काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित सार्वजनिक शौचालयहरूलाई सेवाग्राहीहरूसँग कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ। महानगरपालिकाले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सूचनामा भनिएको छ, ‘महानगर क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न यो सूचना प्रकाशित गरिएको छ, सूचनाविपरीत सार्वजनिक शौचालयको प्रयोगवापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित
कानुनबमोजिम कारबाही गरिनेछ।’
महानगरपालिकाले निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुले यो सूचना
प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।