काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा गरेको प्रतिबद्धताअनुसार प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी गरेका छन्।
रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद हेरफेर तथा पूर्णता गर्न छलफल सुरु गरेका हुन्।
मंसिर अन्तिम साता भएको पार्टीको महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई नेता सिंहले दोस्रो चरणमा सहयोग गरेर निर्वाचित गराउन सहयोग गराएका थिए।
सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ। पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका गरे पनि खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको अनुसार दोस्रो चरणको चुनाव भएको थियो। पहिलो चरणमा ३७१ मत पाएका सिंहले देउवालाई सहयोग गरेका थिए।
त्यस बापत उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिनेबारे शनिबार छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो।
यसअघि नै उपप्रधानमन्त्री भएका सिंहलाई गृह मन्त्रालयको जिम्मेवारी दिएर बालकृष्ण खाँडलाई रक्षामन्त्री बनाउने तयारी देउवाले गरेका हुन्। पार्टीको महाहमन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले राजीनामा दिँदा रक्षा मन्त्रालय खाली छ।
त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा उद्योग मन्त्री बनेका गजेन्द्र हमालले लगत्तै राजीनामा दिएपछि उक्त मन्त्रालय पनि खाली छ। उक्त मन्त्रालयमा माओवादी र एकीकृत समाजवादीले समेत दाबी गरेका छन्।
तर देउवा उद्योग मन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका सांसदलाई दिने तयारीमा रहेको बालुवाटार स्रोतको दाबी छ। त्यस्तै देउवा आफ्नो सचिवालयलाई पनि पूर्णता दिने गरी गृहकार्य अघि बढाएका छन्।
प्रकाशशरण महतलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने लगभग निश्चित भएको छ। त्यस्तै प्रेस विज्ञका रुपमा गेजा शर्मा वाग्लेलाई ल्याएर गोविन्द परियारलाई संयोजक बनाउने तयारी देउवाले गरेका छन्।