पेट्रोलियम पदार्थको मूल्यवृद्धि,पेट्रोलको मूल्य १५० पुग्यो

खवर पाटी (खोज खबरको अभियान)

अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको कच्चा तेलको मूल्यलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान पाँच–पाँच रुपैयाँ मूल्यवृद्धि गरेको हो । शुक्रबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५० रुपैयाँ, डिजेल र मट्टीतेल समान एक सय ३३ रुपैयाँ प्रतिलिटरमा बिक्री हुने भएको छ ।

निगमले इन्धन खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मंगलबार खरिद दर बढाएर पठाएको सहायक प्रवक्ता पुष्कर कार्कीले बताए । उनका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ, मट्टीतेल १०.३० रुपैयाँ र हवाई इन्धन ३.३२ रुपैयाँ प्रतिलिटर तथा ग्यास ९९.१७ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको थियो ।

सबै पेट्रोलियमको मूल्य बढेर आए पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मात्र मूल्य समायोजन गरेको उनको भनाइ छ । हवाई इन्धन र ग्यासको मूल्य स्थिर राखेको छ । विगतमा आइओसीबाट प्राप्त मूल्यसूचीअनुसार नेपालमा मूल्यवृद्धि नगर्दाको सञ्चित घाटादरका कारण अहिलेको मूल्यवृद्धिबाट निगमलाई अझै घाटा नै रहेको सहायक प्रवक्ता कार्कीले दाबी गरे ।

‘सबै पेट्रोलियमको मूल्य बढेर आयो, तर हामीले हवाई इन्धन र ग्यासमा मूल्यवृद्धि गर्न सकेनौँ । जसका कारण आगामी १५ दिनमा हामीलाई अझै दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ,’ उनले भने ।

पेट्रोलपम्पको सुविधा कटौती
त्यस्तै, यसपटक मूल्यवृद्धि गर्दा आयल निगमले पेट्रोलपम्प व्यवसायीले पाउने सुविधा पनि रोकेको छ । गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्र्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था लागू भएको थियो । जसकारण पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन बढ्ने र मूल्य घट्दा व्यवसायीको कमिसन पनि घट्ने गरेको थियो ।

तर, पछिल्लो समय निरन्तर मूल्य बढेर पेट्रोलपम्प व्यवसायीको कमिसन प्रतिलिटर पेट्रोलमा करिब ६ रुपैयाँ र डिजेलमा करिब पाँच रुपैयाँ पुगेको थियो । यो दरको कमिसन नै उच्च भएको दाबी गर्दै निगमले सञ्चालक समितिबाट निर्णय गराई व्यवसायीलाई थप कसिमन नदिने निर्णय गरेको हो । यसबाट समेत निगमको खर्च कटौती भई केही रकम जोगिएको निगमको दाबी छ ।

कर्मचारीको लुगा धुने भत्ता खारेज
निगमले यसपटक मूल्यवृद्धि गर्दा विद्यार्थी संगठन, उपभोक्ता अधिकारकर्मी र नागरिक अगुवालगायतको विरोध हुने देखेर कर्मचारीले पाउँदै आएको लुगा धुने भत्ता खारेज गर्ने निर्णय गरेको छ । निगममा कार्यरत करिब चार सय ७० स्थायी कर्मचारीले प्रतिदिन १५ रुपैयाँका दरले लुगा धुने भत्ता पाउँदै आएका थिए । यो भत्ता खारेज भएको प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

‘कर्मचारीले धेरै भत्ता लिने गरेको गुनासो थियो । हामीले लिएको सुविधा कटौती गर्दा संस्था बच्छ भने हामी तयार छौँ भनेर सञ्चालक समितिलाई जानकारी गराएका थियौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसपछि सञ्चालक समितिले पोसाक संरक्षण खर्च (लुगा धुने भत्ता) कटौती गरेको हो ।’

निगम कर्मचारीले करिब दर्जन शीर्षकमा भत्ता सुविधा लिँदै आएका आएका छन् । त्यसमध्ये लुगा धुने भत्ता सबैभन्दा कम दरको थियो । यो शीर्षकबाट कर्मचारीले मासिक रूपमा बढीमा चार सय ५० रुपैयाँ पाउँदै आएका थिए ।

Facebook Comments Box