काठमाडौं । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाबाट कात्तिकमा विद्युत् उत्पादन गर्ने दाबी गरेको भए पनि अहिले आएर फेरि विद्युत् उत्पादन गर्ने समय अनिश्चित भएको हो ।
हाइड्रोमेकानिकलको जिम्मा पाएको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले कलकताबाट सामान ल्याउन ढिलाई गर्दा आयोजना समयमा सम्पन्न हुन नसक्ने भएको छ । दुईवटा भर्टिकल लाइनमा जोइन हुने एक्सपान्सन जोइन, डिस्पोजेबल बक्स, पल्गिङ गेट आउन बाँकी रहेको कारण अप्ठेरो परिरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । कोरोना भाइरसको प्रभावका कारण उताबाट सामान आउन सकेको छैन । उनले भने, ‘त्यसका लागि हामीले हाम्रा स्टाफलाई कलकत्तासम्म पठाएर अपडेट लिइरहेको छौं ।’
न्यौपानेले भने, ‘अक्टोबरको अन्त्यसम्ममा हाम्रो सबै सामान नेपालमा आइपुग्यो भने डिसेम्बरसम्म हामी इरेक्सनमा जान्छांै, जनवरी फेब्रुअरीमा टेस्टिङमा र मार्चसम्म जेनेरेसनमा जान सक्ने देखिन्छ तर नेपालमा सामान आई नपुुग्दासम्म केही भन्न सक्ने अवस्था छैन ।’ अहिले तल्लो भर्टिकल साप्टमा बेन्ड पाइप, बाइफरकेसन पाइपमा जडानको काम अन्तिम चरणमा पुगेको छ ।कोभिडको कारणले अक्टोबरसम्म इन्टरनेस्नल फ्ल्याट बन्द भएको कारण हाम्रो कम्प्याक्टरका एक्सपर्ट, हाम्रा कन्सलट्यान्ट अहिलेसम्म आउन सकेका छैन । यसले समेत आयोजनामा प्रभाव परेको छ ।
अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकोले काम गरिरहेको छ । ठेकेदारको ढिलासुस्ती र निर्माण सामाग्री अभावका कारण आयोजना सम्पन्न हुने मिति पटकपटक संशोधन हुँदै आएको छ ।
बहुप्रतीक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको परियोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । मंसिर २०६७ मा निर्माणको लाइसेन्स पाए हालसम्म भूकम्प, नाकाबन्दीलगायतका समस्या भोगेको आयोजनामा अहिले फेरि कोरोना भाइरसको प्रभाव परेको छ ।
आयोजनाको निर्माणपछि भारतबाट विद्युत् आयात गर्न नपर्ने अपेक्षा गरिएको भएपछि आयोजना समयमा सम्पन्न गर्न नसक्दा नेपाल सरकारले बर्सेनि अर्बाैं रुपैयाँको विद्युत् आयात गर्नुपरेको छ । गत आर्थिक वर्ष मात्रै १ हजार ७ सय ३९ गिगावाट आयात भएको थियो अर्थात् १ अर्ब ७२ करोड ९० लाख युनिट विद्युत् आयात गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्ष २ अर्ब ८१ करोड युनिट विद्युत् आयात गर्नुपरेको थियो । यो भार कम गर्नसमेत माथिल्लो तामाकोसीको विद्युत् चाँडोभन्दा चाँडो उत्पादन गर्नुपर्ने देखिन्छ तर आयोजनाको उत्पादन मिति भने एकपछि अर्को थपिँदै गएको छ ।
भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ साल पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो । अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकोले काम गरिरहेको छ । ठेकेदारको ढिलासुस्ती र निर्माण सामाग्री अभावका कारण आयोजना सम्पन्न हुने मिति पटकपटक संशोधन हुँदै आएको छ ।
यही कात्तिकबाट पाइप जडानको काम सकिएपछि परीक्षण गरी पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाको काम अझै पर धकेलिएको छ । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको थियो । आयोजना सम्पन्न हुने मितिभन्दा सात वर्ष ढिला हुँदासमेत आयोजना बन्न नसकेको हो ।
यसै वर्षसमेत सुरुमा आयोजनाबाट असारमा विद्युत् उत्पादन हुने भनिएको थियो र पछि आएर कात्तिकमा उत्पादन हुने भनिएको भएपछि अझै समय थप हुने भएको छ । चाँडोमा असोज अन्तिमसम्म, नभए कात्तिकसम्म पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने भनेको आयोजनाको काम अझै सम्पन्न छाँट देखिन्न । यद्यपि, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव अझै जारी रहेको छ ।
२०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो । पूर्णतः नेपाली लगानीमा निर्माण भइरहेको यो आयोजनाको लागत बढेर ७० अर्ब नाघ्ने अनुमान छ । निर्माणमा भएको ढिलाइले निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने अनुमान गरिएको छ । सरकारले हालसम्म आयोजनाका लागि १२ अर्ब दीर्घकालीन ऋण लगानी गरेको छ ।
आयोजनामा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २-२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा अत्मनिर्भर हुने अनुमान छ ।