बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

खवर पाटी (खोज खबरको अभियान)

भैरहवा, चैत ७ गते । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवा–लुम्बिनी क्षेत्रमा विद्युतको अभाव हटाउन ६ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण अव पूरा हुने अवस्थामा पुगेको हो । आयोजनाका अनुसार अहिलेसम्म करिब ९५ प्रतिशत प्रगति भएको छ । अहिले मैनहिया सवस्टेशनमा ३० वटा टावर ठड्याइएको छ ।

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि २०७२/७३ मा योगीकुटी बुटवलबाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम थालिएको थियो । १८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ वटा टावरमध्ये ५५ वटा निर्माण सम्पन्न भएको छ । १० किलोमिटर तार टाङ्गिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ ।

मैनहिया सवस्टेसनमा राखिने १३२/३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सवस्टेसन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । “आयोजनाको निर्माण अव पूरा हुने अवस्थामा पुगेको छ, सम्भवतः दुई महिनाभित्रमा काम सकिन्छ,”उनले भने ।

भैरहवा–लुम्बिनी क्षेत्रमा धेरै पहिलेदेखि विद्युतको समस्या रहँदै आएको छ । प्रसारण लाइन नहुँदा भारतबाट आयातित विद्युत भैरहवावासीले प्रयोग गर्दै आएका छन् । अब यो आयोजना बनेपछि विद्युत समस्या हट्ने आयोजना प्रमुख पाण्डेले बताए । लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरे अनुसार विद्युत दिन सकिरहेको छैन । विद्युत लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन ।

सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब २० करोड रहेको छ । आयोजना सुरु हुनासाथ विद्युत विस्तारका लागि जग्गा प्राप्ती गर्ने क्रममा स्थानीयले असहयोग गर्दा ढिलाई हुन पुगेको आयोजना प्रमुख पाण्डेको भनाई छ ।

गोरखापत्र मा प्रकाशित

Facebook Comments Box