राहत कोषमा कांग्रेसको ५० लाख, कोजाग्रत पूर्णिमाको चियापान स्थगित

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली कांग्रेसले राहत र उद्धार कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो । पीडितको सहयोगका निम्ति ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । यसका निम्ति कांग्रेसका सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यस्तै, कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासँग स्थगन गरी बवै भातृसंगठनलाई उद्धारमा खट्न निर्देशन दिइएको छ । विषम परिस्थितिका कारण हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए ।

बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्य तीव्र गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको उनले बताए ।

अवरुद्ध सडक सञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रूपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरिएको प्रवक्ता महतले जानकारी दिए ।

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरिएको छ । उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उमेदवारलाई पत्र दिन सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *