‘अहिलेभन्दा त राजाकै पालामा ठिक थियो ।’ : हिक्मत जङ्ग भण्डारी

खवर पाटी (खोज खबरको अभियान)

राप्रपाको नेतृत्वमा सरकार बने देश बलियो हुन्छ :
– हिक्मत जङ्ग भण्डारी
नवनिर्वाचित केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुकको राष्ट्रिय राजनीतिलाई यहाँले कसरी लिनु भएको छ ?
यतिवेला मुलुकको राष्ट्रिय राजनीति अत्यन्त तरल अवस्थामा छ । किनभने अदालत, अदालत रहेन ।सरकार संचालन गठबन्धनले केही काम गरेनन् । खाली सत्ता जोगाउने परिपाटीमा मात्र लागेको देखिन्छ ।राजनीतिक पार्टीहरु एक आपसमा स्वच्छ प्रतिस्पर्धा भन्दा आफ्नो पार्टीको नीजि स्वार्थमा मात्र लागेको देखिन्छ । त्यसले गर्दा जनताले जे चाहेका थिए, त्यो अनुभुत गर्न नपाएको अवस्था छ । यसरी हेर्दा मुलनीति नै फरक ढङ्गबाट जाने स्थिति देखिन्छ । देशको राष्ट्रिय नीति निर्माण गर्ने संघीय संसद प्रतिपक्षको बन्धक बनेको अवस्था छ ।

सभामुखको भूमिका पार्टीको नीहित स्वार्थमा लागेको देखिन्छ । त्यसको ज्वालन्द उदाहरण सभामुख ले पक्ष र प्रतिपक्ष बीचमा पुलको भूमिका खेल्नुपर्नेमा त्यो पटक पटक देखिएन । परमादेशबाट आएको सरकारले पेश गरेका विधेयकहरु प्रतिपक्षको होहल्लाबीच धमाधम पारित गर्न सभामुखले सघाइरहेका छन् । यो न्यायिक स्वतन्त्रतामा थिको ठाडो हस्तक्षेप हो । र व्यवस्थापक पूर्ण रुपमा असफल भएको विभिन्न परिघटनाले परिमाणित गरेको छ । यो अवस्थाले के देखाउछ भने प्रमुख दलहरुसत्ताका लागि मात्र लागिरहेका छ । यति वेलाको विभिन्न पेरिफेरि हेर्दा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिक अस्तव्यस्त रहेको देखिन्छ । जनताले दुःख पाइरहेका छन् । प्रमुख पार्टीको नेताहरु त्यसतर्फ ध्यान दिँदैनन् । जनताको स्वभाविक आवाज सुनिन थालेको छ । ‘अहिलेभन्दा त राजाकै पालामा ठिक थियो ।’ तत्कालीन अवस्थामा राजाले जनताको सुख, दुःख बुझ्न जनताको घरदैलोमा गएकै हो । यो यति वेला स्मरण गर्नु पर्ने हुन्छ । प्रमुख दलहरु विदेशीको इशारामा चलिरहेका छन् । विभिन्न वाहानामा उनीहरु निर्देशित भइरहेको देखिन्छ । त्यसैले आम जनताले राजतन्त्रको आवश्यकता महसुस गर्नु स्वभाविक हो । त्यसैले हिन्दु धर्म र राजतन्त्रको बारेमा राप्रपाले लिएको एजेण्डा यति वेला प्रमाणित भएको छ । ९० प्रतिशत भन्दा बढी हिन्दु भएको देशमा विभिन्न वहानाबाजीले हिन्दुहरुलाई नै ओझेलमा पार्ने राजनीतिक दलका विभिन्न क्रियाकलापले पुष्टि गरेको छ ।
वर्तमान सरकारको क्रियाकलापलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
वर्तमान सरकारको क्रियाकलाप हेर्दा सरकारको बनोट मै प्रश्न चिन्ह खडा गर्ने खालको थियो । त्यो कसरी भने सर्वाेच्च अदालतको परमादेशबाट हुनै नसक्ने किसिमको निर्णयबाट सरकार बन्यो । सौदावाजी होकि भन्ने पनि स्थिति छ । यो अवस्थामा वर्तमान सरकारप्रति जनताले के आश गर्ने ! सरकार व्यापारिकरणबाट चलिरहेको देखिन्छ ।
केहि दिनअघि सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी को महाधिवेशनले जनताले के सन्देश दिएको छ ?
यसै मेसोमा भर्खरै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनले राम्रो सन्देश दिएको छ । त्यो के भने प्रजातान्त्रिक मूल्य मान्यताका आस्था राख्ने पार्टीमा नेतृत्व परिवर्तन जुन सरल ढंगबाट अवतरण भयो, यो राम्रो पक्ष हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट आम नेता–कार्यकर्ताहरुमा निकै आशाको किरण देखिन्छ । त्यो के भने ०६२÷६३ को आन्दोलन पश्चात तत्कालिन राप्रपा नेपालले उठाएको मुद्दा आम जनमानसहरुमा अहिले प्रमाणित हुँदै गएको छ भने अन्य राजनीतिक पार्टीहरुले पनि हामीले उठाएको मुद्दाको विषयमा अत्यन्त अभिरुचीको साथ हेरेको पाइन्छ । जहाँसम्म नयाँ नेतृत्वको कुरा छ । हिजो ०६२÷६३ बाट उठाइएको मुद्दा अहिलेको परिवेशमा अध्यक्षले गम्भीरतापूर्वक अगाडि बढाउनुु पर्ने देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले भने अनुसार काम गर्न सक्नु होला ?
राप्रपाका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौति धेरै छन्, समस्याको समाधानका लागि उहाँले मार्गचित्र कुन तरिकाबाट अगाडि बढाउनु हुन्छ, त्यो आम पार्टी पंक्ति र जनचासोको विषय हो ।
वर्तमान सत्ता गठवंधन र एमालेको क्रियाकलापलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
वर्तमान सत्ता गठबन्धनबाट कम आश राखे हुन्छ, उनीहरु सत्ता टिकाउन मात्र लागे झै देखिन्छ । यसै मेसोमा भन्नुपर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र त्यस दलका अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक महाधिवेशन सम्पन्न गर्दै देश र जनताका लागि के गर्ने उद्घोष गर्नु भएको छ तर उहाँ आफै नेतृत्वमा हुँदा माधव नेपाल समूहलाई समेट्न नसक्नु उहाँको ठूूलो कमजोरी देखिन्छ । र यो किसिमको परिस्थितिले भोली आम जनता समक्ष जहाँ उठ्ने प्रश्नको उहाँ आफैले जवाफ दिन सक्नुपर्छ ।
मुलुकको लागि कस्तो सरकार आवश्यक देख्नुहुन्छ ?
मुलुुकको लागि प्रजातान्त्रिक मूल्य मान्यतासहित राष्ट्रियता, प्रजातन्त्र, उदारवादीसँगै सम्बद्र्धनवाद सहितको सरकार यो मुलुुकको भविष्य हामी देख्दैछौं । त्यहि विषयलाई हामी स्थानीय, प्रदेश र संघीय संसदमा लिएर जान्छौ । राप्रपाले लिएको यहि राष्ट्रियता, प्रजातन्त्र र उदारवाद जनतामा बुुझाई रहनु त पर्दैन तर यही सिद्धान्तलाई अब जनताले विश्वास गरेर हामीलाई मत दिने अवस्था सृजित हुँदैछ । अब राप्रपाको नेतृत्वमा सरकार बने देश बलियो हुन्छ, जनता बलियो बन्छन् र सरकार पनि बलियो हुन्छ ।
अमेरिकी सहयोग निर्माण मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे तपाईको मत कस्तो छ ?
एमसिसी देश र जनताको हितको लागि पटक्कै छैन । किनभने यसका प्रावधानहरु हाम्रो देशको कानूनभन्दा माथि रहेको देखिन्छ । त्यसैले एमसिसीले दिने भनेको रकम त हाम्रै देशका काण्डबाट उठ्छ । जस्तै एनसेल प्रकरण र ३८ केजी सुन काण्ड, पार्टीहरुको अधिवेशनमा भएको खर्च राज्यले खोजोस् । यो रकम नै एमसिसीेले दिने भन्दा बढि हुन्छ भने हामी किन एमसिसी एमसिसी मात्र भन्दैछौ ? त्यसैले एमसिसी नेपालमा भित्र्याउन कुनै हिसाबले पनि उपयुक्त देखिदैन ।
आगामी स्थानीय तहको निर्वाचनको राप्रपाको के कस्तो तयारी गरिरहेको छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) के एकता महाधिवेशनपछि पहिलो केन्द्रीय समितिको बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निकाय परिचालन समिति गठन गरेको छ । वृहद रुपमा पार्टी एकतापछि हुन लागेको स्थानीय चुनावमा राप्रपा रणनीतिक रुपमा यो समितिले प्रमुख विषयहरुलाई अध्ययन गर्दै छिट्टै कार्ययोजनाहरु तयार गर्दैैछ । जहाँसम्म आम जनताले हाम्रो यि रणनीतिक कार्ययोजनामा विश्वस्त हुँदै हामीलाई निर्वाचित गर्नेछन् भन्ने हामीले आशा र विश्वास लिएका छौं ।
अन्तमा देशवासीलाई तपाईको सन्देश दिनुस न ?
म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्य र आम श्रमिकहरुको नेतृत्वगर्ने संस्था ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को केन्द्रीय अध्यक्ष समेत रहेकाले मैले आम नेपाली नागरिकमा जुन निरासा देखेको छु । नेपाली होनहार युवालाई विदेशमा जानबाट रोक्न हामीले स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ र स्वास्थ्य शिक्षा लगायत आधारभूत आवश्यकता परिपूर्ति गर्ने प्रतिवद्धतापनि व्यक्त गर्दछौं । यसको लागि आम नागरिकहरुको सहयोग र सद्भावको अपेक्षा पनि गर्दछु ।

Facebook Comments Box