विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले ०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्। शुक्रवार विभागमा वैदेशिक रोजगार विभागको वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताए।

उनले चालु वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए। उनले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रूपमा लयमा फर्किएको बताए।

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजारभन्दा बढी श्रम स्वीकृत भएको बताए। उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए। महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए।

उनले भने, ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ। अहिले अन्तर्राष्ट्रिय देशहरुको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन। २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं। अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ। यो भनेको रि इन्ट्रि समेतको गरेर हो। यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ। श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ। अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढको देखिन्छ। यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ। अहिले वैदेशिक रोजगारी सन्तोकजन रुपमा अगाडि बढेको देखिन्छ।’

त्यस्तै, महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताए। उनले सबै प्रकारका श्रम स्वीकृति अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीको समय र लागत कम भएको दाबी गरे। महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दापनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउने गरेको बताए। उनले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको जानकारी दिए।

उनले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताए। उनले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताए। पौडेलले दोस्रोमा कतार, तेस्रोमा युएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताए। उनले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको संख्या बढ्न थालेको बताए।

पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको एपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको जानकारी दिए। उनले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताए। त्यस्तै, महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फस्र्याेट ७० प्रतिशत भएको जानकारी दिए। उनले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गरे। उनले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको बताए।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि कानून कार्यविधिमा ठूलो समस्या रहेको बताए। उनले वैदेशिक रोजगारसम्बन्धी ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गरे। महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *