काठमाडौँ – केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले एक खेलअगाबै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको सिरिजको दोस्रो खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै नेपालले सिरिज कब्जा गरेको हो। केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन जोडेको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७८ रन बनाए। ९५ बल खेलेका उनले ७ चौका प्रहार गरे। यस्तै देव खनालले ३७, सोमपाल कामले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, आदिल अन्सारीले १४, करन केसीले ११ बनाए।बलिङतर्फ केन्याका विराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले दुई–दुई विकेट लिए।
२३१ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २१३ रन मात्रै बनाउन सक्यो। उसका लागि रकिप पटेलले ८१, कालिन्स ओबुयाले ३७, नेल्सन ओधियाम्बोले २८, गेरार्ड मुथुईले २० तथा शेम एन्गोचे र नेहिमिह ओधियाम्बोले समान १२ रन बनाए। बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा पवन सर्राफ, आदिल अन्सारी र करन केसीले समान एक विकेट लिए। नेपाल र केन्याबीचको तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ। नेपालले यसअघि भएको पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको थियो।