प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की र चितवनका कांग्रेस नेतासँग छलफल गर्दै अहिले तालमेलको आवश्यकता रहेकाले जसले पाए पनि सहयोग गरेर जिताउन निर्देशन दिएका छन् । कास्की र चितवनका नेताहरूले भने सकेसम्म महानगर आफैँसँग राख्न सुझाव दिएका थिए । तर, उनीहरूले केन्द्रबाट निर्णय भए कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
चितवनका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिका माओवादीलाई दिनुपर्ने अवस्था आएको र सहयोग गर्न भनेका थिए । तर, कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले केन्द्रबाट निर्णय भए त्यसलाई लागू गर्ने, तर परिणाम प्रभावित हुन सक्ने बताएका थिए ।
‘सभापतिले काठमाडौं, भरतपुर र विराटनगरमध्ये एक ठाउँको प्रमुखको माग माओवादीले राखेको छ । यी तीनमध्ये एउटा महानगरको मेयर माओवादीलाई दिनुपर्छ । यदि भरतपुर दिनुपर्ने परिस्थिति भयो भने तपाईंले मलाई सहयोग गर्नुपर्छ भनेर प्रस्ताव गर्नुभयो,’ खनालले भने, ‘मैले महानगर प्रमुखमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णयबाट ब्याक हुन सक्ने अवस्था छैन भनेँ । तर, केन्द्रले गरेको निर्णय कांग्रेस चितवनले पालना गर्छ । सोचेअनुसारको निर्णय आयो भने सहज रूपमा पार लगाउन सक्छौँ । फरक निर्णय आए निर्वाचन परिणाम प्रभावित पार्न सक्छ, त्यसको पूर्ण जिम्मेवार चितवन कांग्रेस हुन सक्दैन भनेको छु ।’