युएईमा अलपत्र परेका झण्डै २ सय नेपाली भोलि पहिलो पटक नेपाल फर्किने, म्यानमारबाट २६जना

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्न सुरु गरेको छ । भोलि संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट नेपाली ल्याउने तयारी छ । युएईमा अलपत्र परेका झण्डै २ सय जना नेपाली भोलि पहिलो पटक नेपाल फर्किने छन् । युएईस्थित नेपाली दूतावासले बनाएको सूचीका आधारमा भोलि झण्डै २ सय जना नेपाली स्वदेश फर्किने छन् ।

नेपाल फर्किने चाहने झण्डै २० हजारमध्ये आवश्यकताको आधारमा सूची बनाएर नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ । वृद्धवृद्धा, गर्भवती महिला र भिजिट भिसामा अलपत्र परेका नेपालीलाई दूतावासले अर्को चरणमा ८ तारेखमा नेपाल पठाउने तयारी छ । भोलि नै म्यानमारबाट २६ नेपाली बोकेर म्यानरको सैनिक जहाज काठमाडौं आउने छ । म्यानमारका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीलाई बर्मा सरकारले आफ्नै खर्चमा ल्याइदिनेछ । जहाजले काठमाडौंबाट बर्मेली नागरिकलाई लगेर जानेछ ।

विमानस्थलमा आइसकेपछि उनीहरुलाई घरसम्म लैजानेगरी सरकारले व्यवस्थापन गरिसकेको छ । हरेक प्रदेशका नागरिकलाई स्थानीय तहसँगको समन्वयमा पठाउने व्यवस्था गरिएको छ । नेपाल फर्किनेलाई होल्डिङ सेन्टरमा लैजाने र त्यहाँ स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइन, आइसोलेसन र सेल्फक्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ । सेन्टरमा नेपाल टेलिकमले फर्किएका व्यक्तिलाई सीमकार्ड उपलब्ध गराउँनेछ ।

सरकारले विभिन्न देशबाट झण्डै ५० हजार नेपाली फर्किने अनुमान गरेको छ । यो विभिन्न देशमा समस्यामा परेका नेपालीको संख्या हो । कतार, मलेसिया, साउदी अबर, युएइ, बहराइन र ओमनमा समस्यामा परेका झण्डै ४० हजार नेपाली घर फर्किने सूचीमा छन् ।

अहिलेसम्म युएईबाट १७ हजार ३ सय ७५ जना, साउदी अरबबाट ६ हजार ५ सय ४४ जना, मलेसियाबाट ६ हजार २ सय, ओमनबाट ६ सय ५६ र बहराइनबाट २ सय ८५ जनाले फर्किनका लागि फारम भरेका छन् । त्यस्तै कुवेतमा आममाफी पाएका ३ हजार नेपाली फर्किनेको सूचीमा अग्रस्थानमा छन् । प्रदेश ५ का सबैभन्दा धेरै छन् ।

नेपाल सरकारले नेपालका वायु सेवा कम्पनीका जहाजमार्फत विदेशमा अलपत्र नेपालीको उद्दारको तयारी गरेको छ । तर कतिपय अवस्थामा कामदार रहेको देश र काम गर्ने कम्पनीको तर्फबाट नि:शुल्क नेपालसम्म ल्याइदिने विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

Facebook Comments Box