काठमाडौं । काठमाडौंस्थित् भारतीय दूतावासले ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ गरेको दूतावासले जनाएको छ ।
मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।
आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिने पनि दूतावासले जनाएको छ । नेपालमा ईण्डिया माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको पनि जनाईएको छ । नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेपनि उल्लेख गरिएको छ ।