उपभोगीय वस्तु स्वच्छताका समस्या र समाधानका पक्ष

विचार
खवर पाटी (खोज खबरको अभियान)
प्रेम कार्की

नेपालमा स्वस्थ र स्वच्छ खाद्यान्न र उपभोगीय वस्तुहरुको प्रयोगको अवस्था गम्भीर देखिन्छ । असुरक्षित र असन्तुलित उत्पादन र वितरणका कारण देशको करिव ७.८ प्रतिशत जनसंख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परिरहेको छ । न्यूनतम दैनिक उपभोगको खाद्यान्न आवश्यकता अनुसार पर्याप्त नै भएपनि गुणस्तरीय र स्वस्थ खाद्यन्नको उपयोगमा सर्वसाधारणको सुलव पहुँच देखिंदैन । किनभने नेपालमा कृषि तथा खाद्यान्न उत्पादन उद्योग तथा मुख्य श्रोतको कमी त छँदैछ, भएका उत्पादनहरु पनि गुणस्तरीय बन्न सकेका छैनन् । अर्कोतर्फ अधिक उपभोगीय वस्तु आयात गर्नुपर्ने बाध्यताका कारण असुरक्षित र गुणस्तरहीन खाद्य उपभोगीय वस्तुमा नेपाली उपभोक्ताहरु निर्भर रहनु परिरहेको विद्यमान अवस्था छ । कृषि जन्य उत्पादन, तरकारी, फलफुल, खाद्यान्न उत्पादन र भण्डारणमै अधिक विषादिको प्रयोग हुने गरेको तथ्य हाम्रा सामु लुकेको छैन । औद्योगिक क्षेत्रबाट उत्पादन हुने विभिन्न किसिमका तयारी खाद्य पदार्थ पनि अधिक कम गुणस्तरका नै भेटिएका छन् । यसकारण कृषि तथा उद्योगबाट उत्पादन भएका वा अन्तर्राष्ट्रिय बजारबाट आयात गरिएका खाद्यान्नहरु हाइजेनिक नभइ मानव स्वास्थ्यमा हानिकारक देखिएका छन् । विश्व बैंकको व्याख्यानुसार एक हजार आठ सय क्यालोरीभन्दा कम हुने गरी प्राप्त भएको खाद्य अवस्थालाई गम्भीर किसिमको खाद्य असुरक्षा भनी परिभाषित गरिएको छ, त्यस अबस्थालाई मूल्याङ्कन गर्दा नेपालमा कुल जनसंख्याको ७.८ प्रतिशतमा गम्भीर खाद्य असुरक्षाको अबस्थामा रहेको तथ्यांकले देखाउछ ।

सन् १९९६ को संयुक्त राष्ट्रसंघको सम्मेलनले खाद्य सुरक्षालाई हरेक व्यक्तिले सक्रिय र स्वास्थ्य जीवनयापनका लागि आफ्नो चाहना र आवश्यकतानुरुप सधैँ पर्याप्त स्वच्छ र पोषणयुक्त खानामाथि भौतिक, सामाजिक र आर्थिक पहुँच भएको अवस्था हो भनी परिभाषित गरेको छ । विश्वव्यापी मानवअधिकार घोषणपत्र सन् १९४८ को दफा २५ मा हरेक व्यक्तिलाई गाँस, बास, कपास र औषधोपचारको अधिकार रहेको उल्लेख छ । आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध सन् १९६६ को धारा ११ मा पनि हरेक नागरिकलाई भोक मेटाउन पाउने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ । स्वस्थ र स्वच्छ उपभोगीय वस्तु उपभोग गर्नु पाउनु हरेक नागरिकको मौलिक र नैसर्गिक अधिकार हो । तर देश तथा अन्तर्राष्ट्रिय अभिसन्धिमा उल्लेख भएअनुसार नेपाली उपभोक्ताले पूर्ण रुपमा हाइजेनिक र शुद्ध खाद्यान्न उपयोग गरिरहेको अवस्था छेन । खाद्य तथा पोषण सुरक्षाका दृष्टिले मानिसलाई दैनिक आवश्यक पर्ने कुल क्यालोरीको ७७ प्रतिशत हिस्सा वनस्पतिजन्य पदार्थ र बाँकी पशुपक्षीजन्य पदार्थबाट आपूर्ति हुनुपर्नेमा दैनिक आवश्यक क्यालोरीको आपूर्ति यसअनुसार नभएको कृषि मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिव्यक्ति प्रतिदिन चाहिनेमध्ये ८७ प्रतिशत वनस्पतिजन्य पदार्थबाट र बाँकी दूध, दही मासु, अण्डालगायत पशुपक्षीजन्य पदार्थबाट प्राप्त भएको देखिएको छ । उत्पादनका हिसाबले माछा, मासु, अण्डामा आत्मनिर्भर भएको तथ्याङ्कले देखाउँछ भने दूधमा आत्मर्नभिरताको नजिक देखिन्छ । यस हिसाबले खाद्य तथा सन्तुलित उपभोगमा पोषण सुरक्षाका लागि पशुपक्षीजन्य उत्पादन र आपूर्तिका साथै उपभोग बढी गर्नुपर्ने देखिएको छ । खाद्य उपलब्धता हुनु मात्र पर्याप्त नभएर यहाँ स्वस्थ र स्वच्छ खाद्य वस्तु उपभोग, उत्पादन र वितरण प्रणाली समेत गुणस्तरीय हुनु महत्वपूर्ण हुन्छ ।

प्रत्येक उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खानाको अधिकार छ । तर, असुरक्षित खानेकुराको सेवनबाट अहिले विश्वभरका मानिसहरु बिरामी परेका छन् । त्यस्ता घटनाहरूले खाद्य स्वच्छता र सुरक्षाप्रति खाद्य व्यवसायको प्रतिबद्धतामा कमजोरीहरू स्पष्ट रूपमा प्रमाणित गर्छन् । खाद्य स्वच्छता सुनिश्चित् गर्न र खाद्यजन्य रोगहरू रोक्नको लागि खाद्य स्वच्छता महत्त्वपूर्ण पक्ष हो । कारखानामा खाना उत्पादन गर्ने होस्, खानपान सेवामा काम गर्ने होस् वा रेस्टुरेन्टमा, खाद्य स्वच्छता कायम राख्नु हानिकारक प्रदूषणलाई नियन्त्रणमा राख्नु अत्यन्त आवश्यक छ । यसकारण उत्पादन र श्रोतमै उपभोगिय वस्तुलाई शुद्धिकरण र हाइजेनिक बनाउन सके शुद्धिकरणको प्रक्रिया शुरुदेखि नै प्रभावकारी बन्न सक्दछ । खाद्य उत्पादन, प्रशोधन र भण्डारणका लागि सरकारद्वारा तोकिएका स्वच्छता मापदण्डहरूको पालना गर्ने, खाद्य तथा स्वच्छता विभागबाट नियमित निरीक्षण र जाँच गर्ने, उपभोगीय वस्तुहरूको गुणस्तर र स्वच्छताका लागि कडा कानूनी मापदण्डहरू निर्माण र कार्यान्वयन गर्ने र उपभोक्ताहरूलाई गुणस्तरीय सामान मात्र बजारमा ल्याउन निरन्तर अनुगमन गर्ने कार्य सरकार र समबन्धित क्षेत्रले गर्नुपर्दछ । यसकासाथै उपभोक्ताहरूलाई स्वच्छता र गुणस्तरीय वस्तुको महत्तवको बारेमा सचेत बनाउनु आवश्यक हुन्छ । यसका लागि विभिन्न मिडिया, सामाजिक सञ्जाल र शिक्षा कार्यक्रमहरूको माध्यमबाट जनचेतना फैलाउन सकिन्छ ।

यसैगरी खाद्य उत्पादनमा संलग्न व्यक्ति तथा व्यवसायलाई स्वच्छता र गुणस्तर मापदण्डका बारेमा प्रशिक्षण कार्यक्रमहरु अगाडि ल्याउनु आवश्यक हुन्छ । साथै विद्यालय तथा विश्वविद्यालयहरूमा खाद्य स्वच्छता र स्वास्थ्य शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि देखिन्छ । यसका साथै खाद्यान्न गुणस्तरीय बनाउन प्रविधिको प्रयोग पनि उत्तिकै गर्नुपर्ने हुन्छ । खाद्य उत्पादन, प्रशोधन र भण्डारणका लागि अत्याधुनिक प्रविधिहरूको प्रयोग गर्दै गुणस्तरीय जाँच गर्न प्रयोगशालाहरूको स्थापना र प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने कार्यक्रहरु हुनुपर्छ । यस्ता कार्यहरुमा गैरसरकारी संस्थाहरुको भूमिका पनि महत्वपूर्ण हुन आउँछ । गैरसरकारी संस्थाहरूले पनि स्वच्छता तथा गुणस्तरका लागि विभिन्न अभियानहरू सञ्चालन गर्न सक्छन् । उपभोक्ताहरूलाई जानकारी दिन र सहयोग गर्न यस्ता संस्थाहरूले सक्रिय भूमिका खेल्न सक्छन् । व्यवसायिक संस्थाहरूले आ–आफ्ना उत्पादन प्रक्रियामा स्वच्छता र गुणस्तर कायम राख्न विशेष ध्यान दिनुपर्ने देखिन्छ । व्यवसायिक प्रतिष्ठानहरूले आफ्ना कर्मचारीहरूलाई स्वच्छता र स्वास्थ्य सम्बन्धी तालिम दिनु आवश्यक छ । यसले उपभोगिय वस्तुमा गुणस्तर वृद्धि हुन्छ भने गुणस्तरीय उत्पादन उपभोक्ताले रोज्ने भएकाले व्यवसायमा पनि वृद्धि हुन्छ । उपभोक्ताहरूले पनि सामान किन्ने बेलामा उत्पादन मिति, उपभोग्य मिति, गुणस्तर चिह्न जाँच गर्नुपर्छ । सफा र सुरक्षित भण्डारण गर्नुपर्छ र सकभर ताजा वस्तुहरू मात्र उपभोग गर्नुपर्छ । यी केही उपायहरू अवलम्वन गर्न सकियो भने पनि नेपालमा उपभोगीय वस्तुहरूको स्वच्छता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ । गुणस्तरीय उत्पादन विना देशको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकिंदैन । अर्कोतर्फ अस्वस्थ र अस्वच्छ खाद्यान्नले रोग र हानि नै निम्त्याउने भएकाले उपभोक्ता आफै सजक हुनु आवश्यक हुन्छ । स्वास्थ्य नै धन हो, स्वच्छताले नै स्वस्थ जीवन जीउन सकिन्छ भन्ने चिन्तनलाई आजैदेखि सवैले अंगिकार गरेर खाद्य स्वच्छतालाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्दछ ।
लेखक हाइजेनिक वल्र्ड अर्गनाइजेशनका अध्यक्ष हुनुहुन्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *