तेजकुमार कुरुम्बाङ
यतिबेला हाम्रो देशको राजनीतिक असाध्यै चिन्ताजनक छ । राजनीति भनेको देशलाई सहि बाटोमा हिडाउनको लागि गर्ने हो । तर गणतन्त्र पछिको नेपालको राजनीति राष्ट्र राष्ट्रियप्रति अस्तित्वहीन देखिन्छ । ठूला पार्टीहरुले देश र जनताको लागि राम्रो काम गरिरहेको देखिदैन । खाली उनीहरु सत्ताकै लागि तछाडमछाड गरिरहेका छन् । जनताले त कांग्रेस कम्युनिष्टहरुलाई जिताई रहेका छन् । तर खोइ त उनीहरुले जनताले चाहे अनुसार काम गरेको ? त्यसैले जनताले अब नयाँ शक्तिहरुको खोजिगरिरहेका छन् । तर नेपाली जनताले यो गणतान्त्रिक व्यवस्था नै गलत बाटोमा छ भन्ने महसुस गरिसकेका छन् । गणतन्त्रको आवरणमा ठूला दलले राष्ट्रमा ब्रम्हलुट गरिरहेका छन् । र यो व्यवस्थाको अथवा गणतन्त्रपछि जन्मेको पार्टी राप्रपा नेपाललाई विकल्पको रुपमा नअंगाल्ने हो भने कसैलेपनि देश बर्बाद हुनबाट बचाउन सक्ने छैन । यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अथवा बालेश शाह, हर्क साम्पाङ जस्तालाई भोट दिएर यो भ्रष्ट गणतान्त्रिक व्यवस्था परिवर्तन हुने छैन भन्ने नेपाली जनतामा प्रष्ट रुपमा चेतना आउनुपर्ने देखिन्छ ।
यसै मेसोमा राप्रपा नेपाल फेरि संवैधानिक राजसंस्थाको पथमा आएको विषयमा विभिन्न तर्क वितर्क आइरहेका छन् । राप्रपा नेपाललाई पूनरजागरण गरेलगतै हामीले राजसंस्थालाई अलि टाढा राखेर हिन्दु राष्ट्र र संघीयता विरोधी आन्दोलन लिएर हिडिरहेका थियौ । तर हाम्रो पार्टीमा विभिन्न पार्टीबाट पार्टी प्रवेशको लहर चल्दै गयो र यो पार्टीले आकार लिन थालेपछि राजसंस्थालाई पूनरजागरण गर्नुपर्छ भन्ने हाम्रो पार्टीमा बहुुमत देखियो । यो समयको माग पनि थियो । त्यसैले राजसंस्था पनि हामीले अंगालेर राप्रपा नेपाल अगाडि बढिरहेको छ । हुन त नेपालमा व्यापक रुपमा भ्रष्टाचार भई रहेको छ । भ्रष्टाचारका बारेमा तीब्र रुपमा जनअसन्तुष्टी सार्वजनिक भइरहेका छन् । यो व्यवस्थामा हाम्रो राष्ट्रले भ्रष्टाचारको श्रृंखलाहरु भोगिरहनु परेको छ । जस्तै यो देशको सरकारमा जाने भनेकै देशमा भ्रष्टाचार गरी ब्रम्हलुट गर्न हो भन्ने स्पष्ट भएको छ ।
भ्रष्टाचार गर्न तलदेखि माथिसम्म सेटिङ गरेर कागज मिलाउने र देशलाई लुट्ने काम भइरहेको प्रष्ट देखिन्छ । त्यसैले साच्चै देशमा भ्रष्टाचार अन्त गर्ने हो भने २०४६ साल पछिका तलदेखि माथिसम्मको कडाइका साथ सम्पत्ति छानविन गरिनु पर्छ । नत्र भने भ्रष्टाचार भइरहने हामी टुलुटुलु हेरिरहने अवस्था रहने छ । केपी ओलीको दुई तिहाईको सरकार भएको बेला निर्माण तथा भौतिक योजना मन्त्री बसन्त नेम्वाङ भएको समय मेचीको काकरभिट्टादेखी दमक इटहरि हुँदै कोशी ब्यारेन्जसम्म सेटिङ गरेर ३५ अर्बको रेल मार्ग ट्रयाकको लागि टेण्डर गरिएको थियो, त्यो टेण्डर मेरै नेतृत्वमा उच्च अदालतमा मुद्धा हालेर अवैध रहेको ठहराइयो । र आजसम्म उक्त टेण्डर हुन सकेको छैन । यस्ता अनेकौ योजनाहरु तयार गरेर देशको सम्पत्ति लुटिरहेको देखिन्छ ।
यसै गरी देशमा महँगीको मुल कारण भनेको ढुवानी र निर्माण सम्बन्धी ठूल ठूला मेसिनहरु कै कारण हो । ती ढुवानीको साधनमा अत्याधिक रुपमा डिजेल प्रयोग गर्नुपर्ने हुन्छ । प्रतिलिटर ८० रुपैयाबाट त्यो डिजेल १७० भन्दा बढी पुगेको अवस्थाको कारण महँगीमा प्रत्यक्ष असर परेको स्वभाविक हो । तर राज्यले महँगी नियन्त्रणका लागि डिजेलको मूल्य वृध्दिमा व्यवस्ता गरेको कारण महँगी आकाशमा छोएको छ । व्यवसायीहरुले सम्झौता गरेका ठेक्काहरु डिजेलकै कारण काम गर्न नसक्दा यो व्यवसायीहरु विस्थापित हुनुपर्ने कारण पनि यहि हो । अन्य नून तेल, चामललगायतका खाद्यान्नमा महँगी बढ्नुको कारण हाम्रो देशमा चाहिने उत्पादन नहुनु र उत्पादन गरेकोलाई पनि बजार व्यवस्थापन गर्न नसक्नु र सबै खाद्य बस्तुमा विदेशी निरभरता हुनु हो ।
(लेखक कुरुम्बाङ राप्रपा नेपालका सहमहामन्त्री हुन्)