महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु

खवर पाटी (खोज खबरको अभियान)

राजविराज । कोरोना महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व आज बुधबार नहाई खाई बिधिवत सुरु भएको छ । छठ पर्व बिहीबार खरना, शुक्रबार सझिया घाट र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन हुनेछ ।

कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले छठ पर्वमा बढी भिडभाड नगर्न तथा घरमै मनाउन एक सूचनामार्फत सबैसँग अपिल समेत गरेको छ ।

यसका बाबजुद विभिन्न ठाउँका जलासयमा छठ पर्वका लागि सरसफाई, घाँट बनाउने र सजाइएको छ । बजारमा छठी मईयाको महिमा समेटिएको गित गुन्जिन थालेको छ भने छठ पर्व मनाउन स्थानियवासी आवश्यक सामाग्रि किन्न हटिया तथा बजारतर्फ भिड लागेका छन् । ग्रामीण क्षेत्रका बजारमा समेत चहलपहल निकै बढेको छ ।

विगतमा छठ घाट सरसफाईमा सेना र प्रहरी समेतले सघाउने गरेकोमा यस पल्ट भने त्यस्तो देखिएको छैन् । स्थानिय प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै भिडभाड नगरि घर परिवारमै छठ पर्व मनाउन निर्देशन र आग्रह गरेकाले यस पल्ट छठ घाट सरसफाईमा सुरक्षाकर्मी नखटेको एक सुरक्षा अधिकारीले बताए । तर, जलाशय किनारमै पर्व मनाउने भन्दै अधिकांश ब्रतालु आर्फ घाटको सरसफाई गरेका छन् ।

यसअघि दशैंमा पनि स्थानिय प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै शक्तिपीठहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने, बलि प्रदानमा समेत रोक लगाउने निर्णय गरेको थियो । तर, स्थानीयको दबाब बढ्दै गएपछि अन्तिम क्षणमा सो निर्णयलाई खुकुलो बनाइएको थियो ।

 

सप्तरीका प्रमुख जलाशय कल्टु पोखरी, पूर्णी पोखरी, तुरन्ती पोखरी, सप्तकोशी नदी लगायत विभिन्न खोला तथा पोखरी र ताल तलैयाको किनारमा श्रद्धालुले सरसफाई र साजसजावट गरिएको छ ।

सरकारी कार्यालय, सार्वजिनक यातायात तथा विभिन्न राजनैतिक दलको सभासम्मेलनमा देखिने भिडले कोरोना नफैलिने अनि छठ पर्व मनाउँदा कसरी कोरोना फैलिन्छ ? भन्ने प्रश्न गर्दै स्थानिय जंगबहादुर सिंहले भने, हामी आवश्यक सावधानी अपनाउँदै जलाशय किनारमै छठ पर्व मनाउँछौं ।

केही ब्रतालु भने यसपल्ट घरमै छठ पर्व मनाउने तयारी गरेका छन् । स्थानीयवासी रामभजन देवले भने –छठ पर्व जलाशय किनारमै मनाउने परम्परा रहेपनि कोरोनाको जोखिमका कारण यसपल्ट घरकै छठमा अस्थायी पोखरी निर्माण गरि छठ पर्व मनाउने तयारी गरेका छौं ।

इच्छाएको मनोकामना पूर्ण हुने, चर्म रोगबाट मुक्ति तथा सम्पूर्ण परिवारको कल्याणका लागि यो पर्व मनाउने गरिएको धर्मशास्त्रीहरुको मत रहेको छ ।

Facebook Comments Box