आमाको हत्या आरोपमा चार जना थुनामा

खवर पाटी (खोज खबरको अभियान)

पाल्पा । आमाको हत्या आरोपमा आफ्नै छोरासहित चार जनालाई जिल्ला अदालत पाल्पाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । तानसेन नगरपालिका–६ कुनसरे निवासी ६५ वर्षीया वृद्धाको हत्या आरोपमा उनीहरूलाई थुनामा राखेको हो ।

पक्राउ परेका तानसेन नगरपालिका–६ कुन्सरेका ४२ वर्षीय कमलबहादुर घर्ती थापा, बगनासकाली गाउँपालिका–६ घर भई सोही स्थान बस्दै आएका २७ वर्षीय सुनील परियार, रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान घर भई कुन्सरे बस्दै आएका २३ वर्षीय हरिबहादुर सुनार, तानसेन नगरपालिका–७ घर भएका ३१ वर्षीय विजय परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

कमलबहादुर वृद्धाको माहिलो छोरा हुन् । चारै जनालाई एक महिनाअघि प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्दा प्रतिवादीहरूले हत्या गरेको स्वीकार गरेकाले अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जनाउनुभयो ।

Facebook Comments Box