३१ मे आज विश्व धुम्रपान रहित दिवस नेपालमा पनि मनाईदै

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । हरेक वर्ष मे ३१ मा मनाईदै आएको विश्व धुम्रपान रहित दिवस आज नेपालमा पनि मनाईदै छ । यस वर्ष सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवाहरूलाई बचाऔं र उनीहरूलाई धुम्रपान तथा निकोटिनबाट हुने असरहरूको रोकथाम गरौं भन्ने विषयवस्तुमा आधारित भई यो दिवस मनाईदै छ ।
विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने गर्दछ । जसमध्ये ७० लाख प्रत्यक्ष सूर्तिजन्य पदार्थको सेवन र १२ लाख मानिससँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्दछ ।
नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । हरेक ३ जना नेपाली मध्ये १ जना धुम्रपान तथा सूर्तिजन्य पदार्थको अमली भएको देखिन्छ । यी तथ्याङ्कहरूले सूर्तिजन्य पदार्थ मानव स्वास्थ्यको लागि अति घातक देखिन्छ भने दीर्घ जीर्ण रोगहरू क्यान्सर, मुटु रोग, दम, खोकी, मधुमेह जस्ता रोग लाग्नुको प्रमुख कारण पनि सूर्तिजन्य पदार्थ हो ।
यसैबीच स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विश्व धुम्रपान रहित दिवसको अवसरमा सन्देश दिदै स्वस्थ र दीर्घायु बन्नको लागि सूर्तिजन्य पदार्थको सेवन र प्रयोग गर्न निरुत्साहित गर्ने, सेवनकर्ताहरूलाई त्याग गर्न अभिप्रेरित गर्ने र नवप्रवेशीहरूलाई सेवन वा प्रयोग गर्ने अवसर नै नदिनु अथवा प्रयोग नगर्न भित्रि मनैदेखि अभिप्रेरित गर्नु सबैको दायित्व भएकोमा जोड दिनु भएको छ ।

मन्त्री ढकालले सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवद्र्धन र प्रलोभनकारी आर्कषक विज्ञापनबारे युवाहरूले समयमै सचेत भएमा धुम्रपान तथा निकोटिनबाट हुने असरहरूबाट बच्न सकिन्छ र यसो गर्नु नै आफुलाई स्वस्थ राख्ने उत्तम उपाय भएको बताउनु भएको छ ।

साथै उहाले सूर्तिजन्य उद्योगहरूले नवसेवनकर्ताहरूको सङ्ख्या वृद्धि गरी आफ्नो व्यवसाय दीगो बनाउन चलाखीपूर्ण बजारका रणनितिहरू अबलम्बन गरेको र यसले बालबालिका, किशोरकिशोरी र युवा पुस्तालाई लक्षित गरेर विभिन्न बजार प्रवर्धनका क्रियाकलापहरू अभियानको रुपमा सञ्चालन गरेको बताउनु भएको छ ।

Facebook Comments Box