भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहविरुद्ध २० जना पीडितद्वारा प्रहरीमा उजुरी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीएका २० जनाले प्रहरीमा उजुरी दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानपछि गृह मन्त्रालयका उच्च पदाधिकारीको समेत संलग्नतामा नक्कली व्यक्तिलाई भुटानी शरणार्थी बनाएर पैसा असुल गरेको देखिएको हो । पाँच जनालाई पक्राउ गरेर संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले २० जना पीडितको जाहेरी आएको जनाएको छ । ४२९ जनालाई भुटानी शरणार्थी बनाइएकामा पैसा बुझाएका अन्य पीडित थपिन सक्ने देखिएको छ ।

२०७८ सालमा पुन:स्थापनामा जान बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि बालकृष्ण पन्थीको नेतृत्वमा समिति बनेको थियो । त्यही समितिले सिफारिस गरेकोमा ४२९ जना नक्कली व्यक्तिलाई भुटानी शरणार्थीको सूचीमा राखिएको खुलेपछि अनुसन्धान चलिरहेको हो । भुटानी शरणार्थीका नाम राखिदिएबापत पीडितबाट प्रतिव्यक्ति १५ देखि ४५ लाखसम्म असुल गरिएको छ ।

पीडितले दिएको जाहेरीमा २० करोड ठगीएको उल्लेख छ । गृह मन्त्रालयबाट भुटानी शरणार्थीको परिचयपत्रसमेत जारी भएको छ । गलत व्यक्तिलाई शरणार्थीको सूचीमा राख्दा गृहमन्त्री रामबहादुर थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, त्यसपछिका गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवहरु महेश्वर न्यौपाने र टेकनारायण पाण्डे थिए ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोराले डेढ करोडको चेक लिएको देखिएको छ । संगठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले राजनीतिक र गृहका पदाधिकारीहरुमाथि अनुसन्धान गर्छ कि गर्दैन भन्ने चासोको विषय छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *