
मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?
मुलुकको वर्तमान अवस्था डरलाग्दो रुपमा देखा पर्दै गएको छ । जनताहरु गरिखाने बाटो नभएर पेशा व्यवसाय लगायत अर्थोपार्जन गर्ने अनुकुल परिस्थिति नभएर दिनदिनै विदेशिन बाध्य भएका छन् । युवा विद्यार्थीहरु देशको झण्डा बोकेर नेपालमा भरपर्दो शिक्षाको पेशाको अवस्था राम्रो नभएको भन्दै विदेशमा अध्ययन गर्न जान बाध्य भएको देखिन्छ । यि कुराको प्रमाण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौ विद्यार्थी पढ्ने शिलशिलामा र युवाहरु रोजगारीको शिलशिलामा देश छोड्दै गएकोले पुष्टी हुन्छ । सहकारी लघुवित्त बैंक लगायतका संस्थाले नेपाली गरिब जनतालाई मारमा पारेको भनि दुर्गा प्रसाइको आन्दोलन चर्किदो छ । रवि लामिछाने धरौटीमा छुटेका छन् र उनले पनि आन्दोलन गर्ने संकेत गरेका छन् । राप्रपाले फागुन देखि संघर्ष गर्ने निर्णय गरेको छ । तराईका सिके राउत नेतृत्वको दल लगायतले आन्दोलन गर्ने धम्कि दिइरहेका छन् । यस्तो अवस्थामा सरकार र सत्तामा बस्ने दलहरुसँग मुलुकको समस्या समाधान गर्न राजनीतिक एजेण्डा नभएको स्पष्ट हुन्छ । सरकारमा बस्ने मन्त्रिहरु कमाउ धन्दामै लागि परेको देखिन्छ । उर्जा मन्त्रि दिपक खड्काले बिधुत प्राधिकरणका कुलमान घिसिङलाई हटाउन र आफ्नो मान्छे ल्याई प्राधिकरणलाई दुहुनो गाई बनाउने प्रपञ्चमा लागेको देखिदैछ । समग्रमा भन्नु पर्दा मुलुक अस्तव्यस्त, असुरक्षित र राजनीतिक सुन्य भएको देखिन्छ ।
देशव्यापी व्याप्त भ्रष्टाचारबारे के भन्नु हुन्छ ?
नेपाल यस्तो देश हो, जहाँ नेताहरु सरकारमा गएर आर्थिक अर्थोपार्जन गर्ने काममा सव्रिmय भएको देखिन्छ । जनताका जल्दाबल्दा समस्यातिर ध्यान गएको देखिदैन । राजनीतिलाई व्यवसाय बनाउने काम गरिरहेको देखिन्छ । राजनीतिक भनेको जनता र राष्ट्रको सेवा गर्ने हुनु पर्नेमा जनता र राष्ट्रको सेवा गर्ने तिर नलागि नेताहरु भ्रष्टाचारमा संलग्न भई राजनीतिलाई कमाई खाने दुहुनो गाई बनाउदै गरेको देखिन्छ । राजनीतिको मुख्य उदेश्य नै भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने रहेको देखिन्छ । नेता र सरकारमा बस्नेको यस्तो व्रिmयाकलापबाट जनताहरु वाक्क हुँदै गएका छन् । उनीहरु भन्छन् “भ्रष्टाचारको नियन्त्रण यि नेता र अहिलेको राजनीतिक व्यवस्थाबाट सम्भव छैन । र यो व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भएको छ । वास्तवमा नेपालको आर्थिक अवस्थालाई हेर्दा वर्तमान संचालनमा रहेको राजनीतिक व्यवस्था धेरै महँगो र नेपाली जनताले धान्नै नसक्ने भएको यस क्षेत्रका विशेषज्ञहरुले बताइरहेका छन् । यसले पनि यो व्यवस्थामा राजनीतिक गर्ने व्यक्तिले पैसाको अभावमा राजनीति गर्न नसक्ने, चुनाव लड्न ठुलो धनरासि आवश्यक पर्ने हुनाले पनि भ्रष्टाचार गर्ने र भ्रष्टाचार गर्नेलाई उत्प्रेरित गरेको विज्ञहरुको तर्क छ । तसर्थ जनताहरुले यो व्यवस्थाको माध्यमबाट भ्रष्टाचार नियन्त्रण हुन नसक्ने जनआवाज रहेको बुझिन्छ । यो व्यवस्था अन्तर्गत प्रदेश संरचना अनावश्यक खर्चिलो भएको, भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुले राजनीतिक दबाबमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको एवम् भ्रष्टाचार नियन्त्रण सँग सम्बन्धित कानूनहरु प्रभावकारी कार्यान्वयन हुन नसकेको तथा खर्चिलो राजनीतिक प्रणाली भएको व्यवस्थाले राजनीति गर्ने मान्छेहरु र कर्मचारीहरुलाई भ्रष्टाचार गर्न मलजल गरेको अवस्था छ । यस स्थितिमा मुलुक आर्थिक रुपमा कमजोर, नैतिक मुल्य मान्यताको सन्दर्भमा मर्यादाहिन अवस्थामा पुगेको छ । समाज भ्रष्टाचारको विरुद्ध केही गर्न सक्ने अवस्थामा छैन । नेताहरुले गरेको भ्रष्टाचार विरुद्ध जनताको उजुरी, आवाज सुनिदैन । मुलुकको यस्तो अवस्था भएकाले भ्रष्टाचार दिनदिनै मौलाउदै गएको देखिन्छ ।
नेपालमा किन विकास भएको छैन ?
नेपालमा विकास नहुनुका वुधागत रुपमा भन्नु पर्दा पहिलो राजनीतिक नेताहरुमा देश भक्तिको भावना नै छैन । जसले देशलाई माया गर्छ, जनतालाई राजनीतिको सर्वेसर्वा ठान्छ, उसँग मात्र देश भक्तिको भावना हुन्छ । देश भक्तिको भावना नभएका व्यक्तिले देश र जनताको हित अनि देश विकास गर्न सक्दैन । दोस्रो कुरा राजनीति गर्ने नेताहरुसँग देशको विकास कसरी गर्ने भन्ने भिजन (दृष्टिकोण) नै देखिदैन । जो सँग विकास यो तरिकाबाट यसरी गर्ने भन्ने भिजन हुन्छ, उसले मात्र विकास योजनाहरु तर्जुमा र कार्यान्वयन गर्न सक्छ । हाम्रो देशका नेताहरुमा कसरी सत्तामा जाने र त्यसको दुरुपयोग गरेर अकुल सम्पत्ति कमाउने मात्र मनसाय छ । यस्ता नेताहरुबाट देशको विकास कसरी सम्भव हुन्छ ? नेताहरुमा सरकारमा कसरी जाने अथ्वा सरकार कसरी विगार्ने भन्ने चिन्तनमा अहोरात्र लागि रहेको देखिन्छ । उनीहरुमा देश विकास गर्ने चिन्तन नै छैन । विदेशीसँग ऋण मागेर र युवाहरुलाई विदेशमा काम गर्न पठाएर भित्र्याएको रेमिट्यान्सबाट मुलुक जेनतेन चलेको देखिन्छ । ठोस आर्थिक योजना र तीनको कार्यान्वयनतर्फ उनीहरुको ध्यान गएको देखिदैन । यस्ता नेताहरुबाट देश र जनताले आर्थिक विकासको परिकल्पना गर्नु दिवा सपना मात्र हो । यस्ता नेताहरुलाई जनताले विश्वास गर्नु नै महाभुल हो ।
के अब नेपालमा राजतन्त्र फर्किएला ?
नेपालका जनताहरु अहिलेको राजनीतिक व्यवस्थाले सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक लगायतका कुनै पनि क्षेत्रमा काम नगरेको गुणासो गरिरहेका छन् । यो व्यवस्था सुरु भएदेखि विदेशी राजनीतिक हस्तक्षेप बढेको, सामाजिक सद्भाव र एकता खलबलिएको, राजनीतिक क्षेत्र भ्रष्टाचार अत्याचारले ग्रष्त भएको आफ्नो मौलिक धार्मिक र साँस्कृतिक मान्यतामाथि फिरगीहरुको हस्तक्षेप बढेर धार्मिक र साँस्कृतिक विचलन पैदा भएको, नेपाली नेपाली बीचमा फुटाउने अनि धर्म परिवर्तन गर्ने कार्यहरु बढेर गएको अवस्था भएकाले यो व्यवस्थालाई परिवर्तन गर्नु पर्छ भनेर जन आवाज उठिरहेको पाइन्छ ।
कुनै पनि समाज र राष्ट्रको पहिचान भनेको त्यहाँका जनताले परापूर्व कालदेखि अनुसरण गर्दै आएको धार्मीक, साँस्कृतिक मान्यता नै हो । यसैले उक्त मान्यतालाई जर्गेना गर्न जनताहरु आफ्नो जिउ ज्यान दिन पनि तयार हुन्छन् भने त्यो मान्तालाई जर्गेना गर्न, प्रवद्धन गर्न राष्ट्रलाई पनि बरोबर उनीहरुले सजग र सतर्क गराई रहेका हुन्छन् । र राज्य र राजाको स्थापना र सुरुवात पनि परापूर्व कालमा यिनै जनताले पालन गरि आएका आफ्नो समाजको पहिचान राख्ने उपरोक्त मुल्य मान्यताहरुको संरक्षण र सम्वर्दनको लागि नै हो । यो मुलुक निर्माण गर्न पृथ्वी नारायण शाहले पनि नेपाली समाजको भावनाको कदर गर्दै नेपाल चार जात छत्तिस वर्णको साझा फूलवारी हो भनी आफ्ना रितिरिवाज अनुसार काम व्यवहार गर्नु भन्ने दिव्य उपदेश दिएका थिएँ । यो कुराले अहिलेको समयमा पनि ठुलो महत्व राख्छ । नेपाल राष्ट्रको निर्माणदेखि पृथ्वी नारायण शाह र तिनका सन्तानहरुले यहि मुल्य र मान्यतालाई संरक्षण गरि यसकै आधारमा नेपाली समाजमा एकता, सौहार्दता कायम गरि नेपाली समाज र राष्ट्रको पहिचान र परिचय विश्व समक्ष प्रस्तुत गरेका हुन । राजाहरुको भूमिकाबाटै नेपाली समाज जुन सुकै जातजाति, भाषा संस्कृति भए पनि नेपाली नेपाली एक हौं भन्ने भावना विकास भई नेपाली राष्ट्रियता सवृद्ध हुँदै आएको हो । यहि कुरालाई विदेशीहरुले पचाउन नसकेर नेपाललाई कमजोर तुल्याई आफ्नो हुरासय पुरा गर्न पहिलो राजसंस्था हटाउने र दोस्रो नेपाली समाजले परापूर्वकालदेखि अंगालेको धार्मिक र सांस्कृतिक मुल्य मान्यता माथि प्रहार गरेका छन् । यसमा नेपाली अनुहारका विदेशीका गुलाम बनेका नेताहरुले मलजल पु¥याइ नेपालबाट राजसंस्था हटाएको प्रष्ट छ । अब नेपाली जनताले ती विदेशी र नेपाली अनुहारका गुलामहरुलाई राम्ररी बुझिसकेकाले त्यो षड्यन्त्रको भण्डाफोर गर्दै आइरहेका छन् ।
अब नेपालको पहिचान, नेपालको धार्मिक, साँस्कृतिक मुल्यताको पहिचानको संरक्षण सबै नेपालीलाई एकताको सुत्रमा बाध्ने अनि सबैलाई बराबर गर्ने राजसंस्थाबाट मात्र संभव हुन सक्दछ । यसको लागि राजसंस्था पूनस्थापना गर्न नेपाली जनता स्वयं जागरुप हुदै गएको र वर्तमान राजनीतिक व्यवस्थालाई परिवर्तन गर्न आन्दोलन गर्ने भनि जनआवाज उठिरहेको छ । यसबाट राजसंस्था स्थापना हुने बलियो संकेत देखा परेको महसुस हुन्छ ।
राजसंस्था पुनस्थापनाका लागि देशि विदेशी वातावरण कस्तो छ ?
नेपालको भुराजनीतिक अवस्थालाई हेर्दा उत्तरतिर विशाल मुलुक चिन र दक्षिणतिर त्यतिकै ठुलो मुलुक भारत रहेका छन् । यि हुदै देश विश्वका विकसित देशको रुपमा स्थापित हुन निरन्तर कोशिस गरिरहेका छन् । आफ्नो देशको विकासलाई तीव्रता दिनको लागि उनीहरुलाई आफ्नो देशभित्र र छर–छिमेकमा पनि शान्ति र स्थायित्वको आवश्यकता पर्छ । विगत केही वर्षदेखि नेपालको राजनीतिमा धेरै विकृति विसंगति बढेको, सरकार पुरा अवधि चल्न नसकेको, सरकार गठन विघटन घोडा दौडमा लागेको, सामाजिक विश्रृखलता बढ्दै गएको, सामाजिक सद्भाव खलवलिएको कारण देशभित्र समाजिक असुरक्षा र अस्थीरता बढेको छिमेकी मुलुकले महसुस गरेको बुझिन्छ । यो स्थिति अझ बढ्दै गएमा यसले नेपालभित्र मात्र होइन छिमेकिहरु र वरपरका देशहरुमा पनि असर र प्रभाव विस्तार हुन सक्दछ । जसबाट विश्वमा विकसित देशको रुपमा रहेका छिमेकी देशहरुलाई असर पर्न सक्दछ । त्यसैले नेपालको भुराजनीतिक अवस्था र नेपाल भित्रको राजनीतिक व्यवस्था र तिनका संचालकहरुले नेपाल भित्र राजनीतिक स्थायित्व कायम गर्न नसक्ने निचोडमा पुगेको चर्चाहरु सुनिन थालेको छ । यदि यो सत्य हो भने नेपाली जनताको चाहाना अनुसार नेपालमा त्यो राजनीतिक स्थायित्व दिने र नेपालभित्र शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभुति दिन सक्ने शक्ति भनेको राजसंस्था हो भन्ने छिमेकी देशहरुको बुझाईले नेपालमा राजसंस्था पुनरवहाली हुने वातावरण बन्दै गएको बुझ्न सकिन्छ ।