गृहमन्त्रीकाे दावी: विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ- उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षा, स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको बताए। गृहमन्त्री लामिछानेले भने, ‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले ऐन, कानुन ल्याएर छलफल गर्नुपर्ने थियो। यसमा विगतमा हामी धेरै चुक्यौ भन्ने लाग्छ। दलबाट चुनिएर आए पनि दलभन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छौँ। लाभहानी हेरेर काम नहोस्। जनताका मर्म नभुली काम गरौँ। त्यो पनि प्राथमिकता छुट्याएर।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धतिभन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहनुभएका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए।

उनले भने, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन। यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ। विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ। गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन। हामीले विधि र पद्धति स्थापित गर्छौँ भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ।’ गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधिसभाको सभामुखमा विजयी गराउनसमेत सांसदहरूसँग आग्रह गरे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *