नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी)को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सम्मानित नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताए। उनले देशमा पितृसत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरू कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पारे।
नेता खनालले भने, ‘लैङ्गिक समानतालाई संविधानले स्वीकार गरेको छ, सिद्धान्ततः स्वीकार गरेको छ। तर, अझैव्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै माइल अघि बढ्नुपर्ने हुन्छ। धेरै लामो संघर्ष गर्नुपर्ने हुन्छ। हामीले हाम्रो देशमा पितृसत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरू कायम छन्। ती विभेदलाई अन्त्य गर्नको लागि अब हामीले समाजवादको बाटोमा हिँड्नु बाहेक अर्को कुनै विकल्प छैन। समाजवादले मात्रै हाम्रो समाजमा भएका वर्गीय, शोषणलाई समाप्त हुन्छ। समाजवादमा मात्रै हाम्रो समाजमा मान्छेले मान्छेमाथि गर्ने शोषणलाई समाप्त गर्नसक्छ। आज जुन प्रकारका वर्गीय विभेदहरू छन्, लैङ्गिक विभेदहरू छन्, जातीय, भाषिक, सामाजिक विभेदहरू छन्, ती सम्पूर्ण विभेदहरुको अन्त्य गर्ने भनेको समाजवाद मात्रै हो। महिलाहरूलाई ३० प्रतिशतमात्रै अधिकार दिइएको छ, तर वास्तवमा जनसंख्याको हकले भन्ने हो भने ५१ प्रतिशत जनसंख्या महिलाहरूको छ, बराबरी गर्दा पनि ५० प्रतिशत अधिकार महिलाले पाउनुपर्ने हो। तर त्यो खालको अवस्था अझै समाजमा सिर्जना भइसकेको छैन । समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्छ।’
उनले अहिले देशमा निर्वाचन आइरहेको भन्दै आफ्नो पार्टीले निर्वाचनमा बढीभन्दा बढी महिलाहरू सहभागी गराउने प्रतिवद्धता व्यक्त गरे। उनले अझै पनि पार्टी बलियो नभएका कारण समान रूपमा महिलाको सहभागिता गराउन नसकेको बताए।
नेता खनालले भने, ‘हाम्रासामु अहिले आम निर्वाचन आइरहेको छ, यस निर्वाचनमा बढीभन्दा बढी महिला दिदीबहिनीहरूलाई उम्मेदवार खडा गर्न चाहे प्रत्यक्षमा वा समानुपातिकमा खडा गर्न प्रयत्नशील छौँ। तर पनि पर्याप्त मात्रामा गर्न सकिएको छैन। हामीले पार्टीलाई दरो नबनाइ, ठिक ढंगले गर्न सकिन्न। कुनै पनि संगठन बनाउँदा महिला दिदीबिहिनीलाई प्राथमिकता दिनेछौँ। हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने, प्रशिक्षित गर्ने र जागरुक बनाउने काममा हाम्रो पार्टी लाग्नेछ। आगामी निर्वाचनमा राष्ट्रव्यापीरूपमा होमिनुपर्ने आवश्यकता छ।’ उनले देशमा महिला मुक्ति अभियानलाई अघि बढाउनुपर्ने पनि बताए।