राष्ट्रियताका विषयमा सरकार संवेदनशील बन्नुपर्छ,

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
अजबहादुर मल्ल
नेकपा एमाले, सुदूरपश्चिम प्रदेश कमिटी, सचिवालय सदस्य
अजबहादुर मल्ल नेपाली राजनीतिमा चिनाई रहनु पर्ने नाम होइन । सानैदेखि राजनीतिमा सक्रिय रहनु भएका मल्ल २०४३ सालमा बाजुरा जिल्ला रुगिन गाउँ पंचायतमा विद्रोही बन्दै प्रधान पञ्च उठ्नु भएको थियो । तर आफु सो निर्वाचनमा सामन्तहरुको षड्यन्त्रमा पराजित भएको स्मरण गर्नु हुन्छ । २०४७ सालदेखि कम्युनिष्ट राजनीतिको थालनी गर्दै नेकपा मालेमा आवद्ध हुनु भयो । मल्लसँग २०४८ मा नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको सचिवालय सदस्य रहेर कार्य गरेको अनुभव छ । उहाँ २०४९ मा जिल्ला विकास समिति बाजुराको निर्विरोध सदस्य हुनुभयो र २०५४ सालमा सोही जिविसमा निर्विरोध सदस्य बन्न सफल हुनु भयो । २०१४ सालमा बाजुराको तत्कालीन रुगिन गाउँ पंचायतमा जन्मनु भएका मल्ललाई इमान्दार नेताको रुपमा लिइन्छ । प्रस्तुत छ एमाले नेता अजबहादुर मल्लसँग समसामयिक राजनीतिका विषयमा गरिएको कुराकानीको मुख्य अंशः
मुलुकको वर्तमान अवस्थालाई कसरी लिनुभएको छ ?

मुलुकको वर्तमान अवस्था अयौलग्रस्त छ । कुनै पनि दलले स्पष्ट बहमुत ल्याउन नसकेको अवस्था छ । त्यसैले कुनै एउटा दुईटा दलले मात्र सरकार बनाउन चाहिने सिट ल्याएको छैन । त्यसैले राजनीतिक स्थीरताको लागि अहिले एमाले–माओवादी केन्द्रसहितका दलहरुको सरकार बनेको हो । देशमा राजनीतिक स्थायित्व र अमनचयनका लागि यो गठबन्धन पाँचै वर्ष कायम रहनु आवश्यक छ । अहिलेको अवस्थालाई निहालेर हेर्ने हो भने कुनै पनि दलले एक्लैले स्थायित्व दिन नसक्ने भएको, देश र जनताले आस गरे अनुसारको सरकार बन्न नसक्ने परिस्थितिलाई पार लगाउँदै वर्तमान सत्ता गठबन्धन निर्माण भएको हो । यो गठबन्धनलाई निरन्तरता दिन एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा सहितका दलहरु जिम्मेदार र इमान्दार बन्नु आवश्यक छ । यसबाट मात्र देशमा राजनीतिक स्थायित्व कायम हुनेछ । त्यसैले राष्ट्रिय स्तरका सम्पूर्ण दलहरुको पदको प्रलोभनमा नपरी यो देशका लागि चिन्ता राख्नु पर्ने तड्कारो आवश्यक छ । नेताहरुले कुर्सीभन्दा राष्ट्रियता, राष्ट्रिय एकता, विकास र समृद्धिमा ध्यान दिएमा मात्र राष्ट्रप्रतिको जिम्मेदारी वहन गरेको ठहर्छ । त्यसो त अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीहरुले देखाउनु भएको सक्रियता स्वागत योग्य छ । विकास निर्माण, जनजिविकाका लागि प्रधानमन्त्रीदेखि सरकारी तल्ला तहका कर्मचारी समेत वफादार बन्नुपर्छ ।

एमाले र माओवादी सहितका दलहरुको सरकार गठन भएपछि देशमा राजनीतिक स्थीरता हुँदैन ?

त्यसो त वर्तमान सरकार गठन भए पनि राजनीतिक स्थीरताको सम्भावना अझै कम देखिन्छ । वर्तमान सत्ता गठबन्धनमा एउटै विचार भएका, एउटै सिद्धान्त भएका मात्र छैनन्, फरक फरक विचार, फरक फरक सिद्धान्त, फरक फरक आदर्श भएका छन् यो अवस्थामा यो गठबन्धनलाई पाँचै वर्ष कायम राख्न पहिला नेकपा एमालेले अग्रसरता लिनु जरुरी छ । यो गठबन्धन त्यसै बनेको होइन, गठबन्धन पश्चात एमालेले राष्ट्रपति सभामुख पाउँदै छ । त्यसमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई वर्ष ६ महिना लागि (आधा अवधि) प्रधानमन्त्री बन्नु भएको हो । आधा अवधि एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने सहमति भइसकेको छ । गठबन्धनको सहमति अनुसार एमाले माओवादी केन्द्र सहितका दलहरुको नेतृत्वमा मुख्यमन्त्रि चयन भइरहेका छन् । संघ र प्रदेश दुवैतिर सहमति अनुसारै पदिय भागवण्डा होला, पदीय भागवण्डाका कारण गठबन्धन टुट्ने, फुट्ने नहोस् ।
यो अवस्थामा वर्तमान गठबन्धन अरुका कुरा काट्ने देखि बच्नु पर्ने देखिन्छ । राष्ट्रका लागि इमान्दारीपुर्वक लाग्ने र विचौलियाहरुको कुरा बढी नसुन्ने गरेमा यो गठबन्धन लामो समयसम्म कायम रहन्छ, गठबन्धन सफल हुन्छ ।

यस पटकको निर्वाचन परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हुन त पार्टी विभाजन भएको कारणले मात्र नेकपा एमाले काँग्रेसभन्दा कमजोर देखिएको हो । यो देशमा वामपन्थीहरु एक हुनु पर्ने आवश्यकता यस पटकको निर्वाचनले स्पष्ट पारेको छ । वामपन्थी एकतामा नेकपा एमालेबाटै पहिलो प्रयास गर्नुपर्ने देखिन्छ । यो देशमा कम्युनिष्ट शक्ति बलियो भएमा मात्र देशमा राष्ट्रवादी विकासवादीहरुको जग बस्ने छ । नेकपा एमालेले संघ र प्रदेशमा निर्वाचन हारेको छैन । समानुपातिकमा एमालेले बढी मत पाएकाले जनतालाई एमालेको माया छ भन्ने पुष्टी गर्छ । जुनसुकै षड्यन्त्रलाई पार लगाउँदै एमाले माओवादी सहितको सत्ता गठबन्धनलाई लामो समयसम्म निरन्तरता दिनु आवश्यक छ । यो सत्ता गठबन्धनलाई अर्काे चुनावसम्म कायम राख्नु पर्छ भन्ने हाम्रो मनसाय हो ।

यस पटकको निर्वाचनमा एमालेको सोचे जस्तो परिणाम आएन नि ?

यसै मेसोमा भन्नुपर्दा पार्टी विभाजित भएकै अवस्थामा हामीले चुनावमा भाग लियौं । नेता, उम्मेदवारहरुले एक आपसमा समन्वय नराखेको कारणले हामीले सोचे जस्तो परिणाम आउन सकेन । चुनावको बेला काँग्रेसको नेतृत्वको गठबन्धन थियो । यदि एक्ला एक्लै एमाले र काँग्रेस चुनावमा भाग लिने हो भने कसको हैसियत कस्तो रहेछ भन्ने पुष्टी हुन्छ ।

वर्तमान सत्ता गठबन्धनलाई यहाँले कसरी लिनु भएको छ ?

वर्तमान गठबन्धन समयको आवश्यकता हो । विगतलाई अन्त गरेर गठबन्धन बनाउनु, गठबन्धन टिकाउनु बहादुरी हो । यो गठबन्धनलाई आपसमा विवाद नगरी अर्को चुनावसम्मै कायम राख्नुपर्छ । वामपन्थी एकताबाटै देशमा समृध्दि हुनेछ । हुन त अब पाँच वर्ष एमाले र माओवादी केन्द्रबीच पालैपालो सरकारको नेतृत्व गर्न कसैले रोक्न सक्ने अवस्था छैन । यो गठबन्धनलाई कायम राख्न रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी पनि इमान्दार रहनेछन् भन्ने विश्वास लिनुपर्छ । यो गठबन्धनबाटै देशमा समृद्धि हुनेछ ।

आफ्ना एजेण्डा स्थापित गर्न कसरी अघि बढ्नु पर्ला ?

यसै मेसोमा भन्नुपर्दा आ–आफ्नो एजेण्डा स्थापित गर्न वर्तमान सत्ता गठबन्धनका दलबाट प्रयास हुने नै छ । गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले एमालेले आफ्ना एजेण्डा स्थापित गर्न प्रयास गर्ने नै छ, लाग्ने नै छ । सरकार भित्र र बाहिर सबै तहबाट एमाले आफ्ना एजेण्डा स्थापित गर्न लाग्ने छ । किन किन गठबन्धनको सफलता–असफलताको जस अपजस एमालेले लिनुपर्ने भएकोले पहिले राम्रा काम गर्न एमाले नेतृत्व गम्भीर र सक्रिय हुन जरुरी छ । हामी तल्ला तहका कमिटी केन्द्रले दिएका निर्देशन सहृदय मान्न तयार छौँ ।

अब एमालेले कस्तो रणनीति अख्तियार गर्नुपर्ला ?

नेकपा एमालेले सबैभन्दा पहिला सम्पूर्ण वामपन्थीलाई एक बनाउन प्रयास गर्नुपर्छ र यसभन्दा अघि आफ्नै पार्टीमा पनि सबै तहमा एकतावद्ध बनाउनुपर्छ, राष्ट्रिय हितका लागि एमालेले पहिला अग्रसरता लिनुपर्छ । एमालेकै कारण देश समृद्ध बन्दैछ, विकास हुदैछ । त्यसैले यस विषयमा पार्टीको हरेक तहका नेता, कार्यकर्ता गम्भीर हुनु पर्छ । एमालेलाई सम्पूर्ण रुपले बलियो बनाउने हामी सबैको जिम्मेवारी हो ।

त्यसमा व्याप्त भ्रष्टाचार अनियमितता रोक्न के के गर्नु पर्ला ?

देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित निकायलाई पहिला अग्रसर बनाउनुपर्छ र भ्रष्टाचार नियन्त्रण गरिनु पर्छ । भ्रष्टाचारीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ । यहि नियम कानुनले भ्रष्टाचारीलाई कारवाही गर्न दिँदैन भने नियम कानुन परिवर्तनमा लाग्न जरुरी छ ।

देशमा व्याप्त महँगीलाई यहाँले कसरी लिनु भएको छ ?

यसै मेसोमा भन्नु पर्दा देशमा व्याप्त भएको महँगीले जनताले नून किन्न समेत गाह्रो परिरहेको छ । त्यसैले महँगी नियन्त्रण गर्न सरकारी अग्रसरता देखाउनु पर्छ । महँगी नियन्त्रण भएमात्र गरिब जनताले नुन, तेल, चामल किन्दा केही राहत मिल्ने छ ।

वर्तमान सरकार पाँचै वर्ष कायम रहला ?

देशमा राजनीतिक स्थीरता कायम गर्न यो वर्तमान गठबन्धन पाँचै वर्ष कायम रहनु पर्छ । त्यसभन्दा पहिला जनतालाई विश्वास दिलाउनु पर्छ । यो सरकारले जनहितका काम गर्दै अघि बढ्नु पर्छ । शान्ति, स्थीरता, विकास, राष्ट्रियताका विषयमा सरकार थप संवेदनशील बन्नु पर्छ ।

अन्तमा देशवासीलाई सन्देश दिनुस न ?

यति बेला सम्पुर्ण जनता, राष्ट्र र राष्ट्रियताका लागि सजग हुनु जरुरी छ । आसमा मात्र बस्ने होइन । राष्ट्र राष्ट्रियताका लागि आ–आफ्नो ठाउँबाट आवाज उठाउनु पर्छ । जनताका समस्या समाधान गर्न सरकारलाई झक्झकाउनु आवश्यक छ । हामी सजग भएमात्र राष्ट्रियता बलियो हुन्छ, विकास हुन्छ, देश समृद्ध हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *