आज श्रीपञ्चमी मनाइँदै, राष्ट्रपतिद्वारा वसन्त श्रवण

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आज श्री पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ ।

विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ ।आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी धुमधामका साथ देशभर वसन्त पञ्चमी मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतुसमेत सुरु भएको छ ।

यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको छ । वसन्त श्रवणको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना लगायतका विशिष्ट व्यक्तिहरु, सुरक्षा निकायका प्रमुखहरु हनुमानढोकामा पुगेका थिए । उनीहरुले वसन्त श्रवण गरेका छन् ।

Facebook Comments Box