डेंगु संक्रमण बढ्दो, २३ हजार संक्रमित पुग्दा २९ को मृत्यु

समाचार
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं। डेंगु संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेंगुबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् । यीमध्ये २९ को मृत्यु भएको छ । भयावह रूप लिइरहेको डेंगु नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण छ । कात्तिक अन्तिम सातादेखि डेंगु नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको हो ।

‘अहिले डेंगु ‘पिक’मा छ, अझै एक महिना संक्रमण घट्दैन,’ मन्त्रालयका प्रवक्ता डा.  सञ्जयकुमार ठाकुरले भने, ‘कात्तिकको अन्तिमसम्म भने यो हराउनेछ ।’ उनका अनुसार सरुवारोग विशेषज्ञसहितको टोलीले डेंगुको फैलावट र अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययनले हाल यो उच्च बिन्दुमा पुगेको देखाएको छ । हाल डेंगु सबैभन्दा बढी उपत्यकामा देखिएको छ । यहाँ अझै संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । प्रवक्ता डा। ठाकुरका अनुसार विगतका वर्षमा पनि डेंगु कात्तिकदेखि नियन्त्रणमा आएको थियो ।

२२ हजार ९५२ संक्रमित, धेरै उपत्यकामा
देशभर डेंगु संक्रमितको संख्या २२ हजार नौ सय ५२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २९ पुगेको छ । हाल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंमा सात हजार तीन सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने ललितपुरमा पाँच हजार पाँच सय ८५ पुगेको छ । त्यस्तै, मकवानुपरमा दुई हजार एक सय ३५, दाङमा एक हजार दुई सय ७५, रुपन्देहीमा सात सय आठ, भक्तपुरमा एक हजार ५० जनामा डेंगु संक्रमण भएको छ । यी जिल्ला सबैभन्दा धेरै डेंगु फैलने जिल्लामा पर्छन् । महाशाखाका अनुसार मुस्ताङ र हुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ ।

सबैभन्दा धेरै संक्रमण बागमतीमा
हाल सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा फैलिएको छ । बागमती प्रदेशमा १७ हजार सात यय ३१, लुम्बिनीमा दुई हजार आठ सय २१, प्रदेश १ मा पाँच सय ९१, मधेस प्रदेशमा तीन सय २३, गण्डकीमा पाँच सय १५, सुदूरपश्चिममा सात सय ७७ र कर्णालीमा दुई सय ३० जना डेंगु संक्रमित भेटिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *