एमसीसी: गठबन्धनमा सहमति जुटेन, अवरोधपछि संसद् बैठक स्थगित

खवर पाटी (खोज खबरको अभियान)

प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोध र नाराबाजीपछि संसद बैठक आइतवार सम्मका लागि स्थगित भएको छ।

शुक्रवारको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पेस गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले पहल गरे पनि सत्तारूढ गठबन्धनमा सहमति नजुटेपछि एमसीसी अघि बढेन।

एमसीसीबारे सहमति जुटाउने प्रयास तीव्र बनाएका प्रधानमन्त्री देउवाले त्यसअघि बोलाएको सत्ताधारी गठबन्धनको बैठक आइतवार पुन: छलफल हुने गरी सकिएको थियो।

“एमसीसी परियोजनालाई सार्वभौम संसदमा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा आज संक्षिप्त छलफल भएको छ,” सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने।

“अर्को बैठक ८ गते बिहान १० बजे बसेर हामी यसलाई निर्णयमा पुर्‍याउँछौँ।”

गठबन्धनका प्रमुख साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अघि बढाउने विषयमा फरक मत राख्दै आएका छन्।

एकीकृत समाजवादीले शनिवारका लागि तय गरेको पार्टीको स्थायी समिति बैठकपछि मात्रै एमसीसीबारे आधिकारिक धारणा बनाउने बताएको छ। माओवादी केन्द्रको केन्द्रीय समिति पनि आइतवारका लागि डाकिएको छ।

तर माओवादी केन्द्रीय समिति एमसीसीमा मात्रै केन्द्रित नभई नेताहरूको जिम्मेवारी बाँडफाँडमा केन्द्रित हुने नेताहरूले बताएका छन्।

गठबन्धनमै सहमति नजुटेपछि यसअघि बुधवार बसेको प्रतिनिधिसभाको बैठक एमसीसीसम्बन्धी प्रस्ताव पेस नभई शुक्रवार १ बजेसम्मका लागि स्थगित भएको थियो।

शुक्रवार एमालेको नाराबाजी र अवरोध पछि स्थगित गरिएको बैठक आइतबार १ बजेका लागि राखिएको छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसद्‌बाट सम्झौता पारित गर्नुपर्ने पक्षमा देखिए पनि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले सम्झौता परिमार्जन हुनुपर्ने माग गर्दै आएका छन्।

अर्को साझेदार दल जनता समाजवादीका नेताहरू एमसीसीबारे विभाजित छन् भने गठबन्धनको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा सडक आन्दोलनमा छ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा सहभागी दलहरूलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गर्दै प्रमुख प्रतिपक्ष दलका नेतासँग पनि छलफल जारी राखेका छन्।

बिहीवार पनि गठबन्धनको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।

बिहीवार एमाले अध्यक्ष ओलीसँग भएको भेट संसद् अवरोध खुलाउनमा केन्द्रित रहेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

भदौबाट प्रतिपक्षको अवरोध

प्रमुख प्रतिपक्ष एमालेले गठबन्धनको साझा धारणा र संसद्‌मा एमसीसी छलफलका लागि पेस भएपछि मात्रै सम्झौताबारे आफ्नो अडान सार्वजनिक गर्ने बताउँदै आएको छ।

एमसीसी सम्झौता यसअघि एमाले नेतृत्वको सरकारले अनुमोदनका लागि संसद सचिवालयमा दर्ता गरे पनि यो दलभित्र केही नेताहरू यसको विपक्षमा देखिएका छन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्नो दलले निष्कासन गरेका सांसदहरूको पद सभामुखले पदमुक्त नगरेको भन्दै गत भदौबाट संसद बैठक अवरोध गर्दै आएको छ।

एमालेको अवरोधकैबीच सांसदबाट चालू आर्थिक वर्षको बजेट पारित भए पनि अन्य कार्यसूची संसद्‌बाट अघि बढ्न सकेको छैन।

गठबन्धनका साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरूले एमसीसी अघि बढाउन संसदमा जारी अवरोध हट्नुपर्ने बताउँदै आएका छन्। तर एमालेले आफ्नो दलले निष्कासन गरेका सांसदहरू सहभागी भएको बैठक चालु हुन नदिने अडान लिएको छ।

आफ्नो दलले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

Source: BBC Nepali

Facebook Comments Box