राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी -भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ। उहाँ जेठ १८ गते भारत जानुभएको र जेठ २२ गते काठमाडौं फर्किनुभएको हो । रवि लामिछाने भारतको सत्तारुढ दल भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा उहाँले भाजपा नेतृत्वसँग भेटवार्ता गर्नुभएको र नेपाल–भारत सम्बन्ध, दल–दलबीचको संवाद, नेपाली नागरिकका समस्या, विकास रसमृद्धिका विषय लगायतमा छलफल भएको स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा जानकारी दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको बताउनुभएको छ। यो भ्रमण सामान्य पार्टी–टु–पार्टी सम्बन्ध मात्र नभएर अहिलेको राजनीतिक सन्दर्भमा अर्थपूर्ण देखिन्छ। प्रस्तुत छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले सञ्चारकर्मीहरुसँग गर्नुभएको कुराकानी संक्षेपमाः
तपाईंको भारत भ्रमणको मुख्य उद्देश्य के थियो ?
यो भ्रमण भारतीय जनता पार्टीको निमन्त्रणामा भएको पार्टी–टु–पार्टी भ्रमण हो। तर यसको केन्द्रमा केवल राजनीतिक भेटघाट मात्र थिएन, नेपाल–भारत सम्बन्धलाई अर्थ–राजनीति र विकास कूटनीतिका आधारमा अघि बढाउने प्रयास थियो। भ्रमणमा लगानी, सहकार्य, कनेक्टिभिटी, सूचना प्रविधि, खेलकुद, धार्मिक पर्यटन र नेपाली नागरिकका समस्याबारे छलफल भयो।
तपाईंले आफ्नो भ्रमण पारदर्शी भएको भन्नुभयो, कसरी ?
विगतमा उच्चस्तरीय राजनीतिक भेटघाट बन्द कोठामा हुने र बाहिर के कुरा भयो भन्ने अस्पष्ट रहने अवस्था थियो। यसपटक सबै महत्त्वपूर्ण बैठकमा परराष्ट्र मन्त्रालय र नेपाली दूतावासका प्रतिनिधि उपस्थित थिए। त्यसैले भित्र एउटा र बाहिर अर्को कुरा हुने अवस्था थिएन। यो भ्रमण पारदर्शी, स्पष्ट र परिणाममुखी रह्यो।
तपाईं पत्रकार हुँदा सीमा मुद्दा जोडतोडका साथ उठाउनुहुन्थ्यो। भारत भ्रमणमा सीमा विवादबारे कुरा उठाउनुभयो कि उठाउनुभएन ?
सीमा जस्तो संवेदनशील विषय हल्ला गरेर वा ढोल बजाएर समाधान हुने विषय होइन। कूटनीतिक माध्यमलाई सक्रिय बनाएर, सही ठाउँमा, सही समयमा र चरणबद्ध रूपमा यस्ता विषय अघि बढाउनुपर्छ। पत्रकार, अभियन्ता र जिम्मेवार राजनीतिक दलको भूमिका फरक हुन्छ। लोकप्रियताका लागि कराउन सजिलो हुन्छ, तर समाधानका आफ्नै कूटनीतिक प्रक्रिया हुन्छन्।
नेपाल–भारत सम्बन्ध ‘रिसेट’ भयो भन्नुको अर्थ के हो ?
यसको अर्थ सम्बन्धलाई अस्पष्टता, शंका र पुराना अपारदर्शी अभ्यासबाट बाहिर ल्याएर स्पष्ट गन्तव्यसहित अघि बढाउने हो। नयाँ सरकार बनेपछि मित्रराष्ट्रसँग नेपालले लगानी, सहकार्य र विकासका कुन–कुन विषयलाई प्राथमिकता दिन सक्छ भन्नेबारे खुला संवाद भएको छ। यो भ्रमणले पुराना विषयलाई नयाँ ढंगले हेर्ने वातावरण बनाएको छ।
भारतमा रहेका नेपाली नागरिकका समस्या के–कस्ता रहेछन् ?
भारतमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीका समस्या धेरैजसो कागजात, स्वास्थ्य, दूतावास सेवा र दैनिक जीवनसँग सम्बन्धित छन्। सबै समस्या तुरुन्त समाधान हुन्छन् भन्न सकिँदैन, तर नेपाली दूतावास र कूटनीतिक संयन्त्रलाई अझ चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा छलफल भएको छ।
भारतमा तपाईंलाई भाजपाले निकै भव्य स्वागत गर्यो। त्यसको राजनीतिक अर्थ के हो ?
कुनै अतिथिलाई कसरी स्वागत गर्ने भन्ने निर्णय आमन्त्रण गर्ने पक्षको हो। भाजपाले दिएको स्वागतलाई म व्यक्तिगत सम्मानका रूपमा मात्र हेर्दिनँ। त्यो नेपाल र नेपाली जनताप्रतिको सम्मान हो। त्यसमा अनावश्यक रहस्य खोज्नुभन्दा मित्रवत् सम्बन्धको सकारात्मक संकेतका रूपमा बुझ्नु उपयुक्त हुन्छ।
प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषयमा तपाईंको धारणा के हो ?
परराष्ट्र मामिला कुनै दल विशेषको विषय होइन, यो देशको विषय हो। प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेका प्रश्नमा परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा स्पष्ट पारिसकेको छ। सरकारको आधिकारिक धारणा त्यही हो। त्यसैले त्यसभन्दा थप अलग्गै धारणा दिन आवश्यक छैन।
तपाईं भारत गएको विषयलाई लिएर ‘भारतको आशीर्वाद लिन गएको’ र …प्रधानमन्त्री बन्न लागेको’ भन्ने चर्चा छ नि ?
म यसमा धेरै टिप्पणी गर्न चाहन्नँ। निर्वाचनअघि हामीले गरेका प्रतिबद्धता र सहमतिको कागज एकपटक पढ्न आग्रह गर्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, स्थिरताको पक्षमा छौँ। जनताले स्थिर सरकारका लागि मत दिएका हुन् र हामी आफ्नो वाचामा अडिग छौँ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिनुभयो ?
हो, मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु। दुवै पक्ष सकारात्मक देखिनुभएको छ। समय र परिस्थिति मिलेपछि भ्रमण हुने अपेक्षा छ। राजनीतिक दलहरूबीच यस्तो संवाद र निमन्त्रणा आदानप्रदान हुनु स्वाभाविक प्रक्रिया हो।
प्रधानमन्त्री मोदीसँगको भेटमा के कुरा भयो ?
छलफल समृद्धि र विकास कूटनीतिमा केन्द्रित थियो। नेपाल–भारत सम्बन्ध केवल राजनीतिक विवादमा सीमित हुनु हुँदैन। आर्थिक समृद्धि, लगानी, सूचना प्रविधि, खेलकुद, धार्मिक पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य गरेर दुई देशबीचको सम्बन्धलाई व्यवहारिक र परिणाममुखी बनाउनुपर्छ भन्ने विषयमा कुरा भयो।
