नेपाल आयल निगमः दुई अर्ब रुपैयाँ ऋण लिँदै, घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्य फेरि ‘बढ्न सक्ने’

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल आयल निगमले अपुग रकम ऋण लिएर इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्न लागिएको जनाएको छ।

निगमले एप्रिल २३ तारिखमा आईओसीलाई झन्डै १४ अर्ब रुपैयाँ तिर्नुपर्नेछ।

“बाह्र अर्बजति हामीसँग जुट्ने देखिन्छ। बाँकी दुई अर्ब रुपैयाँ हामीले राष्ट्रिय वाणिज्य ब्याङ्कसँग ऋण लिने कुरा छ,” निगमका प्रवक्ता विनितमणि उपाध्यायले बुधवार बीबीसीसँग भने।

ऋणका लागि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य ब्याङ्कसँग एक चरणको कुराकानी भइसकेको उनले बताए।

स्रोतका अनुसार राष्ट्रिय वाणिज्य ब्याङ्कसँग अहिले ब्याजदरबारे कुराकानी भइरहेको छ।

सरकारको जमानीमा उक्त ब्याङ्कले ८.५ प्रतिशत ब्याजदरमा निगमलाई ऋण उपलब्ध गराउने बुझिएको छ।

“ठ्याक्कै यही दिन पाउने हो भन्न त अहिले सक्दिनँ, तर हामी प्रक्रियामा छौँ,” ऋणबारे प्रवक्ता उपाध्यायले भने।

आईओसीलाई भुक्तानी गर्न सरकारले निगमलाई पटकपटक रकम उपलब्ध गराउँदै आएको मूल्य स्थिरीकरण कोषमा अब २५ करोड रुपैयाँ मात्र बाँकी छ।

नेपाल आयल निगम किन आर्थिक सङ्कटमा?

आफ्नो लागत मूल्यभन्दा नेपालमा सस्तोमा पेट्रोलियम पदार्थको विक्री गर्नुपरेकाले वित्तीय सङ्कट परेको दाबी नेपाल आयल निगमको छ।

प्रवक्ता उपाध्यायका अनुसार निगमले अहिले पेट्रोलमा प्रतिलिटर करिब २३ रुपैयाँ र डीजलमा २८ रुपैयाँ घाटा खाएर विक्री गरिरहेको छ।

नेपालमा हाल प्रतिदिन झन्डै ५,००० किलोलिटर पेट्रोल, ८,५०० किलोलिटर डीजल र एक लाख २० हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ।

नेपाली बजारमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डीजल तथा मटितेलको मूल्य १४३ रुपैयाँ निर्धारण गरिएको छ।

आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा स्थानीय बजारमा बेचबिखन गर्न मूल्य निर्धारण गरिए पेट्रोलको प्रतिलिटर झन्डै १८३ रुपैयाँ, डीजलको १७१ रुपैयाँ, मट्टितेलको १३६ रुपैयाँ र एलपी ग्यासको प्रतिसिलिन्डर २,५२५ रुपैयाँ हुने निगमको भनाइ छ।

“समग्रमा १५ दिनमा हामीलाई चार अर्ब ६३ करोड ७७ लाख घाटा छ,” प्रवक्ता उपाध्यायले भने।

मूल्य घट्ला कि अझै बढ्ला?

अन्तर्राष्ट्रिय बजारमा चाहिँ केही दिनयता कच्चा तेलको मूल्य झन्डैझन्डै स्थिर देखिएको छ।

केही समयअघि प्रतिब्यारल १३० अमेरिकी डलर नाघेको कच्चा तेलको कारोबार अहिले प्रतिब्यारल १०५ डलरको छेउछाउ आइपुगेको छ।

तर आफूहरूले तयारी वस्तु (फिनिश्ड प्रोडक्ट) को रूपमा आयात गर्दै आएकाले आईओसीबाट खरिद मूल्यमा खासै फरक नहुने उपाध्याय बताउँछन्।

“एप्रिल १६ तारिखमा जुन मूल्यसूची प्राप्त हुन्छ त्यसमा उस्तैउस्तै [अघिल्लो मूल्य] आउँछ जस्तो छ,” उनले थपे।

“हाम्रो आँकडा र फिनिश्ड प्रोडक्टको रूपमा मूल्यको ट्रेन्ड हेर्दा मूल्य अहिलेसम्म खासै घट्ने देखिएको छैन।”

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार बजारमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गरिरहने हो भने कि परल मूल्यमा बेच्न दिनुपर्छ कि त सरकारले आर्थिक सहयोग गरिरहनुपर्ने हुन्छ।

त्यसमा सही थाप्दै प्रवक्ता उपाध्यायले आफूहरूमाथि मूल्य समायोजनको चर्को दबाव रहेको बताए।

“अहिलेको अवस्था हेर्दा मूल्य समायोजन नै गर्नुपर्ने देखिएको छ,” उनले भने।

उसोभए फेरि मूल्य बढ्न लागेको हो त? भन्ने प्रश्नमा प्रवक्ता उपाध्यायले भने, “बढ्न सक्ने सम्भावना हामी देख्दैछौँ।”

कतिले मूल्य बढ्न सक्छ भन्नेबारे उनले केही बताएनन्। तर तीन दिनपछि अर्थात्‌ एप्रिल १६ तारिखमा आईओसीबाट नयाँ मूल्यसूची आएपछि स्पष्ट हुने निगमका अधिकारीहरू बताउँछन्।

केही समयअघि प्रतिब्यारल १३० अमेरिकी डलर नाघेको कच्चा तेलको कारोबार अहिले प्रतिब्यारल १०५ डलर वरपर भइरहेको छ।

Source BBC News Nepali

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *