धार्मिक स्थललाई आध्यात्मिक विद्यालयका रूपमा विकास गर्नुपर्छ : शिवशक्ति बाबा

समाचार

मोरङ । श्री दिव्य सिद्ध पुरुष परमपुज्य जगतगुरु महाराज शिव शक्ति बाबा मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१० स्थित माङ्लबारे डाँडामा अवस्थित ॐ सियार जम्बोलिङ बज्र गुम्बाको अवलोकन भ्रमणमा पुग्नुभएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ रहेको उक्त गुम्बामा पुगेर उहाँले गुम्बाको वर्तमान अवस्था, संरचना तथा धार्मिक गतिविधिबारे विस्तृत जानकारी लिनुभयो। भ्रमणका क्रममा गुम्बाका गुरुज्यूहरू तथा व्यवस्थापन समितिका सदस्यहरूसँग भेटघाट गर्दै उहाँले आध्यात्मिक चिन्तन, धर्म संरक्षण तथा सामाजिक सद्भावका विषयमा गहन छलफल गर्नुभयो। उहाँले यस्ता धार्मिक स्थलहरूलाई केवल पूजा–आराधनाका केन्द्रमा सीमित नराखी समाजलाई सकारात्मक दिशा दिने आध्यात्मिक विद्यालयका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सोही अवसरमा सुनबर्सी नगरपालिकाका विभिन्न विद्यालयबाट आएका करिब १०० जना विद्यार्थी, शिक्षक तथा शिक्षिकासँग पनि उहाँले अन्तरक्रिया गर्नुभयो। विद्यार्थीहरूले गुरुको दर्शन तथा आशिर्वाद प्राप्त गर्नुका साथै आध्यात्मिक मार्गप्रति प्रेरणा लिने अवसर पाएका थिए। शिव शक्ति बाबाले उनीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै नैतिक शिक्षा, अनुशासन र सकारात्मक सोचको महत्वबारे विशेष सन्देश दिनुभयो। त्यसैगरी, कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूका लागि फलफूल, पेय पदार्थ र पानीको व्यवस्था गरिएको थियो। सहभागीहरूले यसले गुरुको मानवीयता, उदारता र सेवाभाव झल्काएको प्रतिक्रिया दिएका छन्।

गुरु शिव शक्ति बाबाले उक्त गुम्बासहित देशभर रहेका धार्मिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। “यस्ता सम्पदाहरू जोगाउन सके आगामी पुस्तालाई आध्यात्मिक चेतनासँग जोड्न सहज हुन्छ, जसले उनीहरूको सोच र जीवनशैली सकारात्मक बनाउँछ,” उहाँले भन्नुभयो। आध्यात्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय शिव शक्ति बाबा आफ्नो उदार हृदय र सहयोगी भावनाका लागि परिचित मानिन्छन्। विभिन्न सामाजिक, भौतिक तथा नैतिक कार्यहरूमा उहाँले आफ्नै स्रोतबाट उल्लेखनीय सहयोग प्रदान गरिसक्नुभएको बताइन्छ। उहाँलाई हालसम्म ११३ देशबाट निमन्त्रणा प्राप्त भइसकेको छ भने नेपाल र भारतका १०८ भन्दा बढी धार्मिक स्थलहरूको अवलोकन गरिसक्नुभएको छ।

हाल उहाँको मुख्य आश्रम मोरङको लेटाङ नगरपालिका–९ स्थित जातेमा रहेको छ, जहाँ दैनिक सयौँ भक्तजन तथा बिरामीहरू आशिर्वाद लिन आउने गरेका छन्। सामाजिक सञ्जालमार्फत पनि उहाँका गतिविधि तथा सन्देशहरू व्यापक रूपमा फैलिरहेका छन्। यस प्रकारका धार्मिक तथा आध्यात्मिक गतिविधिहरूले समाजमा सकारात्मक ऊर्जा, नैतिकता र सहिष्णुताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Facebook Comments Box