काठमाडौं । केहीदिन यता नेपालमा डेंगु भयावह रुपमा फैलिरहेको छ । हालसम्म नेपालका ७२ जिल्लामा डेङ्गी रोगको संक्रमण फैलिएको छ। गएको पुस महिनादेखि भदौ १४ गतेसम्म २ हजार ७२८ जनामा संक्रमण पुष्टि भइसकेको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगत कीटजन्य रोग नियन्त्रणका प्रमुख डा. गोकर्ण दाहालले बताए।
उनले भने, ‘अहिलेसम्म ७२ जिल्लाबाट रिपोर्ट भइसकेको छ। रिपोर्ट भएका सबै भन्दा धेरै बागमती र लुम्बिनी प्रदेशमा देखिएको छ। यद्यपी अन्य प्रदेशहरुमा पनि डेङ्गीका केश देखिएका छन्।’
बागमती प्रदेशमा मात्रै १ हजार ९७ वटा केस र लुम्बिनीमा ६६६ वटा केस फेला परेको उनले बताए। उनले भने, ‘यसमा पनि जिल्लामा जाने हो भने पुस महिनादेखि अहिलेसम्म ललितपुरमा १ हजार ५६ वटा केस छन्। रुपन्देहीमा ३७७, काठमाडौँमा ३३२, तेह्रथुममा ७७, धादिङमा ७६, सिन्धुलीमा ६१ लगायत अन्य जिल्लामा ५० भन्दा कम केस फेला परेका छन्। त्यस्तै कुनै कुनै जिल्लामा एक दुई वटा केस मात्र फेला परेका छन्।’
देशका ७२ जिल्लामा डेङ्गी रोगको संक्रमण देखिएको यो पहिलो पटक हो। यो भन्दो अगाडि सन् २०१९ मा सबै भन्दा धेरै १८ हजार केस फेला परेका थिए। त्यो बेलामा समेत ६८ वटा जिल्लामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै गएको वर्ष पनि ५८ वटा जिल्लामा यसको संक्रमण पुष्टि भएको थियो। यति बेला करिब ६०० जनामा संक्रमण पुष्टि भएको थियो।
सबै भन्दा धेरै केस देखिएका उपत्यकाका विभिन्न अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ७० देखि ८० जनासम्म डेङ्गीको आशंकामा अस्पताल पुग्ने गरेको सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताए। उनले भने,‘दैनिक ७० देखि ८० जना अस्पताल आउने गरेका छन्। तर सन् २०१९ को जस्तो अस्पतालमा हलचल देखिएको छैन। हुन त त्यो बेलामा डेङ्गीको उपचार गर्ने धेरै अस्पताल नभएर पनि हुन सक्छ। अहिले धेरैमा उपचार हुने गरेको छ।’
पहिलेको भन्दा कम बिरामी आएको भन्देमा संक्रमण कम भएको भन्न नमिल्ने डा। पुन बताउँछन्। उनले भने, ‘पहिलाको जस्तो अस्पताल भरिभराउ नदेखिएको भन्दैमा बिरामी कम भन्न भने मिल्दैन। त्यो बेलाको भन्दा पनि बढी केस हुन पनि सक्छ। पहिला काठमाडौँमा धेरै केस देखिएको थियो, अहिले ललितपुरमा।’
डेङ्गीको संक्रमण कहिलेबाटरु
सन् २००४ मा पहिलो पटक चितवनमा डेङ्गीको केस फेला परेको थियो। त्यस यता क्रमशः वर्षेनी डेङ्गीका केशहरु विभिन्न जिल्लाहरुमा देखिँदै आएका छन्। डेङ्गी सुरुवाती दिनमा भित्रँदै गर्दा नयाँ भएपनि अहिले वर्षेनी रिपोर्ट हुने रोग भएको डा। दाहालले बताए।
उनले भने, ‘यो अरु जस्तो देख देखिँदैमा महामारी नै भयो भन्ने अवस्था हुदैन। महामारी भनेको अकस्मात रुपमा सोचेको भन्दा फरक समयमा धेरै केसहरु फेला परे भने मात्रै भनिने हो। तर यो प्रसंगमा केस रिपोर्टिङ भइरहेको छ।’ सबै भन्दा धेरै केस देखिएको ललितपुरलाई भने आफूहरुले नजिकबाट हेरिरहेको डा. दाहालले बताए।