नेपाली काँग्रेस बैठक : कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा सोमबारको बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताका विरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन दिएको छ ।

बैठकले पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर काँग्रेसले गरेको छ ।

आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा काँग्रेसले चित्रण गरेको छ ।

सोही अनुसार केन्द्रदेखि सबै जिल्ला कार्यासमितिले पनि सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । केन्द्रीय सदस्य रमेश लेखकका अनुसार बैठकले सरकारको कमजोरी औल्याउँदै आगामी पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।

पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउने छ । बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । यस्तै प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको लेखकले जानकारी दिए ।

बैठकमा कोरोना महामारीमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग उठाएको थियो । मंगलबारदेखि संसदमा समेत यस विषयलाई जोडदाररुपमा उठाउने काँग्रेसको तयारी छ । संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष काँग्रेसले निकालेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकासँग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना रोकथामको विषयमा संसदमा सरकारसँग सवाल जवाफमा नीति अख्तियार गरिने केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । संग्रौलाका अनुसार कोरोना महामारीका कारण सडक संघर्ष सम्भव नभएकाले संसदबाट सरकारलाई जवाफदेही बनाउन परिपस्थिति हेरेर संसद अवरोधसम्म जाने विषयका बैठकमा छलफल भएको  छ ।बैठकमा धारणा राखेका करिब दुई दर्जन केन्द्रीय सदस्यले संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । रातोपाटी

Facebook Comments Box