्क पार्ने तर आफ्नो देश र जनताको गाँठी बलियो पार्ने नीति हुनुपर्नेमा उल्टोउल्टो भएको देखिन्छ। जनतालाई नचाहिने शब्दजालमा राख्ने अनि अरू देशको स्वार्थ पूरा गर्दै हिँड्ने बानीव्यहोरा देखियो। अब आउने नेतृत्व वर्गमा नियत राम्रो भएका मानिस आउनुपर्ने हो।
२०५६ सालको निर्वाचनमा कांग्रेसले फेरि बहुमत ल्यायो। तर त्यो दल पनि फुटेर गयो। अरू कसैले गर्दा ढलेको थिएन। आफ्नै आत्महत्याकारी कर्मले ढलेको थियो। त्यसपछि राजा ज्ञानेन्द्रको उदय भयो। उनलाई नेपाली जनताको समर्थन थियो। अन्तर्राष्ट्रिय जगत्ले पनि साथ दिएको थियो। दलहरू सबै कमजोर भएका थिए। उनलाई इतिहासले एउटा राम्रो मौका दिएको थियो। तर केही वर्षमै कमजोर हुँदै गयो। अभूतपूर्व दोस्रो जनआन्दोलनमा राजतन्त्र टिक्न सकेन। हुन त यसमा विदेशीहरूको चलखेल पनि देखियो। तर नेपाली जनताको उर्लिंदो भीड प्रभावकारी देखियो।
त्यसपछिको राजनीतिमा एमाले र माओवादी दल मिले। संविधान बन्यो। दुई साम्यवादी दलहरूले दुईतिहाइ बहुमत मागे। जनताले दिए। भनेकै जस्तो सरकार बन्यो। तर दुईअढाइ वर्ष नपुग्दै आपसमा लड्न थाले। संसारमा कम्युनिस्टहरूको विनाश भइरहेका बेलामा नेपाल कम्युनिस्ट पार्टीले अत्यधिक मत प्राप्त गरेर निर्वाचन जित्नु नै एउटा चमत्कारी घटना थियो। तर उही आत्मघाती परम्परा सो दलमा पनि देखिन थाल्यो। कति महिना भइसक्यो आज फुट्छ कि भोलि भन्ने सबैका मुखमा एउटै प्रश्न झुन्डिएको छ। अब त नफुटे पनि नेतृत्व वर्गमा मन चिरा परिसकेको छ। सरकारबाट आफ्नै कार्यकर्ताको मात्र होइन, जनताको पनि विश्वास उठिसकेको छ। सरकार टिकिरहे पनि यो कमजोर हुन थालिसकेको छ। आत्महत्याको राजनीतितिर यो दिनहुँ अग्रसर भएको छ। कसैले नधकेली यो आफैं भीरबाट फाल हाल्न खोजेको देखिन्छ।
२. ग्रिक विद्वान् एरिस्टोटलको एउटा कथन पनि नेपाली राजनीतिमा चरितार्थ भएको छ। त्यो हो– सरकारको हेरफेर। उनको भनाइमा राजतन्त्रात्मक शासन अधिनायकवादतिर ढल्किँदै जान्छ र उसले प्रजातान्त्रिक क्रान्ति निम्त्याउँछ। प्रजातान्त्रिक पद्धति कालान्तरमा भीडतन्त्रतिर सोझिन्छ र त्यो साह्रै अराजक हुन्छ। उसले कालान्तरमा मुठीभर शासकको उत्थान गराउँछ। यो एक प्रकारले सम्भ्रान्त वर्गको प्रभावमा चल्छ। तर यो व्यवस्था पनि धेरै दिन टिक्दैन। यसले केही परिवारको उत्थान त हुन्छ तर चाँडै बदनाम पनि हुन्छ। त्यसपछि जनताले पुनः राजतन्त्र नै खोज्न थाल्छन्। यो सरकारको चक्र चलिरहन्छ। हुन त उनले यो चक्र पूरा हुन धेरै वर्ष लाग्छ भनेका थिए। तर नेपालमा भने सो चक्र द्रूतगतिमा चलेको देखिन्छ। यो चक्रअनुसार नेपालमा पुनः राजतन्त्रको उदय हुने देखिन्छ।
३. यसो हेर्ने हो भने नेपालको राजनीतिक इतिहासमा के मात्र भएन र ? प्रजातन्त्र आयो। कुनै बेला अर्धप्रजातन्त्र भनियो। कुनै बेला पूर्ण प्रजानन्त्र भनियो। सामन्तवादको जगजगी पहिले पनि थियो। अहिले पनि उत्तिकै छ। साम्यवादी शब्दहरू व्यापक रूपमा प्रयोग भए कै हो। औपनिवेशिक, अर्धऔपनिवेशिक आदि अवस्थाको वर्णन भयो। कुनै बेला प्रतिगमनको ठूलो चर्चा भयो। प्रतिगमन अलिअलि सच्चियो पनि। क्रान्ति, आन्दोलन, अभियान आदि त अहिले पनि प्रचलित नै छन्। लोकतन्त्र आयो, गणतन्त्र आयो, संघीयता आयो, धर्म निरपेक्षता आयो। साम्यवादीहरू सत्तामा आए। त्यो पनि निर्वाचनबाट। नसुनिएको नदेखिएको कुरा। समाजवाद संविधानले मान्यो। नारा पनि समाजवादकै लाग्यो। चिन्तन पनि समाजवादकै भयो। वैज्ञानिक समाजवाद भन्ने त कायमै छ। तर नेपालीको थाप्लोमा नाम्लो जस्ताको तेस्तै रह्यो।
आखिर यतिका अभ्यास गर्दा पनि नेपाल र नेपालीका लागि कुनै काम लागेन। काम लाग्ने त पृथ्वीनारायण शाहले खडा गरिदिएको देश मात्र काम लाग्यो। हुन पनि उनले देश मात्र होइन पछिसम्म नेपालीलाई काम लाग्ने केही मन्त्र पनि छाडेका रहेछन्। नेपालीले त्यही मात्र मनन गरे पुग्ने रै’छ। रैती धनी भए राज्य बलियो हुन्छ भनेकै रहेछन्। घुस दिने र लिने दुवै अपराधी हुन् भनेर पनि भनेकै रहेछन्। उत्तरतिरको मुलुकसित राम्रो सम्बन्ध राख्नु र दक्षिणतिर अलि सतर्क हुनु भनेकै रहेछन्। नभन्दै यो चरितार्थ भएको छ। नेपाल र नेपालीका लागि चाहिने कुरा त पृथ्वीनारायणले जुटाएर राखिदिएकै रहेछन्। नेपालीले चाहिने–नचाहिने बाहिरिया सिद्धान्त र विचारको पछि पर्नु नै व्यर्थ रहेछ। सो कुरा अहिले पो बुझियो।
४. नेपाललाई चाहिने नियत ठीक भएको शासक रहेछ। आजसम्म जुन प्रणाली आए पनि सो देखिएन। बाह्य दुनियाँलाई मुखले ठीक्क पार्ने तर आफ्नो देश र जनताको गाँठी बलियो पार्ने नीति हुनुपर्नेमा उल्टोउल्टो भएको देखिन्छ। जनतालाई नचाहिने शब्दजालमा राख्ने अनि अरू देशको स्वार्थ पूरा गर्दै हिँड्ने बानीव्यहोरा देखियो। अब आउने नेतृत्व वर्गमा नियत राम्रो भएका मानिस आउनुपर्ने हो।
५. नेपाल र नेपालीले रुचाउने शाह पद्धति रहेछ या राणा पद्धति रहेछ। अरू पद्धति काम लाग्दो रहेनछ। निर्वाचनबाट चुनिएर आएका शासक पनि कोही राजै हुन खोज्ने, कोही राणाहरूले जस्तो सबै ढुकुटी आफ्नै बनाउन खोज्ने। नेताहरू पनि जंगबहादुर चाहियो भनेर भनिरहने। गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विरोधीले नै यी कुरा लागू गर्नुपर्ने अवस्था आउने। कस्तो विडम्बना ! खै, नेपालीले अब आफ्नो पहिचान थाहा पाउनुपर्ने र आफ्नो चरित्रअनुसारको पद्धति ल्याउनुपर्ने नै देखिन्छ। – आदित्यमान श्रेष्ठ /अन्नपूर्ण पोष्ट