श्रीराम श्रेष्ठ
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे तेस्रो राष्ट्रपतिका रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतले पराजित गर्दै पौडेल मुलुकको सर्वोच्च पदमा पुग्न सफल भए । पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गरेका छन् भने नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाए । कूल ८ सय ८२ मतमध्ये संघतर्फ ३ सय १३ र प्रदेश सभातर्फ ५सय १८ मत गरी कूल ८ सय ३१ मत खसेको थियो । संघको मतभार ७९ रहेको छ भने प्रदेशको ४८ मतभार रहेको छ । पौडेलले संघतर्फ दुई सय १४ मत अर्थात् १६ हजार ९ सय ६ मतभार र प्रदेशतर्फ तीन सय ५२ मत अर्थात् १६ हजार आठ सय ९६ गरी कुल ३३ हजार ८ सय दुई मत प्राप्त गरेका छन् । यो कूल मतभार ५२ हजार ६ सय २८ को ६४।२२ प्रतिशत हो । राष्ट्रपति निर्वाचित हुन तत्काल कायम रहेको मतभारको बहुमत २६ हजार ३ सय १५ मत आवश्यक थियो । आवश्यकता भन्दा ७ हजार ४ सय ८७ बढी मत प्राप्त गरेर पौडेलले दुई तिहाई नजिकको विजय हासिल गरेका छन् । पौडेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले मत दिएका थिए ।
रामचन्द्र पौडेल कांग्रेसभित्र सरल स्वभाव, सादगीपूर्ण जीवन र स्वच्छ छवि भएका नेता हुन् । समकालीन राजनीतिका कैयौं नेताहरु भ्रष्टाचार र अनियमिताताको आरोपमा मुछिए पनि लामो राजनीतिक जीवनमा पौडेल भ्रष्टाचार जन्य कुनै विषयमा मुछिएका छैनन् । एक पटक सभामुख र पाँच पटकसम्म प्रभावशाली मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका उनले पार्टीभित्र वैचारिक राजनीतिको वकालत गर्दै आइरहेका छन् । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि करिब ६ वर्ष उक्त समूहको नेतृत्व गरे तर १४ औं महाधिवेशनदेखि पार्टीभित्र कुनै समूहमा लागेनन् । आफूले नेतृत्व गरेको समूह शेखर कोइरालामा सरेपछि गुटगत राजनीतिबाट अलग भएर व्यावहारिक राजनीतिमा मध्यमार्गी बने । नेताहरूको अन्तरद्वन्द्वका कारण पार्टी विभाजन हुने अवस्थामा पुग्दा उनले अपनाएको मध्यमार्गी धार अन्ततः उनको पहिचान बन्यो । मध्यमार्गी र सादगीपूर्ण निरन्तरताको पहिचान आफ्नै पार्टी कांग्रेस र अन्य सहयोगी दलहरुको लागि पनि राष्ट्रपतिको रुपमा पौडेल स्वीकार्य बन्न पुगे । दुई–दुई पटकको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेयता फरक धारमा अघि बढिरहेको राजनीति राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ध्रुवीकरण भयो । यसको मुख्य कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २६ मा प्रतिनिधिसभामा आफूले गरेको संसद् विघटनको बचाउ र भावी संकेतले उत्पन्न गरेको संशय थियो । पुस १० मा सरकार निर्माण हुँदा छुटिसकेका दलहरू फेरि एक ठाउँमा आइपुगेर नयाँ समिकर बनेपछि पौडेलको राष्ट्रपति चयन सुनिश्चित् बन्न सक्यो ।
करिब आठ दशकअघि तनहुँ जिल्लाकोे ग्रामीण क्षेत्र बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले लामो समय नेपालको राजनीतिको उतारचढाव भोगेका छन् । पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक—पटक मन्त्री बने । तर कार्यकारी पदमा पुग्ने उनको लक्ष्य अधुरो नै रहन गयो । पौडेलले यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा नगरेका होइनन् । गत असोजबाट ७८ वर्ष पूरा भएका पौडेलको राजनीतिक तथा निजी जीवन उतारचढाव पूर्ण रहेको देखिन्छ । पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक—पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन् । तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाण्डूमा आएका थिए । पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको उनी निकटहरूको भनाई छ । तर उनी कम्युनिस्ट राजनीतिमा आबद्ध भएका छैनन् । संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौं पुस्तक समेत लेखेका छन् ।
राजनीतिक जीवनको उत्तराद्र्धमा गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न पौडेललाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले साथदिए । तर राजनीतिमा पौडेल र देउवाबीच सहकार्य र अविश्वासको शृङ्खला धेरै लामो छ । लामो समय कांग्रेस संस्थापक मध्येका नेता कृष्णप्रसाद भट्टराईसँग निकट रहेका पौडेलले सरकारमा जाने विषयमा मतान्तर भएपछि भट्टराईको साथ छाडेको देखिन्छ । उनी गिरिजाप्रसाद कोइराला समूहसँग पनि निकट नभएका कारण स्वाभाविक रूपमा पार्टीमा फरक गुटको नेतृत्व गरिरहेका शेर बहादुर देउवासँग नजिक हुन पुगेका थिए । तर वि.सं २०५९ सालमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस विभाजन हुँदा पौडेलले देउवाले पार्टी घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै साथ नदिने निर्णय लिएका थिए । नेपाली कांग्रेस पुनः एकीकरण भएपछि भने पौडेल कोइराला समूहसँग निकट भए र देउवासँग उनको राजनीति प्रतिस्पर्धात्मक बन्दै आइरहेको देखिन्छ ।
पौडेल २०४८ सालमा पहिलो पटक मन्त्री बनेका थिए । पौडेलले पार्टीको १३ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेर बहादुर देउवासँगै प्रतिस्पर्धा गरे । पौडेल र देउवाबीचको रोचक प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा भएको मतदानमा देउवा निर्वाचित भएका थिए । लगत्तै कांग्रेस संसदीय दलको निर्वाचनमा पनि पौडेलले देउवासँग प्रतिस्पर्धा गरे तर पराजित भए । देउवा र पौडेल नेतृत्वको गुट कांग्रेसको १४औँ महाधिवेशनसम्मै कायम रहिरह्यो । कांग्रेसको १४औँ महाधिवेशनमा पौडेल तटस्थ रहँदा देउवा निर्वाचित भए । पौडेलले आफ्नै पुरानो गुटका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह दुवैलाई समर्थन नगर्दा गुटभित्र उनको आलोचना समेत भएको थियो । प्रतिनिधिसभाको सभामुख र पटक पटक मन्त्री समेत भइसकेका रामचन्द्र पौडेल शान्ति समितिको संयोजक समेत भएका थिए । वि.सं २०४८ सालमा पहिलो पटक सांसद बनेका पौडेल त्यसपछिका लगातार चार वटा निर्वाचनमा तनहुँबाट निर्वाचित भए । तर २०७४ को संसदीय निर्वाचनमा पौडेल पराजित हुनपुगे । पहिलो संसदीय निर्वाचनमा सफल भएपछि पौडेल स्थानीय विकासमन्त्री भए । उनी मन्त्री भएका समयमा संसद्मा उपस्थित भएका बेला राष्ट्रिय सभामा उनीमाथि गोल्छे सार्कीले हातपात गरेको बताइन्छ ।
राज्यसत्ताको लामो अनुभव र पटक–पटक अवसर पाए पनि पौडेल समकालीन नेताहरूमा भ्रष्टाचार र अनियमिताबाट बचेका सादगी नेता हुन् । समाजवादी चिन्तक र मध्यमार्गी नेता उनको पहिचान बनिसकेको छ । २०४८ सालयता भएका ७ वटा निर्वाचनमा ०७४ को एक कार्यकालबाहेक निरन्तर रुपमा संसदीय राजनीतिमा सक्रिय रहेका पौडेल अहिले देशको राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगेका छन् । पौडेल संसदीय व्यवस्थाका हिमायती हुन् । संविधान निर्माण हुँदैगर्दा ‘राष्ट्रपतीय व्यवस्था’को पक्षमा उभिँदै तत्कालीन समयमै ‘आलंकारिक राष्ट्रपति’को वकालत गरेका पौडेलले राष्ट्रपतीय व्यवस्था अधिनायकवादी वा सर्वसत्तावादी शैलीमा अघि बढ्न सक्ने खतरा देखाउँदै संसदीय व्यवस्थाको वकालत गरेका थिए । आज उनी यसै पदको जिम्मेवारी वहन गर्ने स्थानमा पुगेका छन् ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलले प्रतिवद्धता जोहर गर्दै भनेका छन् —‘राष्ट्रपति–संस्थ’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् । राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’ यो प्रतिवद्धता पुरा गर्ने तर्फ पौडेलले खरो व्यवहारिकता प्रस्तुत गर्नुपर्ने छ । किनभने अघिल्लो राष्ट्रपतिको पदीय हैसियतमा जस्तो कृयाकलाप र व्यवहार देखियो त्यसले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको मर्म र भावनालाई निर्मम प्रहार गरेको घाइते बनाएको छ । राष्ट्रपतिको आलंकालिक र सेरेमोनिय छवि र संवैधानिक व्यवस्था विपरित सक्रियता र शक्ति संचयको झल्को दिनेगरी अघिल्लो राष्ट्रपतिबाट भएको अभ्यासबाट समग्र मुलुक त्रसित बनेको थियो । यो गम्भीर अवस्थाको रुपान्तरण र गरिमामय निष्पक्षता पदीय हैसियतको राष्ट्रपतिको छवि सुधार्नुपर्ने जिम्मेवारी पनि पौडेलको सामू देखिएकोले उनले गरेको प्रतिवद्धता पुरा गरेरै देखाउनु पर्छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संसद् विघटन गर्दा अग्रमोर्चामा रहेर विरोध गर्नेमध्येका नेता नै अहिले संविधानको संरक्षण गर्ने ओहोदामा पुग्नु एउटा राम्रो संयोग बनेको छ । संघर्ष, योगदान र उचाइ सबै दृष्टिले राष्ट्रपतिमा पौडेल समकालीन नेताहरूभन्दा योग्य नेता हुन् । अन्य राजनीतिक दलका लागि पनि उनीजत्तिको उचाइ भएको नेतालाई राष्ट्रपति बनाउँदा उक्त पदको मर्यादा र गरिमा बढेकै महसुस हुनुपर्छ । अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारी पटक—पटक विवाद र शंसयको घेरामा परिन् । राष्ट्रपति जस्तो मर्यादित र निष्पक्ष संस्थाले आफ्नो गरिमा, विश्वसनीयता र निष्पक्षता जोगाउन नसकेर चौतर्फी आलोचित बनेको उदाहरण ताजै छ । राष्ट्रपति भण्डारीद्वारा संविधान–कानुनविपरीतका जुन कर्म भए, पौडेलले ती विगतलाई खराब इतिहास सावित गर्नुपर्दछ । संवैधानिक राष्ट्रपतिको दृष्टान्त पेश गर्नुपर्ने उदाहरणीय जिम्मेवारी उनीमा छ । यो गुम्दै गएको राष्ट्रपतिको गरिमा र मर्यादा कायम राख्ने अवसर र चुनौती यतिबेला रामचन्द्र पौडेको काँधमा छ । यो संवैधानिक र व्यवस्थाको मर्यादा जोगाउन कार्यकाल सफल रहोस् भन्ने नयाँ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने तयारी गर्नुभएका रामचन्द्र पौडेल ज्यूमा हार्दिक शुभकामना ।