ललितपुर । स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा समाजसेवी विनयजंग बस्नेतले पराजयको अनुभव गरे । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ७ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उनले तेस्रो स्थान हासिल गरे । निर्वाचनको परिणाम पछि बिनयले आफ्नो पक्षमा मतदान गर्ने र नगर्ने सवै वडावासीलाई धन्यवाद प्रकट गरेका छन् ।
निर्वाचन अगाडि अन्य दलहरुले सहकार्यको लागि आह्वान गरेपनि स्थानीय जनता र शुभचिन्तकको भावना बुझेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । आफ्ना मतदाता र शुभचिन्तक समक्ष सामाजिक सञ्जाल मार्फत् बस्नेतले भने ‘अब म स्वतन्त्र हुन पाएँ। यो पनि जित नै हो, म कुनै दलसँग आबद्ध छैन, म सबैको साझा हुँ, म स्वतन्त्र भएँ।’ उनले निर्वाचन एउटा प्रक्रिया भएकाले हारजित स्वभाविक भएको पनि उल्लेख गरे । अब जसले जिते पनि वडाको समुचित विकासमा लाग्नु पर्छ ।’ उनले स्वतन्त्र रुपमा जनताको पक्षमा जनताको आवाज उठाइरहने भनाई राखेका छन् ।