काठमाडौं : नेपालको निर्यात व्यापारमा हस्तकलाको हिस्सा उच्च छ। नेपालको मौलिक कला र संस्कृतिलाई हाते सीपको माध्यबाट बाह्य बजारसम्म फैलाउने निर्यातमुखी उद्योग हो हस्तकला। विदेशी मुद्रा आयआर्जनको प्रमुख स्रोतमा हस्तकला पनि पर्छ।
नेपालमा हस्तकला भन्ने वित्तिकै सीमित स्रोत र साधन, दक्ष कालीगढले पारिवारिक जनशक्तिका भरमा पुर्खाको पेसालाई निरन्तरता दिने सीप भन्ने बुझिन्छ। हस्तकलाका सीपमा धातुका गरगहना, बाँसका सामग्री, मूर्तिकला, पोस्टरकला, चित्रकला, सेरामिक, हातेकागज, बेतबाँस, थान्का, रेसाजन्य कपडालगायत हस्तकलाका सामग्री नेपालमा उत्पादन हुने गर्छ।
नेपालमा हस्तकला क्षेत्रमा करिब ११ लाख कालीगढ प्रत्यक्ष लागिरहेका छन्। यो क्षेत्रबाट उनीहरूको परिवारको आर्थिक गुजारा चलिरहेको छ। भारत, चीन, जापान, युरोप, अमेरिका, ल्याटिन अमेरिकालगायत देशमा नेपाली हस्तकला निर्यात हुन्छ। तर, पछिल्लो समयमा कोभिड १९ महामारीका कारण हस्तकला व्यवसाय पनि संकटमा परेको छ।
कोभिड १९ र बन्दाबन्दीका कारण सबै किसिमका आवातजावात ठप्प हुँदा हस्तकलाको व्यापार प्रायः ठप्प छ। गत आर्थिक वर्षमा करिब २२ अर्ब रुपैयाँ बराबरको हस्तकला निर्यात भएको थियो। नेपाल हस्तकला महासंघले कोभिड १९ संक्रमण पछिका महिना हस्तकला उत्पादनले विश्वबजार गुमाउँदै बताएको छ।
आन्तरिक बजारमा पनि करिब १० अर्ब बराबरको कारोबार हुन्थ्यो। कोभिड १९ अघिको समयमा मासिक करिब डेढ अर्ब रुपैयाँ बराबरको हस्तकला वस्तु निर्यात हुने गरेकामा अहिले कुल निर्यातको करिब १० प्रतिशत पनि हुन नसकेको महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य बताउँछन्। पहिलाका नै अर्डर भएकाले करिब १० प्रतिशतको निर्यात देखिएको हो। शाक्य अहिले १० प्रतिशतबाट पनि घट्दो क्रममा निर्यात भइरहेको बताउँछन्।
पाटन औद्योगिक क्षेत्रमा अरनिको स्टोन कार्भिङ सञ्चालन गर्दै आएका कालीगढ एवं व्यवासायी धर्मराज शाक्य पनि कोरोनाले हस्तकला वस्तुको माग शून्यमा झरेको बताउँछन्। प्रत्येक महिना १० लाख रुपैयाँभन्दा बढी कारोबार हुने गरेको उनको व्यवसाय अहिले मुस्किलले ३ लाखमा खुम्चिएको छ।
‘नयाँ अर्डर त छँदैछैन। पुरानो अर्डरका कारण अहिले कारोबार त्यत्ति देखिएको हो। अब बिस्तारै पुरानो अर्डर सकिँदै छ। अब कसरी व्यवसाय चलाउने हो थाहा छैन ? ’उनी भन्छन्। १ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालित उनको उद्योगमा १५ जना कालीगढ रहेकोमा अहिले करिब ७ जना मात्र आइरहेका छन्।
कोभिड १९ का कारण बाँकी कामदार नआएको र आए पनि उनीहरुको तलब व्यवस्थापन गर्न आफू सक्षम रहेको उनले बताए। व्यवसाय संकटमा परेसँगै दक्ष कालीगढ तथा कलाकार लोप हुने खतरा बढ्दै गएकाले सरकारले विशेष ध्यान दिन जरुरी रहेको उनको धारणा छ।
‘सरकारले ५ प्रतिशत ब्याजमा ऋण दिने भन्छ तर माग नै नआएपछि केका लागि र कुन आधारमा ऋण लिने भन्ने प्रश्न तेर्सिएको छ’, शाक्यले भने। तत्कालका लागि सरकारले सरकारी कामकाजमा हस्तकला सामग्री नै चलाउने व्यवस्थासँगै आन्तरिक बजारीकरणमा सहयोग गर्नुपर्ने उनको माग छ।
ललितपुर महाबौद्धका मूर्तिकार शन्तकुमार पनि व्यवसायमा छाएको मन्दीका कारण निराश भएका छन्। पुर्खौली व्यवसायलाई अपनाउँदै २०१९ सालबाट यसमा लागेका उनको सम्पूर्ण परिवार आफ्नो जीवन उत्सर्ग गरेका छन्। नयाँ अर्डर नआएको र पुराना अर्डरलाई पठाउन सक्ने अवस्था नहुँदा उनी रणभुल्लमा परेका छन्। उनी भन्छन्,‘अर्थ मन्त्रालय हो कि कुन विभाग हो कसले हेर्ने हो ? ती निकायले हामीलाई लगानी जुटाइ दिनुपर्यो। ’
अनौपचारिक व्यवसायका रुपमा रहेको हस्तकलामा युवाको मोह कम छ। यसकारण कालीगढमा पुस्तान्तरण हुन सकेको छैन। देशभित्रै उचित अवसर दिन नसक्दा दिनानुदिन दक्ष कालीगढ विदेशिने क्रममा यथावत छ। अब कोभिड १९ ले आफ्नो पुर्खौली कला, सीपलाई धानेका सीमित जनशक्तिको रोजगार पनि जोखिममा परेको छ। अर्कोतिर संस्थागत रुपमा हस्तकलामा आबद्ध व्यवसायी बजारको माग शून्य हुँदा कलाकार तथा कालीगढलाई तलब खुवाउने चिन्ता थपिएको छ।
नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंकी अध्यक्ष मीरा भट्टराई कामदारलाई तलब खुवाउन सकिने खालको राहत प्याकेज ल्याउन आवश्यक रहेको बताउँछिन्। ४ महिना लामो बन्दाबन्दी खुलेपछि केही गति लिन थालेको यस उद्योगमा सरकारले जारी गरेको निषेधाज्ञाले थप मारमा पारेको उनले बताए।
सरकारले बजेट तथा मौद्रिक नीतिबाट केही व्यवस्था गरे पनि झण्झटिलो प्रक्रियाका कारण उक्त सुविधा उपभोग गर्न समस्या रहेको भट्टराईले बताइन्। ‘नयाँ अर्डर आएकै छैन, पुरानो अर्डर पूरा गर्न कच्चा पदार्थ छैन, ढुवानी खर्च महँगो हुँदा हवाई मार्गबाट कुरियर गर्ने अवस्था पनि छैन’, भट्टराई भनिन्,‘यसले गर्दा निर्यातमा आधारित यो व्यवसाय पूर्ण धरासायी बनेको हो।’
अर्थविद् डा. शंकर शर्मा पनि हस्तकलामा आबद्ध रोजगारीलाई जोगाइराख्नु नै अहिलेको चुनौती भएको बताउँछन्। यसका लागि सरकारले हस्तकला उद्योगलाई यो महामारीमा टिकाइराख्न विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
सरकारले महामारी अवधिभरको ब्याज मिनाहा गर्ने, सरकारी कोषमा रहेका रकमलाई यस व्यवसायमा सदुपयोग गर्ने, भन्सार छुटको व्यवस्थाजस्ता राहत प्याकेज लागू गर्न सक्ने सुझाव अर्थविद् शर्माको छ। ‘हस्तकला व्यवसायको कारोबारलाई ईकमर्समार्फत गराउन सकियो भने केही भए पनि समस्या समाधान हुन सक्छ’, डा. शर्माले भने।
सुरेन्द्रभाई शाक्य
अध्यक्ष, नेपाल हस्तकला महासंघ
हस्तकला अन्तरगत करिब ४२ वस्तु विदेश निर्यात हुन्छ। आन्तरिक बजारमा पनि होटल, रेस्टुरेन्टलगायत व्यावसायिक एवं घरायसी प्रयोजनका लागि नेपाली हस्तकलाको प्रयोग बढ्दो क्रममा छ। हातबाट बनाइने र धेरै मेहनत पर्ने हुँदा अन्य सामग्रीभन्दा हस्तकला सामग्री महँगो हुन्छ।
विदेशमा नेपाली हस्तकला वस्तुलाई महत्वका साथ हेरिन्छ तर नेपालमा नेपाली उत्पादनलाई उपेक्षित गर्ने चलन छ। यसैकारण नेपाली वस्तुको प्रयोगलाई प्राथमिकतामा राख्ने नीति सरकारले लिन जरुरी छ। नेपाली वस्तु प्रयोगमा ल्याउन हामी नेपाली नै जागरुक भएर स्वदेशी उत्पादन उपभोग गर्ने बानी बसाल्नुपर्छ। यसले गर्दा आयातीत वस्तु घट्छ। आफ्नो देशमा उत्पादित हस्तकलाका सामानमा मोह बस्छ। जुन हामी सबैका लागि राम्रो हुन्छ।
यसले बढ्दो व्यापारघाटा कम गर्न मद्दत गर्छ। कोभिड १९ महामारीपछि विश्व बजारमा नेपाली हस्तकलाको माग नभए पनि आन्तरिक बजारले नै उत्पादन धान्न सक्छ। साथै हस्तकला व्यवसाय पलायन हुन पाउँदैन भने रोजगारी गुम्ने खतरा पनि कम हुन्छ। यसका लागि सरकारले सस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्न जरुरी छ। अन्नपूर्ण