मोटर भेहिकल सम्झौता कार्यान्वयन गर्ने सहमति

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, फागुन २६ गते । सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिने मोटर भेहिकल सम्झौता(एमभीए) कार्यान्वयन गर्न नेपाल, भारत र बङ्गलादेश समझदारीमा पुगेका छन् । भारतमा दुई दिनसम्म चलेको तीन देशका प्रतिनिधिबीचको छलफल सम्झौता कार्यान्वयन गर्ने सहमतिमा टुङ्गिएको हो । बङ्गलादेश, भुटान, भारत र नेपाल सदस्य राष्ट्र रहेको बीबीआईएन एमभीएमा भुटानले भने सहभागिता जनाएको छैन । सम्झौता कार्यान्वयनमा पर्यावरणीय र सुरक्षा कारण देखाएको भुटान यस परियोजनाको पर्यवेक्षक मात्र रहनेछ ।

चार देशका नागरिकलाई सहजै एक अर्काको देशमा आवतजावत गराउने तथा ढुवानीमा पनि सहजता ल्याउने उद्देश्यले २०७२ जेठ ३२ गते सम्झौतामा हस्ताक्षर भएको थियो । यद्यपि सम्झौता भने अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । दुई वर्षअघि नयाँ दिल्लीमा भएको बैठकयता सम्झौता कार्यान्वयनको कुनै प्रक्रिया अगाडि बढेको थिएन । कोभिड–१९ सङ्क्रमणका कारण सदस्य राष्ट्रबीच बैठक हुन नसकेको भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार सम्पन्न छलफलले सम्झौतामा रहेका प्रोटोकल कार्यान्वयनका लागि समझदारी जुटाएको हो । यससँगै सम्झौता कार्यान्वयनका लागि एउटा प्रक्रिया छोटिएको छ । सम्झौता कार्यान्वयनमा आइसकेपछि हस्ताक्षरकर्ता देशका नागरिक सडक यात्रामार्फत अर्को देशमा आवतजावत गर्न सक्नेछन् । त्यस किसिमका सवारीलाई आफ्नो देशमा कहाँसम्म प्रवेश दिने भन्ने विषय भने सम्बन्धित देशले नै टुङ्गो लगाउनेछ ।

बैठकका क्रममा नेपाल, भारत र बङ्गलादेशले समझदारीपत्रमा हस्ताक्षर गर्ने र कार्यान्वयन गर्ने तत्परता देखाएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै भुटानको संसद्बाट अनुमोदन भएको उक्त सम्झौता पनि बैठकले टुङ्गो लगाएको छ ।बैठकमा सदस्य राष्ट्रले सम्झौताको सहज कार्यान्वयनमा जोड दिएका थिए । त्यस्तै यात्रु तथा ढुवानी प्रोटोकल टुङ्ग्याउन विशेष पहल र कार्यतालिका निर्माणमा पनि बैठकमा सहमति जुटेको थियो ।

बैठकको नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेतृत्व गर्नुभएको थियो । त्यस्तै भारतका तर्फबाट विदेश मामिला मन्त्रालयका सहसचिव स्मिता पन्त र बङ्गलादेशका तर्फबाट विदेश मामिला मन्त्रालयका दक्षिण एसिया हेर्ने महानिर्देशक एटीएम रोकेबल हकले नेतृत्व गर्नुभएको थियो । भुटानको पर्यवेक्षक समूहको नेतृत्व भारतस्थित भुटानको राजदूतावासका प्रथम सचिव थिन्ले नोर्बुले गर्नुभएको थियो ।

Source गोरखापत्र

Facebook Comments Box