सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट छ जना स्रस्टा सम्मानित

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित एक समारोहमा छ जना स्रष्टा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सपर्मण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ का लागि मनोनयन गरेको स्रष्टाहरुलाई मंगलबार उपराष्ट्रपतिबाट पुरस्कार सर्मपण गरिएको हो ।
लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नविन किशोर राई, सङ्गीत विधाबाट वरिष्ठ गायक, सङ्गीतकार तथा गीतकार गणेश रसिक, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुनुभएको छ । त्यसैगरी रङ्गमञ्च विधाबाट वरिष्ठ रङ्गकर्मी भैरव क्षेत्री, नृत्य विधाबाट वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली र नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेल नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुनुभएको हो । सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्रले सम्मान गरिएको थियो ।
समारोहोलाई सम्बोधन गर्दै सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षौदेखि यो क्षेत्रमा सक्रिय रहँदै योगदान पुर्याउँदै आएकोमा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ ।’ साथै उहाँले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवम् लोक संगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरुलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘प्रतिभाहरुको सम्मानले प्रतिभाहरुलाई सिर्जनाको क्षेत्रमा कर्मशील र क्रियाशील हुने प्रेरणा प्रदान गर्दछ’ उहाँले भन्नुभयो, ‘अग्रज स्रष्टाहरुको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो । यस्तो सम्मान गर्ने परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ ।’ पुरस्कार समर्पण समारोहका अध्यक्ष एवं कुलपति निशा शर्माले कला स्थिर तत्व भएको बताउँदैे स्थिर तत्व स्रष्टा कलाकारहरुको माध्यमबाट मात्रै चलायमान हुने बताउनुभयो । साथै पुरस्कृत स्रष्टा तथा कलाकारलाई सम्मानीत हुनुभएकोमा बधाई तथा शुभकामना दिनुभयो ।
पुरस्कृत स्रष्टाहरुको प्रतिनिधित्व गर्दै सङ्गीत विधाबाट सम्मानित गणेश रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाली मौलिक सङ्गीत नृत्य तथा नाटकमा दशकौँ योगदान दिने श्रष्टा तथा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्य बनाउन समेत आग्रह गर्नुभयो । समारोहमा सम्मानित हुनुहुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो । प्राज्ञ टीका पुनले लाेक सङ्गीत विधाबाट परस्कृत नविन किशोर राई, प्राज्ञ बखत बहादुर हमालले नृत्य विधाबाट पुरस्कृत कुलमान नेपाली, प्राज्ञ कर्ण गौतमले सङ्गीत विधाबाट पुरस्कृत गणेश रसिक, प्राज्ञ चेतन सापकोटाले रङ्गमञ्च विधाबाट पुरस्कृत भैरव क्षेत्री, प्राज्ञ डक्टर राईले परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट पुरस्कृत विजय कुमार श्रेष्ठ तथा प्राज्ञ हिसन मगरले नाटक विधाबाट पुरस्कृत प्रा.डा. रामचन्द्र पोखरेललाई प्रदान गरिएको ताम्रपत्र पढेर सुुनाउनु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरुको उपस्थिति रहेको थियो । प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिनुभएको समारोहलाई सदस्य सचिव कुश्मा महराले सहजिकरण गर्नुभएको थियो ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *