राप्रपालाई सक्रिय र मजवुत पार्न सबै भातृ संगठनहरुलाई चलायमान बनाउनु पर्छ : सुरेन्द्रवहादुर पाण्डे

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
सुरेन्द्रवहादुर पाण्डे युवा नेता, राष्ट्रिय प्रजातन्त्र पार्टी

सुरेन्द्रवहादुर पाण्डे राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनाकाल देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । यस क्रममा उहाँ राप्रपा काठमाण्डौं महानगरपालिका वडा नं. ४ कार्यसमितिको सचिव हुँदै उपाध्यक्ष हुनु भयो । यस अन्तरालमा पाण्डे राप्रपाको भातृ संस्था नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्मा २०५२ सालदेखि महासचिव भई २०७२ सालदेखि २०७६ सालसम्म अध्यक्ष भई कार्य गर्नु भयो । राप्रपाका युवा नेता पाण्डे राप्रपाको भातृ संस्था राष्ट्रिय प्रजातन्त्रान्कि ट्रेड यूनियन महासंघ नेपालको सचिव हुँदै अहिले उपाध्यक्ष तथा सचिवालय प्रमुख हुनुहुन्छ । राप्रपाभित्र अत्यन्त मिलनशार र संगठनकर्ताको रुपमा लिइने सुरेन्द्रवहादुर पाण्डे राप्रपाको केन्द्रीय सम्पर्क विभागको सदस्य पदमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ राप्रपा युवा नेता पाण्डेसँग गरिएको कुराकानीको मुख्य अंश

नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी लिनुभएको छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण हेर्दा सिधै यो देशका जनतालाई विदेश पठाएर नेपालको जनसंख्या कम गर्ने मात्र होइन, देशलाई नै अपमानित गर्ने खेल भएको देखिन्छ । ठुला पार्टी भन्नेहरुको खास उद्देश्य के रहेछ भन्ने अहिलेको प्रकरणले पुष्टी गरेको छ । नेपालमा यस्ता ठुल ठुला प्रकरण भइसकेका छन् । तर ठुला दलका नेताहरु मौन छन् ।

राष्ट्रपतिद्वारा केही दिन अघि जारी भएको नागरिकता विधेयक बारे के भन्नुहुन्छ ?
नेपालमा कति पुस्तादेखि नागरिकता नपाएको कुरा जगजायर छ । तर नेपालीलाई नागरिकता दिने नाममा सही नेपालीलाई अल्पमतमा पार्ने सम्मको गतिविधि भएको देखिन्छ । भारतमा बिसौ वर्ष बसेका नेपालीलाई नागरिकता दिएको देखिदैन, तर नेपालले मात्र भारतीयहरुलाई पनि नागरिकता दिन मिल्ने गरी किन विधेयक ल्याइयो ? यो गम्भीर विषय हो । भारत र नेपालमा जनसंख्याको अनुपात बढी छ । भारतमा एक अर्ब २५ करोड भन्दा बढी जनसंख्या छ तर नेपालमा ३ करोड जनसंख्या छ । यो हिसाबले हेर्दा नेपाल र भारतमा नागरिकता दिने तरिका फरक हुनु पर्ने छ । नेपालीले भारतमा नागरिकता नपाउने तर भारतीयले नागरिकता पाउने प्रावधान राखेर किन हतारिएर नागरिकता विधेयक ल्याइयो, यस्तो व्यवस्था राखियो । भारतले जसरी नेपालीलाई नागरिकता दिन्छ, यसै गरी नेपालले भारतीयलाई नागरिकता दिनु पर्छ । दिनै पर्ने भए अस्थायी नागरिकता दिने व्यवस्था हुनु पर्छ । सरसर्ती हेर्दा नेपाललाई सिक्किमिकरण गर्ने योजनामा विधेयक आएको देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे तपाईको राय दिनुस् न ?
एक देशले अर्काे देशमा भ्रमण गर्न राम्रो हो । तर भ्रमणको नाममा देशको बद्नाम हुने, इज्जत जाने गरी एकतर्फी सम्झौता गर्नु यो देशको हित विपरितको कुरा हो ।

देशभर व्याप्त भ्रष्टाचारबारे तपाई के भन्नु हुन्छ ?
२०४६ सालमा जब बहुदलीय व्यवस्था आयो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यो देशका कर्मचारीहरु गरिब दुःखी छन् । बालबच्चा पालन पोसन, शिक्षा दिन सक्दैनन् भनेर अप्रत्यक्ष रुपमा कर्मचारीलाई १० प्रतिशत सम्म अनियमितता गर्न छुट दिएको यहाँ उठाउन सान्दर्भिक हुन्छ । विगतको भ्रष्टाचार अनियमितता बढ्दै जाँदा अहिले भ्रष्टाचारले विकराल रुप लिएको छ । यहाँ ९० प्रतिशत भ्रष्टाचार हुने, दश प्रतिशत मात्र काम हुने परम्परा बसेको छ । त्यसैले त्यस्ता भ्रष्टाचारीहरुको तिनपुस्ता छानविन गरिनु पर्छ । आयोग गठन गरेर छानविनको दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गर्नुपर्छ । भ्रष्टाचारीको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्नु पर्छ ।

देशभर फैलिएको महँगीबारे तपाईको दृष्टिकोण राख्नुस न ?
देशमा व्यापक रुपमा फैलिरहेको यो सत्य हो । महँगी नियन्त्रण गर्ने सरकारी निकाय गैर जिम्मेवार छन् । ५० प्रतिशत भन्दा बढी ससामान विदेश विदेशबाट आयात गर्नु पर्छ अनि कसरी हुन्न महँगी । त्यसमाथी देशमा खेतिपाती हुन छाडे, खाद्यान्न उत्पादनमा कमि छ । विदेशबाट किनेर ल्याउने सरसामानमा समेत भ्रष्टाचार हुन्छ । दिनदिनै खाद्यान्न लगायतमा मुल्य वृद्धि भइरहेको छ । सरकार यसमा नाजवाफ छ बजेट घोषणा भएको बेला मात्र मुल्य वृद्धि हुनु पर्नेमा व्यापारीहरुले महिनामा मुल्य वृद्धि गरिरहेका छन् ।

राप्रपा अब कसरी अघि बढ्छ ?
राप्रपालाई सक्रिय र मजबुत रुपमा अघि बढाउन सबै भातृ संगठनहरुलाई चुस्तदुरुस्त र चलायमान बनाउनु प¥यो । समय समयमा तालिम, गोष्ठी प्रशिक्षण, भेलाजस्ता कार्यक्रम हुनु प¥यो । राप्रपाको राज्यका हरेक तहसम्म संगठन फैलाउँदै जानु प¥यो । जनताले राप्रपाको मुल उद्देश्य बुझेमा आगामी निर्वाचनमा राप्रपा सान्दार रुपमा विजयी हुनेछ । सबैभन्दा पहिले पार्टीका सबै तहका नेताहरुलाई पार्टीले उचित जिम्मेवारी दिएर परिचालन गर्नुपर्छ । विभिन्न ठाउँमा काम गर्ने अवसर दिनुपर्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताबारे तपाई के भन्नुहुन्छ ?
मेरो विचारमा पूर्व राजा सक्रिय हुनु पर्नुको कारण अहिलेको समयको माग हो । गणतन्त्र लोकतन्त्रले जनताले चाहे अनुसार काम गर्न नसेकेको, देशमा भ्रष्टाचार अनियमित लगायत काम कारवाहीले गर्दा जनताले राजा आउनु पर्छ भन्नु स्वभाविक हो । राजाले जनताले बोलाएको ठाउँमा जानु स्वभाविकै हो । राजाले बोल्ने नहुने जनताको दुःख सुन्ने नहुने हो ?

के नेपालमा राजतन्त्र फर्केला ?
राजसंस्था देशको परिस्थिति अनुसार फर्कनै पर्छ राजा भएको बेला भ्रष्टाचार हुदैनथ्यो । राजनीतिक अनुशासन हुन्थ्यो, विदेशी हस्तक्षेप हुदैनथ्यो, जनता सुखसयलमा हुन्थे । राती १२–१ बजेसम्म हिड्दा समेत कुनै डर भर चिन्ता हुदैनथ्यो । तर अहिलेको राजनीतिक गतिविधि देख्दा नेपालमा राजसंस्था आउनै पर्ने भएको छ ।

यस वर्षको बजेट बारे तपाईको छोटो टिप्पणी ?
हामीलाई खर्च भन्दा पनि विकास बजेट बढी चाहिएको छ, प्रदेशहरु खारेज गरेर, प्रदेशमा विनियोजित बजेट विकास निर्माणमा लगाउनु पर्छ ।

अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
आमाबाबु, दाजुभाई तथा दिदीबहिनीहरुमा २०८० सालका हार्दिक मंगलमय शुभकामना छ । यहाँहरुको मनमा यो कुरा रहोस् कि यो देश देवतै देवताले वास गरेको देश हो । वेद पुराण लेख्ने ऋषिमुनिहरुको तपोभुमि हो । त्यसैले यो देशमा जन्मन पाएकोमा हामीले गर्व गर्नुपर्छ । त्यसैले हाम्रो मुलुकलाई अभिछिन्न राख्न सबै देशवासीमा हार्दिक आव्हान गर्दछु । साथै हिन्दु राज्य र राजसंस्थाको मुल एजेण्डा लिएको राप्रपालाई सधै साथ र सहयोग गरिदिनुहोला । जय राष्ट्रवाद, जय जनता ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *