कतारमा रसुवाको पानी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ।  रसुवास्थित एक कम्पनीले कतारको बजारमा पानी निर्यात शुरू गरेको छ। झण्डै २० महीना लामो पहलपछि नेपालमा उत्पादित पानीको मध्यपूर्वको कतारमा निर्यात शुरू भएको छ। रुद्रगंगा नेचुरल वाटर प्रालिले उत्पादन गरेको ‘रसुवा’ ब्रान्डको पानीलाई दोहाको बजारमा बिक्री शुरू गरिएको खाडी देशका लागि आधिकारिक वितरक बनेको न्यू लाङटाङ हिमालय ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीका प्रबन्ध निर्देशक बीबी खरेलले बताए।

“हाम्रो लक्ष्य नेपालको पानी खाडीमा लैजाने हो। महामारीका कारण झण्डै २० महीनाको सङ्घर्षपछि नेपाली पानीको पहिलो बिक्री कतारमा शुरू भएको छ,” खरेलले भने।

पहिलो चरणमा काठमाडौंबाट करीब तीन हजार चार सय किलोमिटर टाढा (हवाई दूरी) को दोहासम्म जहाजमा हालेर लगभग आठ टन पानी पुर्‍याइएको छ। पानीको परिमाण क्रमशः बढाउँदै लैजाने उनले बताए। कतारमा पानी परीक्षण, सरकारी निकायबाट प्रमाणीकरण तथा आवश्यक स्वीकृति पाएपछि बिक्री शुरू गरिएको खरेलले जानकारी दिए।
रसुवा ब्रान्डका ३३० मिलिलिटर र ५०० मिलिलिटरका पानी भरिएका बोतल क्रमशः ३.५० रियल (करीब ११५ रुपैयाँ) र चार रियल (करीब १३० रुपैयाँ) मा बिक्री शुरू गरिएको हो। “खाडी राष्ट्रहरू पानीका लागि ठूलो बजार हुन्। ती देशहरू पेट्रोल बेचेर धनी भए र हामीले पनि यी देशहरूमा पानी बेच्ने लक्ष्य लिएर शुरू गरेका छौं, जहाँ पानी पेट्रोलभन्दा महँगो छ,” खरेलले भने।

कतार र मध्यपूर्वभरि छरिएका नेपाली कामदार नेपाली पानीको बिक्रीका लागि सद्भावना दूत भएको खरेलको भनाइ छ। “हस्पिटालिटी क्षेत्रका थुप्रै कम्पनीमा नेपालीले काम गर्छन्, हामीले उनीहरूसँग सम्पर्क गर्दै छौं ताकि प्रमुख ग्राहक हुने होटेललाई पानी बिक्री गर्न सकियोस्,” उनले भने। मध्यपूर्वका देश खानेपानीको उच्च अभाव भएका देशको सूचीको अघिल्लो पङ्क्तिमा पर्छन्। यी देशले खानेपानीको व्यवस्थापनका लागि ठूलो रकम खर्च गर्दै आएका छन्।

खरेलको समूहले अहिलेको परीक्षण बिक्री सफल भएपछि नेपालबाट थप १६ टन पानी कतार निर्यात गर्ने तयारी गरेको छ। त्यसै गरी आगामी मार्चमा दुबईमा ५० टन पानी लैजानका लागि सम्झौताको तयारी गरिएको पनि उनले बताए। उनको टोलीको प्रमुख नजर भने यस वर्षको अन्त्यमा हुने फिफा विश्वकप फूटबल र अर्को वर्ष हुने दोहा एक्स्पोमा केन्द्रित छ।

आगामी नोभेम्बर महीनामा शुरू हुने फिफा विश्वकप प्रतियोगिताका लागि लाखौं आगन्तुक कतार पुग्ने अपेक्षा गरिएको छ। “हामीले विश्वकप र दोहा एक्सपोमा पक्कै पनि धेरै आशा राखेका छौं। होटलहरू बाहेक डिपार्टमेन्टल स्टोरहरूसँग साझेदारी गर्ने हाम्रो प्रयास हुनेछ। खेलका क्रममा विश्वभरका पर्यटकहरू आउने भएकाले यो नेपाली पानीलाई विश्वव्यापी रूपमा बजारीकरण गर्ने माध्यम पनि हुनेछ,” खरेलले भने।

रसुवाको धुन्चेमा पानी प्रशोधन कारखाना रहेको रुद्रगंगा नेचुरल वाटरले साढे दुई वर्षअघि उत्पादन थालेको थियो। हिउँबाट पग्लिएको पानीमा कुनै पनि रसायन नहाली तयार गरिएकाले प्राकृतिक गुणका कारण आफ्नो उत्पादनले बजार पाउने अपेक्षा गरेको कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीले बताए। यो कम्पनीले शुरूआतदेखि नै विदेशी बजारमा पानी निर्यातको लक्ष्य राखे पनि कोभिड-१९ लगायत कारणले निर्यात गर्न सकेको थिएन।

यद्यपि, अब कम्पनीले चीन, कतार, अस्ट्रेलिया, दुबई सहितका देशमा पानीको निर्यात सम्भावना हेरिरहेको छ। भण्डारीले भने, “चीन ठूलो बजार हो। चीनका शहरमा रसुवा वाटरको बजार प्रवर्द्धनका लागि ठूलो रकम खर्च भइसकेको छ। हाम्रो वितरकले चीनमा छिटै ठूलो परिमाणमा बिक्री शुरू गर्दै छ।”

नेपालले पछिल्ला वर्षमा अन्य मुलुकलाई पानी निर्यातको सम्भावना हेरिरहेको छ। हिमालय क्षेत्रको पानीको साख राम्रो हुने कारणले गर्दा विदेशी बजारमा सहजै बिक्री गर्न सकिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्।

रुद्रगंगा नेचुरल वाटरका अध्यक्ष भण्डारीका अनुसार, विदेशमा पानी निर्यातको सम्भावना भए पनि यातायात खर्च सबैभन्दा ठूलो बाधाका रूपमा रहेको छ। “कतारसम्म ५०० मिलिलिटरको पानी भरिएको बोतल पुर्‍याउन करीब ६० सेन्टसम्म (करीब रु.७२) खर्च हुन्छ। हाम्रा लागि उत्पादन गर्नुभन्दा यातायातमा धेरै खर्च हुन्छ। यसलाई घटाउन सकिए मात्रै निर्यातको सम्भावना फराकिलो हुन्छ,” भण्डारीले भने।

मध्यपूर्वमा पानी वितरणको जिम्मा लिएका खरेल हवाई उडान मार्फत कतार पुर्‍याइएको पानीका लागि ढुवानीमा प्रति किलो करीब रु.५५ रुपैयाँ खर्च भएको बताउँछन्। “यो असाध्यै महँगो ढुवानी शुल्क हो। यसलाई कम्तीमा रु.३५ घटाउन चाहन्छौं। त्यसो हुँदा मात्रै हाम्रो पानीको बजार प्रतिस्पर्धात्मक हुन सक्छ,” उनले भने।

वितरक खरेल चाहिं विशेष गरी नेपाल सरकारको स्वामित्व रहेको नेपाल एअरलाइन्स मार्फत पानी निर्यात गर्दा हवाई कार्गो ढुवानी शुल्कमा छूट दिइनुपर्ने बताउँछन्।

“विदेशी बजारमा पानी बिक्री गर्न हामीलाई सरकारको सहयोग चाहिन्छ, हवाई कार्गो ढुवानीमा आधा छूट दिने हो भने नेपाली पानी मात्रै होइन, तरकारी वा अरू उत्पादनको पनि बजार बढ्न सक्छ,” उनी भन्छन्। खरेलका मतमा विदेशस्थित नेपाली नियोगले नेपाली उत्पादनलाई त्यहाँको बजारमा फैलाउन बजारीकरणका लागि सहयोग गर्नु आवश्यक छ।

हवाई ढुवानीको विकल्पमा पानीजहाज मार्फत सस्तोमा भारतीय बन्दरगाह हुँदै पानी निर्यातको सम्भावना भए पनि त्यसले लामो समय लिन्छ। खरेलका अनुसार, पानीजहाज मार्फत पठाउँदा प्रतिकेजी रु.१० मात्रै ढुवानी भाडा पर्छ। तर, पुग्नलाई कैयौं साता लाग्छ। भारतको कलकत्ता बन्दरगाह हुँदै कतारसम्म पानी पुर्‍याउन कम्तीमा ४५ दिन लाग्छ।

त्यसै गरी विशाखापट्नम् बन्दरगाह मार्फत निर्यात गर्ने हो भने करीब एक महीना लाग्छ। “बरु सरकारले मुम्बई बन्दरगाहबाट निर्यात हुने प्रबन्ध मिलाउन सक्ने हो भने खाडी देशमा पाँच दिनमै सामान पुर्‍याउन सकिन्छ,” उनले भने। हिमालखबरमा प्रकाशित

 

Facebook Comments Box