१ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थको सहमति

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । अर्थ मन्त्रालयले १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरी खटाउन स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

मन्त्रालयमा निर्वाचनका लागि  १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने नेपाल प्रहरीले प्रस्ताव गरेको थियो । तर,  मन्त्रालयले प्रहरीको प्रस्तावलाई कटौती गरेर अनुमति प्रदान गरेको हो ।

यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरीको संख्या बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको  छ ।

एकै चरणमा चुनाव गर्न स्थानीय निर्वाचनमा भन्दा बढी म्यादी प्रहरी राख्ने तयारी गरेको छ । पूर्वप्रहरी र पूर्वम्यादी प्रहरीलाई निर्वाचनमा म्यादी प्रहरीको रुपमा खटाउन सरकारलाई प्रस्ताव गरेको छ ।

तालिम प्रदान गर्न सहज र खर्च व्यवस्थापन कम गर्न पूर्व प्रहरी तथा यसअघि खटिएका म्यादी प्रहरीलाई निर्वाचनमा खटाउने गरी प्रहरी प्रधान कार्यालयले कार्ययोजना तयार पारेको छ ।

पूर्वम्यादी प्रहरीलाई खटाउन गृह मन्त्रालयमा प्रस्ताव गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । ‘मन्त्रालयले कस्तो निर्णय गर्छ त्यस विषयमा पर्खनुपर्छ,’ उनले भने ।

सहज तालिम प्रदान गर्न र खर्च व्यवस्थापन कम हुनाले केही समयअगाडि खटिएका म्यादी प्रहरीलाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा खटाउने तयारी गरिएको राईले बताए ।

वैशाखको स्थानीय निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको थियो । यो निर्वाचनमा भने बढी म्यादी प्रहरीको आवश्यक पर्ने भएको छ । मतदाताको संख्या बढ्ने भएकाले यसपटक निर्वाचन मतदान केन्द्र पनि थपिने भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *