परराष्ट्र नीतिमा साझा सहमति बनाऔं : माधव नेपाल

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सुरक्षा नीति र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सुरक्षा र परराष्ट्र नीतिमा सबै पार्टीबीच साझा सहमति बनाउनुपर्ने बताएका हुन् । दलहरुबीच आन्तरिक द्वन्द्व भए पनि सुरक्षा नीति र परराष्ट्र नीतिमा समान धारणा हुनुपर्ने उनको जोड छ ।

‘भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ,’ उनले भने ।

‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ । एउटा परराष्ट्र नीतिको बारेमा थियो । त्यसलाई पुनः हेर्नुपर्ने छ भने हेरौँ । त्यसको कार्यान्वयनमा जोड दिऔं,’ उनले भने, ‘सबै पार्टीको बीचमा साझा सहमति बनाएर हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा बनाएको राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिए । समितिको बैठकमा नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले पनि परराष्ट्र नीतिमा साझा सहमति हुन आवश्यक रहेको बताए ।

यसैगरी नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताए । उनले युक्रेन—रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *