युक्रेनमाथि रुसी आक्रमणको दोस्रो दिन के के भयो?

खवर पाटी (खोज खबरको अभियान)

रुसी सैनिकहरू पूर्वी युक्रेनमा प्रवेश गरेको दोस्रो दिन भएका मुख्य घटनाक्रमहरू यस्ता छन्ः

 

रुसी सैनिकहरू राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किएभ क्षेत्रमा गुडिरहेको देखिएको छ।

अघि बढिरहेका रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्।जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।

रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको छ।

रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ।

युक्रेनमाथि सैन्य आक्रमण गरेको रुसमाथि युरोपेली सङ्घ ईयूले ठूलो स्तरको नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ।

युक्रेनको राजधानी किएभबाट उत्तरपश्चिममा अवस्थित बुखाको एउटा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिअन्स लीग प्रतियोगिताको फाइनल खेल रुसको साटो फ्रान्समा हुने भएको छ।

रुसको राष्ट्रिय ध्वजावाहकमाथि ब्रिटेनले प्रतिबन्ध लगाएपछि रुसले पनि यूके सम्बद्ध विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा उड्नमा प्रतिबन्ध गरेको छ।

यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन्।

रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आएका छन्।

रुसले आक्रमण गरेपछि युक्रेनको राजधानी किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताएका छन्।

अमेरिकाले रुसी अतिक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ।

युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

Source BBC Nepali

Facebook Comments Box