सनातन वैदिक सभ्यताको वर्णाश्रम व्यवस्था लागुहुनु अगावै देखि सन्यासीको आ–आफ्नो अलग–अलग मठ, आश्रम र पहिचान थियो । ज्योर्तिपीठका प्रथम शंकराचार्य स्वामी त्रोटकका चेला नारायण गिरीले दिक्षित गरेका सन्यासीहरुलाई ‘गिरी’ को पद नाम धारण गराइएको थियो । गिरीहरु शौनकी शाखाको कौशिक सूत्र परम्परा अन्तर्गत पर्दछन् । दशनामी सन्यासी समुदायमा सबैभन्दा धेरै मढी भएको हाँगा ‘गिरी’ नै हो । ज्योर्तिपीठसँग सम्बन्धित सन्यासी भएको कारणले यिनीहरुको मुख्य गोत्र ‘भृगु’ हो । सन्यास धर्म अनुसार जुनसुकै जात, वर्ण वा संस्कारबाट आएपनि सन्यास धारण र दिक्षा ग्रहण गरेपछि सन्यासी हुने विधान रहेको छ । यसकारण गिरी सन्यासीहरुले कुनै दुविधा र विचलनलाई छोडेर मठ संस्कृतिको जगेर्ना गर्दै सन्यासी धर्म, कर्म र आचरणलाई पालना गर्नु नै परम धर्म हो ।
काठमाडौं जिल्लाको पश्चिम् भेगको उत्तरी दिशामा हालको चन्द्रागिरी नगरपालिका वडा नं १ मा दहचोक वडारे गाउँक्षेत्र पर्दछ । वर्षौंदेखि सोही क्षेत्रमा पुख्र्याैली थलोका रुपमा गिरी थर रहेका सन्यासीहरुको बसोबास रहँदै आएको छ । त्यसमध्ये तत्कालीन समयमा वडारेपाखाको पूर्वमा ठुलोखोला र पश्चिममा व्युँडोल डाँडाघर वरपर सीमाना र आसपास क्षेत्रलाई साठीघरे गिरीहरुको पुख्र्यौली थातथलो मानिन्छ । शुरुवाती समयमा गुठी निर्माण गर्दा साठी घर रहेकाले तेसबेला साठीघरे गिरीहरु भनेर सम्बोधन गरिएको थियो । साठीघरे दाजुभाईको क्रमानुसार झिंगटीघर, तल्लो घर, माथिल्लो घर र नयाँघर टोल गरी चार टोलका दाजुभाई खलक साठीघरे गिरीमा पर्दछन् । यस क्षेत्रमा गिरीहरुले कहिले देखि बसोवास गर्न शुरुगरे, गिरीहरुको पितापुर्खा कहाँबाट यस क्षेत्रमा आए भन्ने स्पष्ट इतिहास प्रमाण भेटीएको छैन । प्राप्त प्रमाणमा उल्लेख भए अनुसार काँदर गिरीबाट बंश शुरुभएको हो । उनै काँदर गिरीले वि.सं १७८४ तिर भास्तिपुरमा भेटिएकी विजया नाम गरेकी ब्राम्हणकी छोरीसँग विवाह गरी दहचोक वडारेमा बसोवास गरेको र यि दुईबाट बंश वृद्धि भएको भनिएको छ । यहाँनिर एथेष्ट रुपमा ऐतिहासिक प्रमाणहरु नभेटिएको र थाहा नभएता पनि विं.सं १७८४ ताका नै वडारे क्षेत्रमा गिरी सन्यासीहरुको बसोवास रहेको तथ्यलाई भने मान्न सकिन्छ । वर्तमान समयसम्म यिनै साठीघरे गिरीहरुले आफ्नो बंश परम्परा, संस्कार र संस्कृतिहरुलाई निरन्तर रुपमा अँगाल्दै आइरहेका छन् । जन्मदेखि मृत्यु समयसम्म गरिने संस्कारमा निरन्तरता रहीआएको छ । तर पूर्ण रुपमा १६ संस्कारको विधि हिजोआज सम्पन्न गर्ने प्रचलन हराउँदै गएको छ । गिरी सन्यासीका १६ ओटा संस्कारहरु पर्दछन् । जसमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा अन्त्येष्टि । गर्भाधानदेखि विद्यारम्भसम्मका संस्कारहरुलाई गर्भसंस्कार पनि भनिन्छ । पहिलो तीन संस्कारहरु गर्भाधान, पुंसवन र सीमन्तान्नयनलाई अन्तर्गर्भ संस्कार तथा यसपछिका छ संस्कारहरुलाई वहिर्गर्भ संस्कार भनिन्छ । गर्भ संस्कारलाई दोष मार्जन अथवा शोधक संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कार कुनैपनि शिशुमा पूर्वजन्मबाट आएको धर्मकर्म सम्बन्धी दोष तथा गर्भमा आउने विकृतिलाई मार्जन गर्नका लागि गरिने संस्कार हो । पछिका छ वटा संस्कारहरुलाई गुणाधान संस्कार भनिन्छ । गुणाधान संस्कारद्वारा दोषमार्जन गरिएपछि मानिसमा सप्तगुणको अभिवृद्धि हुने उल्लेख छ ।
सनातन हिन्दूधर्म संस्कृति र परम्परा अनुसारका दशैं, तिहार, एकादशी, शिवरात्री, कृष्ण जन्माष्टमी हरितालिका, लागायतका चाडपर्वसँगै साठीघरे गिरीहरुले मान्दै आएको देवली पुजा एउटा मुख्य संस्कृति हो । देवली पूजालाई कुल देवताको पूजा पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष चण्डीपूर्णीमाको दिनमा देवली पुजा गर्ने प्रचलन छ । देवलीमा कुलदेवताका रुपमा नृसिंह, काली, इष्टदेवी जालपा देवी, गोरेल र वायु देवताहरु तथा तेत्तिसकोटी देवतालाई तन्त्र विधिद्वारा पूजा गरिने प्रचलन रहेको छ । त्यसैदिन इष्टदेवी जालपा देवीलाई पशुबली सहित पूजा चढाउने गरिन्छ । नुवाकोटको पवित्र तिर्थस्थल देवीघाटको जालपा देवी गिरीहरुको इष्टदेवी वा कुलदेवी हुन् । देवलीको दिनमा कुल घरदेखि कुलदेवता, देवी र वायु देवताका रुपमा धामी नचाउने चलन रहिआएको छ । करिव वि.सं १९७१÷७२ देखि देवली पूजाको शुरुआत भएको हो । कुल देवताको पुजालाई प्रकृति पुजाको रुपमा पनि लिन सकिन्छ । अग्नि, वायु, भूमि, र रुद्रका विभिन्न तेत्तिसकोटी स्वरुपका देवताका रुपमा प्रतिष्थापन गरी भित्र्याइएका नयाँ अन्न बालीनालीबाट परिकार बनाएर चढाइन्छ । देवली पुजाको माध्यमबाट वर्षभरी प्रकृतिलाई वर्षा र सुरक्षाकोको लागि आह्वान गरिन्छ । साथै अकाल मृत्युबाट तर्न नसकेका मृतआत्मा र प्राकृतिक विपत्ति तथा प्रकोप नियन्त्रण गर्न समेत देवली पूजाको महत्व रहेको मान्यता रहीआएको छ । यससँगै वर्षभरी नै हरेक पूर्णिमाको दिनमा नित्य पुजा गरिन्छ भने चाडपर्व र घरमा विषेश अनुष्ठान वा कार्म हुँदा पनि कुलदेवताको पूजा गरिन्छ । समयको क्रमसँगै हाल गिरीहरुको बंशवृद्धि र समयनुकुल वसाईसराइको कारण देशभर तथा विदेशमा समेत गिरीहरु फैलिन पुगेका छन् । परम्परगत कृषि, व्यापार र रोजगारीको अवस्थाहरुमा परिवर्तन र रुपान्तरण भइरहे पनि थातथलोमा गिरी सन्यासीहरुले आफ्नो बंश परम्पार अनुसारको संस्कृतिलाई अवलम्वन गरिरहेका छन् । यद्यपि समय र देशकाल परिस्थिति अनुसार धर्म र संस्कार पालनामा क्रमकि रुपमा बाह्य र आधुनिक शैलीगत परिवर्तनको प्रभाव यहाँ पनि परिरहेको छ । यसकारण पनि गिरी सन्यासीहरुले आफ्नो धर्म–संस्कार, संस्कृति र परम्परालाई अक्षुण राख्नु आवश्यक हुन्छ । जसले आफू र अफ्नो बंश परम्परालाई जान्दैन, उसले कसैलाई जान्दैन । यसकारण आफ्नो कुल, बंश, परम्परा र संस्कृतिलाई मूलरुपमा बुझ्नु, जान्नु र पालना गर्नु पर्दछ । सम्भव भएसम्म हामी कहाँबाट आयौं, हाम्रो पौराणिक र ऐतिहासिक पृष्टभूमि केहो भनेर जान्ने कोशिश गर्दै हामी पुग्नुपर्ने गन्तव्य कहाँ हो ? कस्तो धर्माचरण पालना र कर्महरुलाई निरन्तरता दिएर लक्ष्य वा गन्तव्यको निर्धारण गर्न सकिन्छ, जसबाट गिरी सन्यासीहरुलाई गतिशील र व्यापकता हासिल गर्न सहज मार्ग भेटियोस् र सोही मार्गबाट हामी स्वयं को हौं र हाम्रो समूल परिचय के हो ? भन्ने ज्ञात हुनसक्छ । यो नै हाम्रो मूल लक्ष्य र उद्देश्य भएकाले सनातन सन्यास धर्मकर्मको पौराणिक एवं प्राचीन इतिहासलाई बुझ्नै पर्ने हुन्छ ।
गिरी सन्यासी उत्पत्ति र संस्कार
शास्त्रहरुमा उल्लेख भएअनुसार जसले सन्यास कर्म धारण गरेर व्रम्हचर्य नियम पालना गरेका छन्, तिनैलाई ‘सन्यासी’ भनिएको छ । धर्मशास्त्र ग्रन्थहरुको अध्ययन गर्ने हो भने पृथ्वीको सुरुआतसँगै स्वयम्भूले जल प्रकट गरेकाले जललाई नार र नारबाट नारायणको उत्पत्ति भएको उल्लेख छ । एवंप्रकारले नारायणबाट ब्रम्हा, ब्रम्हाबाट श्रृष्टि बढाउन मनुको उत्पत्ति भयो । मनुबाट दश महर्षिहरु मरिचि, अत्रि, अंगीरा, पुलस्थ, पुलह, ऋतु, प्रचेता, वशिष्ठ, भृगु र नारद आदिको उत्पत्ति भयो । यिनै ऋषिमुनीद्वारा पृथ्वीमा जिवात्माहरुको उत्पत्ति भएको भन्ने मनुस्मृतिमा उल्लेख गरिएको छ । हाम्रा गोत्रहरु यिनै दश ऋषिहरुका नामसँग जोडिएकाले हाम्रा पुर्खाहरुको पुख्र्यौली पनि यिनै ऋषिहरु हुन् । आद्य गुरु शंकराचार्यको जीवनी ग्रन्थमा पनि शंकराचार्यका गुरु गोविन्दपादको कथनअनुसार ‘सन्यासी’ गुरु परम्परामा शुरुमा नारायण त्यसपछि ब्रम्हा, ब्रम्हापछि, वशिष्ठ त्यसपछि शक्ति, शक्ति पछि परासर, व्यास, स्वामी शुकदेव (कतिपय ग्रन्थहरुमा गौश्वामी शुकदेव पनि पाइन्छन् ) उनीपछि क्रमशः गौडपाद, गोविन्दपाद र त्यसपछि उनैका चेला शंकर, शंकरबाट गुरुकूल र गुरुहरुको शिक्षादिक्षा र भगवान शिवको आराधना र अध्ययनबाट आठ वर्षको उमेरमा भगवान शंकराचार्य भनि कहलिएका थिए । यिनै गुरु शंकराचार्यले भारतवर्षमा चार दिशामा पर्नेगरी चार मठ र चार शंकराचार्य (जगतगुरु) हरुको स्थापना गरेका थिए । त्यसपछि क्रमकि रुपमा मठका साथै विभिन्न अखडाहरु स्थापना हुँदैगए । तिनै मठ तथा अखडाहरुका सन्यासीहरुलाई नै गृहस्थाश्रममा आबद्ध भएपछि सन्यासी वर्ग वा जातका रुपमा वर्गीकरण गरी तिनका सन्तान समेत सन्यासी जाति बनेका हुन् ।
आदिगुरु शंकराचार्यले नै ब्रह्मवाद (अद्वैतवाद) दर्शनको प्रादुर्भव गर्नुभएको थियो । उनै शंकराचार्यले सनातन हिन्दू वैदिक आर्यधर्मको रक्षा गर्नको लागि भारतवर्षमा गोवद्र्धन मठ, ज्योतिर्मठ, श्रृंगेरी मठ र शारदा मठ गरी मुख्य चार क्षेत्रमा चार प्रकारका मठ स्थापना गर्नुभयो । सन्यासी अखडाहरुमा उत्तर भारतको उत्तराञ्चल राज्यमा बद्रीनाथ धाममा ज्योतिर्मठ स्थापना गरी स्वामी त्रिटकाचार्यलाई मठाधीश नियुक्त गर्नुभयो । मठाधीशका तीन सहयोगीहरु नारायण गिरी, पूर्ण पर्वत र राम सागर भन्ने नियुक्त भए । नवौं शताब्दीमा आदिगुरु शंकराचार्यले भारतको उत्तराखण्डको यात्रा शुरु गरेका थिए । उनको यात्राको मूल उद्देश्य बुद्धधर्मलाई विस्थापित गरी पूर्णतया हिन्दू धर्मलाई प्रतिस्थापित गर्नु रहेको थियो । शंकराचार्यको आगमन पश्चात् बौद्धमार्गी पुजारीहरुका सट्टामा बदरीनाथमा भगवान नारायणका निमित्त र केदारनाथमा समेत भगवान शंकरका निमित्त सधैंका लागि दक्षिण भारतका पुजारी स्थापित गरिएका थिए । त्यस पछिका समयमा नेपालको पशुपतिनाथमा समेत दक्षिण भारतीय मूल पुजारी अद्यापि रहन गएका थिए । शंकराचार्य ईस्वी संवत् ७८८ मा जन्मभई ई.सं ८२० मा ३२ वर्षको उमेरमा देह त्याग गर्नुभएको थियो । भारतमा झैं नेपालमा समेत चार मठको स्थापना गरियो । ती मध्येको एक मठ भक्तपुर दुवाकोटमा अवस्थित केदारनाथको शिर भनिएको वा मानिएको डोलेश्वरनाथको मन्दिरमा मठ स्थापित गरी दक्षिण भारतीय मूलका जंगम थरका मुख्य पुजारी वा मठाधीश नियुक्त गरिएको थियो । दशनामी वा सन्यासी जाति भने भारतका चार मठका साधु जोगी, मठाधीश गृहास्थाश्रममा प्रवेश गरिसके पछिका सन्ततिहरु हुन्, जो अधिकांश केदारनाथ र बदरीनाथ मठका साधुहरुका सन्ततिहरु पूर्व लाग्दै आएर नेपालभरि छरिन पुगेका हुन् । यसरी आएका मध्ये अधिकांशका थर गिरी हुने गर्दछन् । एउटै उपशाखा अथवा मढी का ब्यक्तिहरु बीच विवाह गर्न मिल्दैन । विवाहको समय मढीको बारेमा जानकारी लिनु पर्दछ । एकै मढीको ब्यक्तिको आपसमा विवाह सम्भव हुँदैन किनकी मढीनै कुलगोत्र हो भनिएको छ । एकै मढी अथवा कुलगोत्रको ब्यक्ति गुरुभाइ भनिन्छ । ऋषिगोत्रमा भने विवाह गर्न सकिन्छ । मढीबाट कुलको बारे थाहा हुन्छ ।
दशनामि सन्यासीहरुका ५२ मढी वा कुलगोत्र रहेका छन् । जसमध्ये गिरीका २७ मढ, पुरीको १६, बनको ४, भारतीको ४ र बेदगिरी लामाको तिब्बतमा १ मढी रहेको छ । तिर्थ, आश्रम, अरण्य, पर्बत, सागर तथा सरस्वतीका कुनै मढी छैनन् । सन्यासी जातिका थरहरुमा गिरी, पुरी, भारती, आश्रम, बन, आरण्य, तीर्थ, पर्वत, सागर र सरस्वती गरी दश थरहरु भएकाले दशनामी समेत भन्ने गरिन्छ । सन्यासी मठहरु स्थापित हुने क्रममा तिव्र विकास हुँदै जाँदा नेपालमा पनि पशुपतिनाथमा शंकराचार्य मठ, थापाथलिमा सन्यासी मठ, चितवनमा गलेश्वर आश्रम र सुदूरपश्चिम् नेपालमा हलेसी महादेव मठको स्थापना भयो । यिनै मठका सन्यासीहरुले गृहस्थाश्रममा प्रवेश गरी घरजम गरेकाहरुका सन्तानले दशथरी थर लेख्ने गरेको कारण पनि सन्यासीका दसनामी भन्ने गरिन्छ । सन्यासीले अन्य जातकी स्त्रीसँग विवाह गर्नुपरेमा कान फुकेर मन्त्रद्वारा दीक्षित भएपश्चात् मात्र विवाह गरिन्छ र सो स्त्री पनि सन्यासी जातकी बन्न पुग्छिन् । सन्यासीहरुका मठलाई पीठ समेत भन्ने गरिन्छ भने मुख्य व्यक्तिलाई पीठाधीश वा आचार्य समेत भन्ने गरिन्छ । शैवधर्म परम्परा मान्ने दशनामीहरु जनैधारण गर्ने गर्छन् भने जनैधारण गर्दा रुद्राक्षसहितको धारण गर्ने गर्छन् । दशनामी सन्यासी जातिभित्र पनि ११ पन्थी र १२ पन्थी रहने गरेका छन् । सन्यासी जातिमध्ये सरस्वती, भारती र पुरीले आफ्नो सम्बन्ध शंकराचार्यद्वारा स्थापित श्रुंगेश्वरी मठसँग रहेको बताउने गर्छन् भने बन र आरण्यको सम्बन्ध उडिसाको जगन्नाथपुरीसँग रहेको भन्ने गर्छन् । यस्तै तीर्थ र आश्रमको सम्बन्ध भारत गुजरात राज्यस्थित मठ शारदा मठसँग रहेको छ । गिरी, पर्वत र सागर लेख्ने गरेका सन्यासीहरुको सम्बन्ध हिमाली, पर्वती क्षेत्रमा रहेको ‘जोशिमठ’ अर्थात् ज्योतिर्मठसँग रहेको छ । हिन्दूधर्मको स्थापित मठहरुका सन्यासी वर्गसँग आफ्नो पुख्र्यौली अस्तित्व जोडेर हेर्ने गरेकाले सन्यासीहरु आफ्ना पूर्वजहरुले झैँ मृत्युपश्चात् शवलाई समाधिस्थ गराउने गर्छन् । जल समाधि वा थल समाधि गराउँदा शवलाई नसुताई बसाएर नुनले पुर्ने गरिन्छ र अन्य हिन्दूजातिले झैं १३ दिनसम्म किरिया बार्ने गरिन्छ । कसै–कसैले १० दिनमा समेत फुकाउने गरी रोट काट्ने गर्छन् । रोट काट्नु भन्नाले एउटा बाक्लो सुख्खा रोटी समाधिमा चढाएर त्यो रोटी काटेर सबै इष्टमित्र बन्धुलगायत किरिया बसेका दाजुभाइबीच बाँडेर खाने गरिन्छ । हिजोआजका सन्यासी जातिले धेरै ठाउँमा समाधिको साटोमा अन्य हिन्दूहरुले झैं शवलाई जलाएर समेत काजकिरिया गरेको पाइन्छ । पिण्डको सट्टामा मृत्यु भएको ३ दिन, ७ दिन र ११ दिनमा रोट काट्नुपर्छ । मान्छे मरेको तेह्रौं दिनदेखि १ वर्षभित्र शङ्खढाल कर्म गर्नुपर्छ । यो शङ्खढाल विधि गर्नाले मृत आत्मा शिवलोक पुग्छन् भन्ने विश्वास रहिआएको छ । शङ्खढाल विधि गरेपछि मृत आत्माका लागि अन्य संस्कार गर्नु पर्दैन ।
सन्यासीहरुका आदि गुरु शंकराचार्य हुन् । शंकराचार्यद्वारा स्थापित मुख्य चारवटा पिठहरु नै दशनामी सन्यासीहरुको सर्वोच्च स्थान हो । उक्त पिठका प्रमुख पिठाधिस शंकराचार्य नामक पदबाटै परिचित हुन्छन् । शंकराचार्यको देहान्तपछि चारै पीठमा प्रतिस्थापित गरिएका प्रथम शंकराचार्यहरुले भारतमा ५२ वटा मठहरु स्थापना गरेका थिए । नेपाल तथा भारतमा शंकराचार्यभन्दा धेरै अगाडि पौराणिक कालको शुरुवातबाटै मठहरु स्थापित र सञ्चालित हुँदै आएको पाइन्छ । शंकराचार्यको समय आठौं शताब्दिपछि पनि धार्मिक तथा आध्यात्मिक प्रभाव जमाउन सफल भएका सन्यासीहरुले पनि अनेकौं मठहरु स्थापना गरेको पाइन्छ । सनातन वैदिक धर्मअनुसार मानिसको सय वर्षको आयुलाई चार भागमा विभक्त गरे अनुसार २५ वर्षसम्म ब्रम्हचर्यमा रहेर गुरुकुल शिक्षादिक्षा, ५० वर्षसम्म गृहस्थ, व्यवसाय सन्तान उत्पादन आदि कर्म त्यसपछि ७५ वर्षसम्म वानप्रस्थ र सोभन्दा माथि ‘सन्यास’ भनेर चार आश्रम धर्मको व्याख्या गरिएको छ । यही कुरा श्रीमद्भागवत्गीताको अध्याय १६ मा पनि उल्लेख भएको छ । यसरी ‘सन्यासी’ र सन्यास कर्मका बारेमा शास्त्रहरुले नै व्याख्या गरेबाट पनि यदि कुनै पनि ‘सन्यासी’ ले आफ्नो चरित्र गुण र कर्ममा रहन नसकी कुनै स्त्रीसँग सहवास या विवाह गरेर सन्तान उत्पादन गरेमा स्वतः गृहस्थी हुने व्यवस्था छ । यसकारण घरबास गरेर गृहस्थ जीवनयापन गर्ने सन्यासीको सन्तान भएमा पनि पूर्ण सन्यासी रहन सक्तैन । त्यसैले सन्यासी कर्मद्वारा मात्र हुन्छ केवल जातले मात्र हुँदैन भनिएको छ । समग्रमा भन्नुपर्दा सनातन धर्म पद्दतिको अनुशरण, कुनै तिर्थस्थल, मन्दिर वा धर्मक्षेत्रका रुपमा स्थापना भएका धार्मिक तथा आध्यात्मिक केन्द्रहरुलाई मठ भनिन्छ । मठहरुमा गृहस्थी छोडेर आएकाहरुलाई सन्यास दिने र विधिवत् धार्मिक तथा आध्यात्मिक शिक्षादिक्षा दिने कार्य हुन्छन् । मठ पिठभन्दा मुनीको संरचना अनुसार दोस्रो तहको रुपमा मानिन्छ । करिव ६ सय वर्ष पहिले यक्षमल्लको पालामा निर्मित भक्तपुरको दत्तात्रय मन्दिरसँगै दत्तात्रय पुजारी मठ रहेको छ । दत्तात्रय पुजारी मठका प्रमुखलाई पिर महन्त भनिन्छ । पिर महन्तलाई देशभरीका दशनामी सन्यासी परम्पराका महन्तहरुको प्रमुख मान्दै आउने चलन रहेको छ । दशनामी सन्यासी परम्पराका महन्तका प्रमुखलाई पिर महन्त, त्यसभन्दा तल शिर महन्त र प्रत्येक मठका प्रमुखलाई महन्त भन्ने प्रचलन रहिआएको छ ।
नेपालमा पशुपतिनाथ हुँदै स्वर्गद्वारी देखि हलेसीसम्म हजारौं मठहरु स्थापित रहेपनि ति सबै उल्लेख्य रुपमा क्रियाशील देखिंदैनन् । सनातन वैदिक सभ्यता अनुसार वर्णाश्रम व्यवस्था लागुहुनु अगावै देखि सन्यासीको आ–आफ्नो अलग–अलग मठ, आश्रम र पहिचान (दश थर) थियो । ज्योर्तिपीठका प्रथम शंकराचार्य स्वामी त्रोटकका तीन जना चेलाहरु मध्ये एकजना नारायण गिरीले दिक्षित गरेका सन्यासीहरुलाई ‘गिरी’ को पद नाम धारण गराइएको थियो । कालान्तरमा गिरीलाई थरकै रुपमा प्रयोग गर्न थलियो । गिरीहरु शौनकी शाखाको कौशिक सूत्र परम्परा अन्तर्गत पर्दछन् । दशनामी सन्यासी समुदायमा सबैभन्दा धेरै मढी भएको हाँगा ‘गिरी’ नै हो । ज्योर्तिपीठसँग सम्बन्धित सन्यासी भएको कारणले यिनीहरुको मुख्य गोत्र ‘भृगु’ हो । यसैगरी पन्थतर्फ ऋद्धिनाथी, सञ्जीवनीनाथी, दुर्गानाथी, बैकुण्ठनाथी र ब्रह्यनाथी मढी भएका गिरीहरुको उपगोत्र जमदग्नी हो । नागेन्द्रनाथी, सेजनाथी, मोहननाथी, रुद्रनाथी, कुसुमनाथी, अघोरीनाथी, सागरनाथी, भावनाथी गरी नौ वटा मढी भए गिरीहरुको उपगोत्र उपमन्यु हो । सरभंगनाथी, ज्ञाननाथी, माननाथी, बलभद्रनाथी र अपारनाथी गरी पाँच वटा मढी भएका गिरीहरुको उपगोत्र भारद्वाज हो । त्यस्तै ओमकारी र परमानन्दी मढी भएका गिरीहरुको उपगोत्र भारद्वाज हो । त्यसैगरी वत्स उपगोत्र अन्तर्गत रामदत्ति मढि, हरित उपगोत्र अन्तरगत सिंहश्याममती मढी, वशिष्ठ उपगोत्र अन्तरगत चन्दननाथी बोदला मढी, अगत्स्य उपगोत्र अन्तरगत पाटम्बरनाथी मढी, कुण्डिन उपगोत्र अन्तर्गत सागरबोदलानाथी र अत्री उपगोत्र अन्तर्गत रत्ननाथी मढी पर्दछन् । ज्योर्तिपीठसँग सम्बन्धीत मठी अन्तर्गत रहेकाले साठीघरे गिरीको गोत्र ‘भृगु’ हो । यहाँका गिरी पन्थ वा नाथी परम्परा भित्र पर्दैनन् । समाजमा विभिन्न सम्प्रदाय र जातजातिका मानिसहरुले पनि आफ्नो गृहस्थ त्यागेर कुनै पनि मठबाट गुरुमन्त्र लिएर गेरुवस्त्र धारण गरी ‘सन्यास’ कर्म र आचरण पालना गरेमा उनी पनि कर्मले ‘सन्यास’ अर्थात् जुन मठ र जुन नामबाट मन्त्र लिन्छन् गोत्र र दशनाममध्येको कुनै नाममा ‘सन्यासी’ बन्ने परम्परा छ । सन्यासीका विधि–विधान र कर्मका बारेमा निर्णय सिन्धुमा व्यापक रुपमा उल्लेख गरिएको छ । यसरी गिरी सन्यासीको शुरुवात र विस्तारमा लामो पौराणिकता र इतिहास साक्षीप्रमाण भेटिन्छन् । यसैक्रममा साठीघरे गिरी सन्यासीको पुख्र्यौलीको बीचमा इतिहासका तथ्य र प्रमाणहरु हराएका वा स्पष्ट हुन नसकेपनि गिरी सन्यासीको उद्गम विन्दू आद्यगुरु शंकराचार्य र ज्योतिर्मठसँग सम्बन्ध भएकाले भृगुगोत्रीय नै हुन् । सन्यास धर्म अनुसार जुनसुकै जात, वर्ण वा संस्कारबाट आएपनि सन्यास धारण र दिक्षा ग्रहण गरेपछि सन्यासी हुने विधान रहेको छ । यसकारण गिरी सन्यासीहरुले कुनै दुविधा र विचलनलाई छोडेर मठ संस्कृतिको जगेर्ना गर्दै सन्यासी धर्म, कर्म र आचरणलाई पालना गरेर गिरी सन्यासीको पौराणिक, प्राचीन र ऐतिहासिक रुपमा स्थापित रहेको गौरवमय सन्यास कर्म साधनालाई मूलमार्ग मानेर अगाडि बढ्नु प्रमुख लक्ष्य हुनुपर्दछ ।
pushparaj977@gmail.com