निष्पक्ष र सहज तरिकाबाट वडावासीको सेवा गरिरहेको छु – वडाअध्यक्ष, खड्का

खवर पाटी (खोज खबरको अभियान)

  • सन्तोष खड्का
    वडाअध्यक्ष, चन्द्रागिरी नगरपालिका वडा नं ८

तपाई यस चन्द्रागिरी नगरपालिका वडा नं ८ मा वडा अध्यक्ष भएपछि कस्तो सुख दुःखको अनुभव गर्नु भएको छ ?
म यस वडामा अध्यक्ष भएपछि वडावासीले जुन हर्षउल्लासका साथ वडाको समृध्दि र विकासको लागि जिम्मा दिएका थिए, त्यस जिम्मेवारीलाई पूर्ण रुपमा आफ्नो क्षमताले भ्याएसम्म दत्तचित्तसहित लागेको छु । काम गर्दै जाँदाखेरी हामीलाई संविधान, नियमकानूनले दिएको जिम्मेवारी वडावासीको हितमा प्रयोग गरिरहेको छु । काम गर्दैैै जाँदाखेरी कतिपयहरुलाई आफूले सोचे जस्तो अनुकुलको निर्णय मबाट नभएको हुन सक्छ । हाम्रो वडास्तरबाट दिनु पर्ने कानुनसम्मत निर्णयहरुमा मैले कुनै पक्षपात गरेको छैन । सकेसम्म हरेक क्षेत्रमा वडाबासीलाई निष्पक्ष र सहज तरिकाबाट सेवा गरिरहेको छु ।
जनप्रतिनिधिले पार्टीगत रुपमा पक्षपात गरेको सुनिन्छ, यस विषयमा तपाई के भन्नु हुन्छ ?
जनप्रतिनिधि भएर आएपछि हामी पार्टीको स्वार्थमा मात्र रहेर पार्टीको कार्यकर्ता भन्दा पनि स्थानीय जनताको काम निष्पक्ष रुपमा सम्पन्न गरिरहेको छु । हामीले नियम संम्मत सम्पूर्ण आवश्यक कागजातसहित आउने सिफारिसलाई हामीले रोक्ने ठाउँ नै हुदैन ।
यस अवधिमा तपाईको वडामा के के सम्झन लायक कार्य गर्नु भयो ?
सर्वप्रथम त हामीले घोषणापत्रमा टेकेर, घोषणापत्रमा आधारित भएर चुनावमा वडावासीसँग गरेको बाचामा आधारित भएर हामी निर्वाचित भए पछि के के गर्छु भनेका थियौ त्यही त्यहीलाई प्राथमिकता दिएर कार्य गरिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा भन्नुपर्दा मातातीर्थमा सामुदायिक अस्पताल निर्माण गर्दछौँ । यो अन्तिम चरणमा छ । मातातीर्थ पार्क निर्माण कार्य भइसकेको छ । धारा, पानी, सडक, सार्वजनिक शौचालय निर्माण पनि हामीले गरेको उल्लेखनीय कार्य हो । खेलकुद क्षेत्रमा विभिन्न पूर्वाधार तयार गरिएको छ । महिलाहरुलाई सिपमूलक विभिन्न तालिम दिएर आत्मनिर्भर बनाइएको छ । युवाहरुलाई विभिन्न क्षेत्रमा परिचालन गरेर स्वरोजगार गर्ने काम भएको हो । विभिन्न सार्वजनिक जग्गाहरु संरक्षण गरिएको छ ।
एमाले फुटेपछि तपाई ओली वा माधव कुन प्यानलमा हुनुहुन्छ ?
म एमालेमै छु । हालसालै भएको पार्टी वडा अधिवेशनबाट सर्वसम्मत रुपमा वडा कमिटीको अध्यक्षमा निर्वाचित भएको छु । यसमा म खुसी छु ।
एमाले फुटेपछि फुटेको असर तपाईहरु माझ पनि पुग्यो होला नि ?
कुनै पनि पार्टी फुट्दा स्वभाविक रुपमा त्यसको असर भइहाल्छ, हाम्रो यस वडा नं ८ मा पनि असर नभएको होइन । सबै व्यक्तिहरुको आ–आफ्नै आस्था, सिद्धान्त र विचार फरक फरक हुन सक्छ । तर हाम्रो वडामा भने पार्टी फुटको असर नगन्य छ । हाम्रो पार्टीको संगठन मजबुत छ । हाम्रो पार्टीको संगठन मजबुत पारेका छौँ । पुराना साथीहरुलाई फेरी पार्टीमा आवद्द गर्न हामीले विभिन्न छलफल भेटवार्तालाइ निरन्तरता दिइरहेको छौँ । साथै केही व्यक्तिहरु पुरानै संस्थापनमा फर्किएका छन् । हामीलाई विश्वास छ, माधव प्यानलमा गएकाहरु पनि ढिलो चाडो एमालेमा फर्किने छन् ।

मुलुकको राष्ट्रिय राजनीतिलाइ एक जनप्रतिनिधिका रुपमा कसरी मूल्याङ्कन गर्नु भएको छ ?
मुलुकको राष्ट्रिय राजनीतिले स्थानीय स्तरमा पनि असर पार्छ तर त्यस प्रभावलाई न्यूनिकरण गर्न स्थानीय स्तरबाट गर्नुपर्ने सम्पूर्ण भूमिका राम्रोसँग निर्वाह गरेका छौँ । हामीले दिनुपर्ने सेवा सुविधामा कुनै भेदभाव नराखी जनतालाई सेवा पू¥याइ रहेका छौँ । त्यस कारण राष्ट्रिय राजनीतिले हामीलाई असर पारेको छैन ।
तपाईले केही आरोप खेप्नुपरेको सुनिन्छ । यस विषयमा तपाई के भन्नु हुन्छ ?
सर्वप्रथम त एउटा राज्यले नै सम्मानित गरेको केही मिडिया राजनीतिक पूर्वाग्रह, कपोल्कल्पित, तथ्यहीन सुनियोजित र तथ्यले प्रमाणित नभई सत्यतथ्य नबुझी एकतर्फी ढंगबाट मात्र समाचार प्रकाशन गरी जनतामा भ्रम छर्ने, जनताको मनोभावनामा खेल्ने सामाग्रीहरु म विरुध्द प्रयोग भएको पाएको छु । म विरुध्दको आरोपहरुको मैले इमान्दार रुपमा खण्डन गरिसकेको छु । उक्त सामग्रीहरु प्रकाशन गर्नु अघि म सँग एक पटक पनि सम्पर्क नगरी एकपक्षीय, प्रायोजित र असन्तुलित समाचार आए, यसले मेरो मान प्रतिष्ठामा गहिरो आघात पु¥याएको छ ।

उक्त सामाग्री प्रशारण पश्चात म स्वयंमले उक्त टेलिभिजनलाई सम्पर्क गरी प्रशारित सामाग्री प्रति खण्डन गरिसकेको अवस्थामा पनि उक्त टेलिभिजनले कुनै खण्डन प्रसारित नगरेर जनतालाई झुक्याउन खोज्ने उक्त टेलिभिजन विरुध्द प्रेस काउन्सिल नेपालमा कारवाहीको लागि निवेदन समेत दर्ता गरिसकेको छु । वास्तवमा भन्नुपर्दा अनाहकमा आरोप लगाउनेलाई पाप लाग्छ । त्यसैले मलाई माया गर्ने तमाम वडावाासीलाई भ्रममा नपर्न सभिनय आग्रह गदर्छु ।

Facebook Comments Box