काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अब अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गर्न नसकिने भन्दै सामूहिक राजीनामा दिएर जानुपर्ने प्रस्ताव राखेका छन् । सिंहदरबारमा राजीनामा दिनेगरि भेला भएका सांसदहरुलाई सम्बोधन गर्दै नेता नेपालले अब छुट्टै पार्टी गठन गरेर अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गरेका थिए । छलफलमा सहभागी एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा नेता नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
नेता नेपालको भनाई उद्धृत गर्दै ती सांसदले भने–‘अब पनि हामी अलमलमा पर्नुहुन्न, केपी ओलीसँग सम्झौता गर्नु भनेको हाम्रो लागि आत्मघाती हुन्छ । अब नयाँ पार्टी खोलेर जानुपर्छ । ओलीलाई पराजित गर्नुपर्छ । उनलाई ढाल्नुपर्छ । ओलीसँग सम्झौता गरेर जान सकिँदैन् । अहिले सम्झौता गर्नु भनेको ओलीलाई फाईदा हुन्छ । साथीहरु, हामी खुट्टा नकमाऔं । अहिले ओलीले कमिशनको चक्करमा पार्टीलाई बद्नाम गरे ।’ प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् । त्यसको लागि उनीहरु अहिले सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा सामूहिक छलफलमा जुटेका छन् ।