धर्मनन्द श्रेष्ठ
देशको राजनीतिक अवस्था अस्थीर र तरल रहेकाले जनताले अपेक्षा गरे अनुसार विकास सुशासन, भ्रष्टाचारमुक्त समाज हुन सकेको छैन । र देशमा राजनीतिक समझदारी कायम गरि विकास निर्माण गर्नुपर्नेमा आर्थिक सुधार गर्नु पर्नेमा, विकसित मुलुकको निर्माण गर्ने लक्ष्य र योजना सरकार र राजनीतिक दलको हुनु पर्नेमा राजनीतिक दलहरु सरकार संचालन र सरकारमा सहभागी हुनेमा मात्रमा लागिपरेको देखिएकाले जनताको अपेक्षा अनुसार सुशासन, विकास र समृध्दिको चाहाना पूरा हुन सकेको छैन । नेपाली कांग्रेस देशकै ऐतिहासिक पार्टी भएको हुनाले देश र जनताको लागि यो पार्टी थप जिम्मेवार हुन जरुरी छ । कांग्रेसले राणा शासन, पंचायती व्यवस्थाको विरुध्दमा आन्दोलन गरी लोकतन्त्र स्थापना गर्नका लागि प्रमुख दलका हैसियतले नेतृत्व गरेको थियो । त्यस्तै २०४७ सालको संविधान निर्माण गर्न र २०६२÷६३ सालको जनआन्दोलनको नेतृत्व गरि नेपाली जनताको चाहाना अनुसारको व्यवस्था ल्याउन कांग्रेसले नै प्रमुख भूमिका खेलेको थियो । र लोकतान्त्रिक संविधान ल्याउन पनि कांग्रेसकै भूमिका रहेको थियो । यतिबेला भएको नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण पनि स्वागत योग्य छ । अब देशका लागि आवश्यक संविधान र कानुन संशोधनका लागि यो गठबन्धन सक्रिय रहनु आवश्यक छ । चुनाव अघिदेखी कांग्रेसले सरकारको नेतृत्व लिने भएको छ । यसबाट हामी थप उत्साहित भएका छौ ।
देशको अप्ठ्यारो तथा कठिन अवस्थाको नेतृत्व गरि संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गर्ने प्रमुख भूमिका पनि नेपाली कांग्रेसकै नेतृत्वमा संभव भएको हो । देशमा व्याप्त रहेको राजनीतिक द्वोन्द, माओवादीको जनविद्रोहबाट देशमा ठूलो रुपमा अशान्ति सृजना भएको बेला पनि देशमा शान्ति स्थापना गर्न पनि कांग्रेसकै प्रमुख नेतृत्व रहेको थियो । र आजसम्म आइपुग्दा देश र जनताले कांग्रेसकै नेतृत्व खोजिरहेको हुनाले देशको विकास र सुशासन, जनताको आर्थिक उन्नती गर्नका लागि र राजनीतिक स्थायित्वको लागि पनि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था र आवश्यकता छ । देशमा विकास र समृध्दिको जनचाहाना पूरा हुन नसकेको प्रमुख कारण मध्ये भ्रष्टाचार भएको हुनाले २०४६ सालपछिको राजनीतिक नेतृत्व गरि सार्वजनिक पद धारण गरेका कर्मचारीदेखि राजनीतिज्ञको समेत सम्पत्ति छानविन गरि स्रोत नखुलेको सम्पत्ति जफत गरी विकास निर्माणमा लगाउनुपर्छ ।
देशमा भएका भ्रष्टाचारकै कारणले गर्दा ठूला आयोजनाहरु, राष्ट्रिय स्तरका योजना र कुनै पनि विकास निर्माण समयमा सम्पन्न हुन नसक्नुको प्रमुख कारण हो । देशमा भ्रष्टाचार मौलाएकै कारणले आर्थिक, सामाजिक विकास, सुशासन कायम गर्न सकिएको छैन । यसलाई संवोधन गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्माण गरी आम नेपाली जनतालाई महसुस हुने गरी कानुन नीति निर्माण गरी आम युवा तथा जनतामा भरोसा हुने गरी कार्य गर्नु पर्दछ । र अख्तियार, सम्पत्ति सुद्धिकरण जस्ता निकायलाई सफल सक्षम बनाउनु पर्दछ । भ्रष्टाचार हरेक निकायमा सेटिङको प्रक्रियाबाट हुने भएको हुनाले भ्रष्टाचार हुने क्रियाकलाप पहिला बन्द गर्नु पर्दछ । लोकसेवामा प्रवेश गरी मालपोतको अधिकृत हुने, भन्सारको अधिकृत हुने र राजस्वमा समेत संलग्न भई भ्रष्टाचारमा संलग्न रहेको व्यक्ति पनि पछि अख्तियार र सम्पत्ति सुद्धिकरणमा आउन मिल्ने नियम कानूनको कारण भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । त्यसैले नेपाली कांग्रेसले नै यस्ता बाध्यकारी कानून संशोधन गर्न प्रमुख भूमिका निर्वाह गर्न जरुरी छ ।
देशभरि फैलिरहेको महँगीलाई नियन्त्रण गर्न औद्योगिक कानून, ऐन, नियम व्यवस्थित गरिनुपर्छ । र आम युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्नुपर्छ । र उद्योग व्यवसाय र उत्पादनमा युवाहरुलाई जोड्नु पर्छ । देशमा उत्पादन कम हुँदै गएकोले महँगी बढ्दै गएको हो । खेतीपातीमा काम गर्ने युवाहरु विदेशिएपछि उत्पादनमा कमि आउनु स्वभाविक हो । र विदेशबाट सरसामान ल्याउन परेपछि महँगी बढ्दै जानु स्वभाविक नै हो ।
यसै मेसोमा भन्नुपर्दा नेपाली कांग्रेस संसदीय व्यवस्था र लोकतन्त्रको पहिलो पहरेदार हो । अहिले पनि देशको प्रमुख पार्टी पनि कांग्रेस नै रहेको छ । र सोही बमोजिम देशको आर्थिक अवस्था सुधार गर्न र भ्रष्टाचार नियन्त्रण गर्न, जनताले चाहेको सुशासन, आर्थिक उन्नतिमा कांग्रेसले नै विश्वासयोग्य वातावरण सृजना गर्नुपर्छ । र आगामी निर्वाचनमा राजनीतिक स्थायित्व कायम गर्न नेपाली कांग्रेसलाई बहुमतका साथ जनताले जिताउने नै छन् भन्ने हामीले विश्वास लिएका छौ ।
त्यसका लागि कांग्रेसले पूर्व तयारी गर्नु आवश्यक छ । पार्टीका भातृ संगठनहरुलाई नियमित रुपमा सक्रिय गरी आम नागरिक र समाजमा कांग्रेसप्रतिको विश्वास र भरोसा कायम गर्ने वातावरण निर्माण गर्नु पर्छ । यो पृष्ठभूमिमा र कांग्रेसले गरेको जनपक्षीय कार्यले आगामी निर्वाचनमा कांग्रेसको सानदार रुपमा बहुमत आउने अवस्था छ ।
नेपालमा नेपाली कांग्रेसमा प्रजातान्त्रिक र विधि अनुसार वडा समितिदेखि केन्द्रीय स्तरसम्म नेतृत्व गर्ने परम्परा रहि आएको छ । र केन्द्रदेखि तल्लो तहका निकायसम्म कार्यकारिणी पद दुई पल्टको मात्र हुने व्यवस्थाले युवाहरु समेत नेतृत्वदायी भूमिकामा पुग्ने अवस्थाको सृजना भएको छ । र देशमा आर्थिक, सामाजिक विकासका लागि सरकारको नेतृत्व युवाहरुबाट समेत हुने अवस्थाको सृजना गर्न राजनीतिक पदहरु राष्ट्रपति एक व्यक्ति एक पटक मात्र हुनुपर्ने, प्रधानमन्त्री पनि एक व्यक्ति एक पटक मात्र हुने र पुरै कार्यकाल प्रधानमन्त्री पद संचालन गरेको व्यक्तिले मात्र पून ः एक पटक प्रधानमन्त्री बन्न पाउने कानून निर्माण गरी दुुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ । यस्तै स्थानीय निकायको प्रमुख, प्रदेश सभा प्रमुख देखि प्रतिनिधि सभामा समेत एक व्यक्ति दुई पटकभन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था हुनुपर्छ ।
यतिबेला नेपालमा देखिएको सहकारी समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्वभित्र रहनुपर्छ । र लाखौ जनताहरुको बचत सुरक्षा हुनुपर्छ । जुन सहकारी समस्या देखिएका छन्, ती सहकारीहरुको बचतकर्ता, ऋणि, संचालक समिति, विभिन्न उपसमितिहरु समेत सहकारीकै सदस्य रहने हुनाले सहकारीलाई समस्याबाट मुक्त गर्न नसकिएको देखिन्छ । त्यसैले उपयुक्त नियम कानून परिपालन गराई सहकारीका विकृति विसंगति हटाई देशको आर्थिक अवस्था सुधार गर्नका लागि तीन खम्बे अर्थनीति अभिलम्बन गरि किसान श्रमिक र उद्योगीको हितको लागि सहकारीको पूँजि परिचालन गरि देशको आर्थिक व्यवस्था सुधार्न समेत सहकारीमार्फत गर्न सकिन्छ । कुनै पनि देशमा चर्को व्याज लिने दिने क्रियाकलापले आर्थिक उन्नती र उत्पादन बढ्न सक्दैन । वचतकर्ताहरुलाई १० देखि २४ प्रतिशतसम्म बचतमा व्याज दिई संचालन गरेकोलाई अवैध घोषणा गर्नुपर्छ । साथै उत्पादन र व्यवसायलाई अवैध कारोवार रोक्नका लागि दश प्रतिशत भन्दा बढी व्याजको कारोबारलाई अवैध घोषणा गरी ऋण लगानी तथा अबैध व्यक्तिगत लगानी, चक्रवर्ति व्याजमा लगानी चेक मार्फत गर्ने गरिएकोले चेकको कारोबार फौजदारी ऐन अन्तर्गत राखिएकोले त्यसलाई हटाउनुपर्छ । भ्रष्टाचारी, तस्करीको समेत रकमको लेनदेन चेकमार्फत गर्ने गरिएकोले तत्कालै त्यसलाई देवानी ऐन अन्तर्गत राख्ने ऐन कानून बनाउनुपर्छ । र बचतमा अधिकतम ८ प्रतिशत मात्र व्याज दिनु पर्ने, ऋण लगानीमा अधिकतम १० प्रतिशत मात्र लिने व्यवस्था गरि नेपालमै सहकारी मार्फत सामुहिक कृषि, पर्यटन र उद्योगमा लगानी गरी रोजगारी र सुदृढ आर्थिक अवस्थाको सृजना गर्नु पर्दछ ।
देशमा भइरहेको अस्थीर राजनीतिका कारणले जनताको विकास, समृध्दि, सुशासनको चाहाना पूरा गर्न नसक्दा हालको व्यवस्था , राजनीतिक दल, नेताप्रति जनआकर्षण घट्दै गइरहेको छ । आम जनतामा राजनीतिप्रति निराशा पैदा भएको हुनाले सरकार र प्रमुख राजनीतिक दलहरु पद र पावरको लागि मात्र हावी भइरहेको अवस्थाले आम नेपाली जनता आजित छन् । र सबै पार्टीहरु मिलेर आर्थिक र विकास निर्माण गर्नुपर्दछ । राजनीतिक द्वोन्द न्यूनिकरण गर्न पनि प्रमुख दलहरु नै संगठित हुनु पर्ने अवस्था छ । मुलुकको यो अवस्थामा राजनीतिक निकास दिने प्रमुख शक्ति भनेको नेपाली कांग्रेस मात्र भएकोले यो पार्टीमा एकतावद्ध र संगठित हुन आम जनतालाई अपिल गर्दछु । (लेखक श्रेष्ठ नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १० ‘ख’ को सभापति हुनुहुन्छ ।)