काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छिन् ।
जबराकी छोरी सुनिधीले आफूहरूको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरूको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताइन् । आइतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरूलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन् ।
देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरूलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको जिकिर गरिन् । उनले भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउने नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरू सरकारले परिचालन गरेको दुःखेसो गरिन् ।
हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरूले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधीले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन् ।
उनले भनिन्, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चाहरू स्कुलमा लिन जानुपर्छ । एउटा बच्चा लिइ आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्यो नि । एकदमै अराजकताको पनि पराकाष्ट छ । अब के कारणले यिनीहरूले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरूलाई चाहीँ एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा चाहीँ नेपाली जनताले बुझिदिनु पर्यो ।’
सुनिधीका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ भएको बुझिएको छ । छोरी सुनिधीका अनुसार उनलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउन समेत नदिएको बताइएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधि सभामा लगाइएको महाभियोग पुष्टि नभएको भन्दै आज (आइतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए । तर, सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।