काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक सरेको छ । संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबारसम्मका लागि सरेको जानकारी दिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न दिने भएको छ । आफ्नो विवादित अभिव्यक्तिउपर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएपछि एमालेले संसद् चल्न दिने भएको हो । तर, प्रधानमन्त्रीले आत्मालोचनासहित सदनलाई आश्वास्त नपारे संसद् चल्न नदिने एमालेकाे अडान भने कायमै छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच बैठक बसेको थियो । उक्त बैठकबाट निकास निस्किएको हो । गत सोमबार प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएको थिए । त्यसलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको छ । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ । एमालेले आज पनि अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।