काठमाडौं, २३ फागुन । नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीमाथि जित निकालेको छ । ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो ।
नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुदै १ सय ३ रन मात्र जोड्न सक्यो । श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रन जोडे ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विक्रम सोबले समान दुई–दुई विकेट लिए । साथै, कमल सिंह ऐरी, सागर ढकाल र करण केसीले एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुदै २ सय १४ रन जोडेको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ तथा आशिफ शेखले ३६ रनको योगदान गरे ।
श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ विकेट लिए । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।